इटहरी । कोशी प्रदेशकी राज्यमन्त्री सपना परियारले सप्तकोशी नदीमा भएको बोट दुर्घटनाबाट प्रभावित परिवारसँग भेटघाट गरेकी छन् । उनले बुधबार सुनसरीको बराहक्षेत्र नगरपालिका–१ र २ का प्रभावित परिवारलाई भेटेर उनीहरूको अवस्था र पीडाबारे जानकारी लिएकी हुन् ।
राज्यमन्त्री परियारसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा बराहक्षेत्र नगर इन्चार्ज कमलबहादुर कटुवालसहितको टोली प्रभावित परिवारलाई भेट्न पुगेको थियो ।
टोलीले बराहक्षेत्र नगरपालिका–२ निवासी बेपत्ता स्वेता मगरका आमा तीर्थकुमारी मगर र बुवा गोपाल मगरसँग भेट गरेको थियो । त्यस्तै, दुर्घटनामा बेपत्ता बोट चालककी बहिनी प्रमिला मगरका आमा–बुवासँग पनि टोलीले भेटघाट गरेको थियो।
यसैगरी, बराहक्षेत्र नगरपालिका–१ निवासी दुर्घटनामा ज्यान गुमाएकी ५० वर्षीया लीला राईका श्रीमानसँग टोलीले भेट गरेको छ । दुर्घटनाबाट प्रभावित मञ्जु राईकी आमा तथा छरछिमेकका स्थानीयसँग पनि भेटघाट गरिएको थियो ।
यही कात्तिक ८ गते धनकुटा, भोजपुर र उदयपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटना भएको थियो। दुर्घटनामा केही ३ बेपत्ता भएका थिए भने ३ जनाको मृत्यु भएको थियो ।
यसैबीच, कोशी प्रदेश सरकारले दुर्घटनाको सत्यतथ्य अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ ।
मन्त्रिपरिषद् बैठकले दुर्घटनामा ज्यान गुमाएकाप्रति हार्दिक समवेदना व्यक्त गर्दै बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई निरन्तरता दिन सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णयसमेत गरेको छ ।