धरान । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०६ औँ अन्तर्राष्ट्रिय नर्सिङ दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ । नर्सिङ सेवाकी जननी तथा ‘लेडी विथ द ल्याम्प’का नामले विश्वप्रसिद्ध फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर प्रत्येक वर्ष मे १२ मा विश्वभर मनाइने यो दिवस प्रतिष्ठानमा पनि उत्साहपूर्वक आयोजना गरिएको हो ।
यस वर्ष Our Nurses. Our Future. Empowered Nurses Save Lives” भन्ने नाराका साथ आयोजित कार्यक्रममा आइन्द्र विक्रम बेघा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख डा. इन्द्र कुमार लिम्बू विशिष्ट अतिथि तथा कलेज अफ नर्सिङका चिफ प्रा.डा. रमानन्द चौधरी अतिथिका रूपमा उपस्थित रहेका थिए । कार्यक्रम नर्सिङ सेवा प्रशासनकी अध्यक्ष एवं प्रतिष्ठानकी मेट्रोन कला थापाको अध्यक्षतामा प्रतिष्ठानको दशरथ हलमा सम्पन्न भएको हो ।
प्रतिष्ठान, कलेज अफ नर्सिङ, नर्सिङ सेवा प्रशासन तथा नर्सिङ एसोसिएसन अफ नेपाल (NAN) बीपीकेआईएचएस युनिटको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, विभागीय प्रमुख, चिकित्सक, नर्सिङ कर्मचारी, विद्यार्थी, अवकाशप्राप्त वरिष्ठ नर्सिङ कर्मचारी, स्थानीय समाजसेवी, धरान उपमहानगरपालिकाका नर्सिङ कर्मचारी, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सालु पराजुली र संजिता चौधरीले गरेका थिए ।
कार्यक्रम राष्ट्रिय गान र सरस्वती वन्दनासहित सुरु भएको थियो । त्यसपछि विशिष्ट अतिथि डा. लिम्बूले दीप प्रज्वलन गरी फ्लोरेन्स नाइटिङ्गेलको तस्वीरमा माल्यार्पण गरेका थिए । स्वागत मन्तव्य राख्दै मेट्रोन कला थापाले नर्सिङ पेशाको महत्व र स्वास्थ्य सेवामा नर्सहरूको भूमिकाबारे प्रकाश पारिन् ।
मन्तव्यका क्रममा प्रमुख अतिथि तथा अन्य अतिथिहरूले नर्सिङ पेशामा आबद्ध सम्पूर्णलाई शुभकामना व्यक्त गर्दै प्रतिष्ठानमा नर्सहरूले पु¥याउँदै आएको सेवाको प्रशंसा गरेका थिए । कार्यवाहक मेयर बेघाले प्रतिष्ठानमा कार्यरत करिब ८ सय नर्सहरूले बिरामी सेवामा देखाएको समर्पण प्रेरणादायी रहेको बताए । उनले बीपी प्रतिष्ठान धरानको गहना भएको उल्लेख गर्दै यसको विकास र प्रगतिका लागि धरान उपमहानगरपालिका सधैँ प्रतिबद्ध रहेको र आगामी वर्ष प्रतिष्ठानलाई ५० लाख रुपैयाँ सहयोग गर्ने योजना रहेको जानकारी दिए ।
कार्यक्रममा प्रतिष्ठानमा २० वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका आठ जना नर्सिङ कर्मचारीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा शुसिला कुमारी शाह, लक्ष्मी तामाङ, समिरा कुमारी सिंह, सुजाता राई, कुमारी रुबी देव, लक्ष्मी श्रेष्ठ, पिंकी कुमारी र रिता कुमारी रिजाल रहेका थिए ।
त्यसैगरी, हालै प्रतिष्ठानको कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गरेका डा. इन्द्र कुमार लिम्बू तथा कर्मचारी कल्याण समाजका नवनिर्वाचित अध्यक्ष संजिव कुमार कर्णलाई बधाईपत्र प्रदान गरिएको थियो । निवर्तमान अध्यक्ष कविता ढकाललाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रमकै अवसरमा पूर्व मेट्रोनहरू प्रा. रमानन्द चौधरी, प्रा. गयानन्द मण्डल, प्रा. उपेन्द्र यादव, गायत्री राई तथा हरिकुमारी राईलाई सम्मान गरिएको थियो। यस्तै, पूर्व चिफ अफ कलेज अफ नर्सिङ प्रा. पुष्पा पराजुली, प्रा. समी लामा, प्रा.डा. रामशरण मेहेता, प्रा. मंगला श्रेष्ठ, प्रा. अंगुर बढु, प्रा.डा. तारा शाह तथा प्रा. निर्मला पोखरेललाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा नर्सिङ संकायका विद्यार्थी तथा नर्सिङ कर्मचारीहरूले गीत, नृत्य र कविता प्रस्तुति दिएर वातावरणलाई थप उत्साहपूर्ण बनाएका थिए। साथै, दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ ।