इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रियजनको सम्झनामा पीडित परिवारसँग ऐक्यबद्धता जनाउँदै सत्यको खोजी र न्यायको यात्रासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम आइतबार इटहरीमा सम्पन्न भएको छ ।
सत्य अभिलेखकर्ता राष्ट्रिय सञ्जालको आयोजनामा होटल रोजमेरी, इटहरीमा कार्यक्रम भएको हो । कार्यक्रममा बेपत्ता परिवार तथा विभिन्न द्वन्द्वपीडित प्रतिनिधिले आफ्ना पीडा र माग राखेका थिए ।
पीडित परिवारले ‘हाम्रा मान्छे कहाँ छन् ? हाम्रा मान्छे खोइ ?’ भन्दै सरकारसँग जवाफ मागेका छन् । उनीहरूले प्रदेश सरकार, संघीय सरकार र स्थानीय सरकारसँग बेपत्ता पारिएका आफन्तको अवस्थाबारे सत्यतथ्य सार्वजनिक गर्न र न्याय दिन जोडदार माग गरेका छन् ।
पीडित परिवारको मुख्य माग आफ्ना बेपत्ता आफन्तको सास वा लास र स्पष्ट पहिचान हुनुपर्ने रहेको छ । उनीहरूले आफूहरू जीवित रहँदै आफ्ना प्रियजनको वास्तविक अवस्था थाहा पाउनुपर्ने बताएका छन् ।
कार्यक्रममा कोशी प्रदेश सरकार पूर्वाधार विकास राज्य मन्त्री सपना परियार प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् । मानव अधिकारकर्मी रमेश भट्टराई र कमल कोइराला अतिथिका रूपमा सहभागी थिए ।सुनसरीका सरोकारवाला, बेपत्ता परिवार तथा द्वन्द्वपीडित महिलासहित करिब २१–२२ जनाको सहभागिता रहेको कार्यक्रममा पीडितका समस्या, सत्यको खोजी, न्याय प्राप्तिको अवस्था र आगामी पहलका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रम सृजना राईको संयोजकत्वमा सम्पन्न भएको हो । सहभागीहरूले द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिको सत्यतथ्य सार्वजनिक गरी पीडित परिवारलाई न्याय दिलाउन राज्यका तीनै तहका सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।