इटहरी । नेपाल प्रहरीको ७१ औँ प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरमा कार्यरत प्रहरी हवल्दार ललिता खवास ‘उत्कृष्ट बाह्य प्रशिक्षक’ पुरस्कारबाट सम्मानित भएकी छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंमा गत असोज ३० गते शुक्रबार आयोजित विशेष कार्यक्रममा उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खवासलाई सम्मानपत्र प्रदान गरेका हुन् ।
प्रहरी हवल्दार खवासले प्रहरी तालिममा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो । उनले आधारभूत तथा सेवाकालीन उन्नत प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरूको ज्ञान, सीप र मनोवृत्तिमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।
राष्ट्र र नागरिकको सेवामा समर्पित हुँदै ‘सत्य, सेवा, सुरक्षणम्’ को मूल आदर्शलाई आत्मसात् गरेर उनले आफ्नो व्यावसायिक दक्षता प्रदर्शन गरेकी छन् । साथै, प्रहरीको मानव संसाधन विकासमा समेत उल्लेखनीय योगदान पुर्याएकी छन् ।