–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र मौलिक नेपाली भूगोलको अद्वितीय संगम हो षडानन्द नगरपालिका वडा नं १३ र १४ मा फैलिएको ‘बोया । ’ दक्षिणतर्फ ढल्किएको भूगोल, बिहान झुल्केघामको पहिलो स्पर्शसँगै देखिने सूर्योदय, हरियाली वनजङ्गल अनि नखुवा र याङ्वा दुई पवित्र खोलाको काखमा अवस्थित यो भूमि प्रकृतिको अनुपम उपहार हो । यहाँ प्राकृतिक दृश्यावलोकनका लागि कुनै कृत्रिम भ्यूटावरको आवश्यकता पर्दैन; डाँडाकाँडाका हरेक थुम्का आफैँमा भ्यूटावर हुन् । तर, पर्यटकीय र हावापानीका दृष्टिले स्वर्गीय आनन्द दिने यो भूभाग विकास पूर्वाधार र राज्यको नजरबाट भने लामो समयदेखि उपेक्षित छ । यही भौगोलिक विकटता र अभावका कारण आज पनि बोयालाई ‘भोजपुरको कर्णाली’ का रूपमा चिनिन्छ ।
सडकको सास्तीलाई विर्साइ दिने बोया
बोयाको सबैभन्दा ठूलो पीडा यहाँको सडक सञ्जाल हो । सार्वजनिक सवारी साधनको चरम अभाव त छँदै छ, भएका सडक पनि कच्चा ट्रयाकका भरमा मात्र सीमित छन् । ग्राभेल, ढुङ्गा–गिट्टी बिछ्याएको कर्रा सडक वा कालोपत्रेको सपना त यहाँका बासिन्दाका लागि अझै धेरै टाढाको विषय बनेको छ ।
हेलौंछा, डाँडा बोखिम, याङपाङ, साङपाङ, किमालुङ र घारा हुँदै आउने सडकहरू केवल ट्रयाक मात्र हुन् । यी मार्गहरूमा उत्तीसको काठ ढुवानी गर्ने ट्याक्टरहरू निरन्तर चल्दा बनेका गहिरा चक्काका खाल्डाले गर्दा अन्य साना वा मझौला सवारी साधन गुडाउनै नसक्ने अवस्था छ । वर्षायाम सुरु भएपछि त सडक हो कि रोपाइँ गर्न तयार पारिएको खेत छुट्याउनै मुस्किल पर्छ । चारै चक्कामा पावर लाग्ने फोरह्वील स्कारपियो समेत गुड्न नसक्ने यो बाटोमा स्थानीयका केही बोलेरो जिपले निकै जोखिम मोलेर सेवा दिने गरेका छन् । मोटरसाइकलसमेत हिलोमा फस्ने भएकाले स्थानीय बाहेक बाहिरका चालकहरू यहाँ सवारी साधन लिएर आउनै मान्दैनन् । बाह्रै महिना यातायातको यस्तो सास्ती भोग्नु बोयावासीको बाध्यता बनेको छ । तर पनि पर्यटकीय दृष्टिले प्रकृतिको भूस्वर्ग बोया भएकोले त्यहाँ पुगिसकेपछि देखिने सुन्दरताले पुग्दाको सबै सास्तीलाई विर्साइ दिन्छ । हावापानीको विविधतामा जुका लाग्ने लेकदेखि नलाग्ने बेंसीसम्म
बोयाको भौगोलिक बनावट पनि रोचक छ । माथिल्लो भाग षडानन्द नगरपालिका वडा नं १३ मा पर्छ भने तल्लो भाग वडा नं १४ मा । स्थानीय भाषामा भन्नुपर्दा, चिसो र ओसिलो हुने भएकाले वडा नं १३ जुका लाग्ने क्षेत्र हो भने तुलअयमभम रूपमा न्यानो वडा नं १४ जुका नलाग्ने क्षेत्र हो ।
वडा नं १३, डाँडाकाँडा, पोखरी र धार्मिक पहिचान
करिब २,००० मिटरको उचाइमा रहेको सबैभन्दा अग्लो स्थान देवीडाँडाबाट सुरु हुने वडा नं १३ लेकाली सौन्दर्य र ऐतिहासिक–सांस्कृतिक महत्त्वले भरिपूर्ण छ । यहाँ तेर्सेबर्से, भीरथाप्ला (धारा डाँडा), घुरबीसे, ऐतिहासिक रानीपानी (रानीको पाइला), महभीर, हर्कटे, रमिते, धार्मिक महत्त्वको एकराते साल्पा पोखरी, कोक्रे कुवा, भालुखोप, तारेभीर, ख्याक, रेवा, नागदह, खिल्नु, मालबाँसे, लुलठुङ्गा, पोपुङ्ला, ओखरबोटे, भवितव्ये, झ्... ... ... ...