कोशी प्रदेशसभामा बजेटमाथिको सामान्य छलफल सुरु

  • असार ८, २०८३ / नेपाल रेखा
alt

विराटनगर । कोशी प्रदेशसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट माथिको सामान्य छलफल सुरु भएको छ ।
बैठकमा कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले राजस्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी सदनमा प्रस्ताव गर्नुभयो । छलफलमा कोशी प्रदेशसभा सदस्य सपना दर्जीले सरकारले प्रस्तुत गरेको बजेटले वितरणलाई बढाव दिएको प्रतिक्रिया दिनुभयो ।
बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी(एमाले) कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट रामबहादुर रानामगरले मनसुनको प्रारम्भमा नै मेची राजमार्गमा आएको समस्यामा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले इलामदेखि माथि मेचीराजमार्गमा आएको अवरोधप्रति सरकारले वैकल्पिक उपाय अपनाउनुपर्ने माग गर्नुभयो ।
सदस्य मगरले विपद् व्यवस्थापन र भौतिक निर्माणमा सरकारले विगतदेखि अपनाउँदै आएको नीति तथा अभ्यासमा परिमार्जन गर्नुपर्ने सुझाव दिँदै असार ४ गते राति कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीद्वारा भएको खानतलासीको निन्दा गर्नुभयो । उहाँले प्रहरीको यो शैली र प्रयोग राम्रो होइन भन्दै यस सम्बन्धमा छानबिन हुनुपर्ने माग गर्नुभयो ।
सदस्य रानाले नेपाली चियालाई निरुत्साहित बनाउन भारतीय बजारमा भएको रबैयाप्रति सरकारले समयमै ठोस कदम चाल्नुपर्ने धारणा राख्नुभयो । उहाँले संवैधानिक अङ्ग आफ्ना अधिकार र क्षेत्रभित्र रही काम गर्नुपर्ने धारणा राख्नुभयो ।
नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट गोपाल तामाङले झापाको बाहुण्डाँगी क्षेत्रमा दिनप्रतिदिन जङ्गली हात्तीको समस्या बढ्दै गएकाले यसप्रति सरकार गम्भीर बत्रुपर्ने धारणा राख्नुभयो ।
उहाँले अहिले जङ्गली हात्तीका कारण सो क्षेत्रका जनता आन्दोलित रहेको जानकारी दिँदै हात्तीलाई उचित व्यवस्थापन एवं बाटो पहिल्याउन दक्ष जनशक्तिको व्यवस्था हुनुपर्ने बताउनुभयो ।
बर्सेनि हुने जनधनको क्षतिबाट जोगाउन भारतबाट आउने जङ्गली हात्तीलाई धपाउन रबर गोली प्रयोग गर्न स्वीकृति दिनुपर्ने भन्दै सदस्य तामाङले हात्तीबाट पीडित जनतालाई न्याय दिन माग गर्नुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका कोशी प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोले आगामी बजेटमा सिँचाइ र खानेपानीका निम्ति सरकारले गरेको विनियोजन सराहनीय छ भन्दै सरकार पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यका क्षेत्रमा चुकेको प्रतिक्रिया दिनुभयो । उहाँले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पराजुलीको विराटनगर स्थितको निवासमा प्रहरीले मारेको छापाको निन्दा गर्दै यस सम्बन्धमा छानविन हुनुपर्ने धारणा राख्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपालबहादुर विश्वकर्माले एकता गरेर बसेको हाम्रो समाजलाई वर्गीकरण गरेर विभाजित गरेको बताउँदै भ्रातृत्व, मेलमिलाप, सद्भावबाट नै नेपाली समाज बलियो हुने धारणा राख्नुभयो । उहाँले निहीत स्वार्थका लागि संस्कृति र संस्कार माथि खेलबाड गर्न नहुने भन्दै मेची राजमार्गमा तत्काल देखिएका समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने कुरामा जोड दिनुभयो ।
बैठकको शून्य समयमा कोशी प्रदेशसभा सदस्य गीतादेवी रेग्मीले मदन भण्डारी राजमार्गमा दिनहुँ हुने दुर्घटनालाई रोक्न सरकारले आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो ।

समाजका लागि केही गर् ...

हामीले सुरु गरेको ‘व्यक्तित्व परिचर्चा’ कार ...

गोरखामा निर्माण गरिए ...

गोरखा नगरपालिका-९, लक्ष्मीबजारस्थित आहालडाँडा ...

सभास्थलमा उपस्थित सद ...

चितवनमा आइतबारदेखि सुरु हुने राष्ट्रिय स्वतन् ...

रास्वपा महाधिवेशन – ...

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम र ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]