इटहरी । नेपाली कम्युनिस्ट पार्टीले दुईमहिने राष्ट्रिय जागरण अभियानअन्तर्गत सुनसरीको इटहरीमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टीका संगठन विभाग प्रमुख एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’को उपस्थितिमा आगामी मंसिर १३ गते प्रशिक्षण कार्यक्रम हुन लागेको हो ।
पार्टीका कोशी प्रदेश संगठन विभाग प्रमुख शिवकुमार डाँगीकाअनुसार इटहरी उपमहानगरपालिका–५ पचरुखीस्थित लायन्स भवनको सभाहलमा बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुनेछ । प्रशिक्षण कार्यक्रम नेपाली कम्युनिस्ट पार्टीको इटहरी उपमहानगर कमिटीले आयोजना गरेको हो ।
कार्यक्रममा प्रदेश समिति सदस्य, जिल्ला कमिटी सदस्य, पालिका कमिटीका सदस्य, जनवर्गीय संगठन तथा मोर्चाका जिल्ला समितिमा रहेका सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको डाँगीले बताए । पार्टी संगठनलाई थप व्यवस्थित, सक्रिय र एकताबद्ध बनाउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको उनको भनाइ छ ।
आगामी स्थानीय तह निर्वाचनलाई समेत लक्षित गरी पार्टीको संगठनात्मक अवस्था मजबुत बनाउने, नेता तथा कार्यकर्तालाई जिम्मेवारीप्रति सक्रिय बनाउने र जनतामाझ पार्टीको गतिविधि विस्तार गर्ने रणनीतिका साथ कार्यक्रम अघि बढाइएको पार्टीले जनाएको छ ।
कार्यक्रमलाई भव्य र प्रभावकारी बनाउन सबै तहका नेता तथा कार्यकर्ताको सहभागिता सुनिश्चित गर्न आग्रह गरिएको पार्टीका इटहरी इञ्चार्ज राजकुमार आचार्यले जानकारी दिए ।
यसैबीच, इटहरी उपमहानगरपालिकाका विभिन्न वडामा संगठन विस्तार तथा कार्यविभाजनलाई पनि अघि बढाइएको छ । नगरका विभिन्न वडामा इञ्चार्ज, सहइञ्चार्ज, संयोजक र सहसंयोजकसहित ७२ जना पार्टी कार्यकर्तालाई जिम्मेवारी बाँडफाँट गरिएको नगर संयोजक गौरीमान परियारले बताए ।
उनका अनुसार वडा नम्बर ६ मा प्रकाश आचार्यलाई इञ्चार्ज र ओमबहादुर खत्रीलाई संयोजकको जिम्मेवारी दिइएको छ । वडा नम्बर ४ मा मणिप्रसाद लिम्बू इञ्चार्ज तोकिएका छन् भने वडा नम्बर ५ मा इन्द्र सिलवाल इञ्चार्ज र दत्त लुङ्गेली संयोजकको जिम्मेवारीमा छन् ।
सबै वडामा नियमित बैठक सञ्चालन गर्ने, कार्यकर्ताबीच समन्वय बढाउने र संगठनात्मक एकता मजबुत बनाउन योजनासमेत तयार गरिएको परियारले बताए ।
राष्ट्रिय जागरण अभियानलाई संगठन सुदृढीकरण, राजनीतिक प्रशिक्षण तथा आगामी निर्वाचनको तयारीसँग जोड्दै नेपाली कम्युनिस्ट पार्टीले स्थानीय तहमा आफ्नो गतिविधि थप सक्रिय बनाउने लक्ष्य लिएको नेता डाँगीले बताए ।