प्रतिनिधिसभामा कप्तानगञ्ज घटनासहित समसामयिक विषयमा ध्यानाकर्षण

  • साउन १४, २०८३ / नेपाल रेखा
alt

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा स्पष्ट गरिनुपर्ने माग भएको छ ।
बैठक सुरु हुनासाथ यसअघिजस्तै विपक्षी दलका सांसद उठेपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापालाई समय दिनुभयो ।
संसद्मा प्रमुख विपक्षी दलका सचेतक थापाले प्रधानमन्त्रीले सीमा सम्बन्धमा यसअघि व्यक्त गर्नुभएको भनाइबारे थप स्पष्ट गर्नुपर्ने माग पूरा नभएकाले त्यसलाई निरन्तरता दिँदै विरोध गर्न बाध्य हुनुपरेको बताउनुभयो ।
उहाँले हालै सुनसरीको कप्तानगञ्जमा स्थानीय युवक ओमप्रकाश मेहताको निधन भएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभयो ।
सरकारको पहिलो कर्तव्य नागरिकको जीउधनको रक्षासहित सुरक्षा व्यवस्था सुनिश्चित गर्नुपर्ने रहेकाले त्यसतर्फ विशेष ध्यान दिन अनुरोध गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद पद्माकुमारी अर्यालले प्रधानमन्त्रीले सीमाका विषयमा दुई महिनाअघि संसद्मा बोलेको विषय सच्याउन अनुरोध गर्नुभयो । सुकुमवासी समस्याको समाधान छिटो गर्न, रासायनिक मलको व्यवस्था गर्न, मलको खोजीमा भारततर्फ गएका चार जना नेपाली २५–२६ दिनदेखि हराएका र अहिले उनीहरू भारतीय जेलमा थुनामा रहेको भन्ने विषयलाई गम्भीर रुपमा लिई सकुसल नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गर्नुभयो ।
यही साउन १० गते सुनसरी जिल्लामा भएको घटनामा दङ्गा नियन्त्रण गर्न राज्य असफल भएको आरोप लगाउनुभयो । उत्तेजना, आवेगले ठीक ठाउँमा नपुग्ने भएकाले संयमता अपनाउन र कप्तानगञ्ज घटनाको जिम्मा लिन सरकारसँग अनुरोध गर्नुभयो । ‘सबै बाँचौँ, सबैलाई बचाऔँ’ को अवधारणामा काम गर्नुपर्ने भनाइ सांसद अर्यालको थियो ।
यसैगरी, देशभर वर्षाका कारण हुनसक्ने क्षति न्यूनीकरण तथा रोकथामका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्ने माग पटकपटक गर्दा पनि पूरा नभएको भनी दुःख व्यक्त गर्नुभयो । सुनसरीको कप्तानगञ्जमा भएको घटनाका विषयमा राज्य संवेदनशील नभएको आरोप लगाउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले सुनसरीको घटना समाधान गर्न र सद्भाव कायम गर्ने सम्बन्धमा सबै दलले स्पष्ट रुपमा बोल्नुपर्ने बताउनुभयो । सो घटनाको दिगो समाधान राजनीतिक रुपमा खोज्नुपर्ने बताउँदै उहाँले सरकारका तर्फबाट थप पहलको आवश्यकता आँैल्याउनुभयो । सांसद ओलीले समाजिक सद्भाव कायम गर्न सबै पक्षलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्नुभयो ।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले दुई महिनाअघि सिमानाका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिका विषय स्पष्ट नभएकोे र संसद्को अभिलेखबाट सो कुरा नहटेको बताउनुभयो ।
उहाँले सुनसरीलगायत क्षेत्रमा देखिएको घटना र अशान्तिको विषय समाधानका लागि सरकारले नै नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउँदै समाधानका लागि सरकारले नै पहलकदमी लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले यस्ता समस्याको समाधान गर्न बल प्रयोग गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।

बाढी प्रभावित स्याफ् ...

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले आफ्नो था ...

खेल हेर्न क्रिकेट मै ...

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण ...

सप्तकोशी बोट दुर्घटन ...

इटहरी । कोशी प्रदेशकी राज्यमन्त्री सपना परियारले सप्तको ...

प्रहरी हवल्दार ललिता ...

इटहरी । नेपाल प्रहरीको ७१ औँ प्रहरी दिवसको अवसरमा कोशी ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]