प्रधानमन्त्री केपी ओलीलाई खुल्ला पत्र " –शालिग्राम पाण्डे "

  • वैशाख २७, २०७८ / "नेपाल रेखा"
alt


सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू ,


देशमा लोकतन्त्र आउनु अघिको अवस्थालाई एक पटक स्मरण गरिदिनुस त ? देशमा लोकतन्त्र स्थापना गर्नका लागि सुखानीमा सहिदहरुले गोली खानु परेको परिदृष्य तँपाईलाई राम्ररी थाहा छ । राणा शासनकाल, पंचायत काल, अनि अधिनायकवादी राजतन्त्रको अन्त्य गर्न कतिले ज्यानको आहुति दिए ? कति घाइते भए ? कति देश निकाला गरिए ? कतिको कोख रित्तीयो ? कति विधवा भए एक पटक छातीमा हात राखेर गम्भीर ढंगले सोचि दिनुस त केपी ओली ज्यू ।

तँपाई नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) को केन्दीय अध्यक्ष भएर झण्डै दुई तिहाईको सरकारको प्रधानमन्त्री हुनु भयो । तर तपाईकै अहमताले गर्दा आज तपाई आबद्ध नेकपा पुनः नेकपा एमाले भएको छ । तपाईलाई जनताले झण्डै दुई तिहाईको बहुमतको प्रधानमन्त्री बनाए तर तपाइले भने घमण्ड र अहमताले गर्दा जनभावना विपरित संविधानको मर्म विपरित गएर संसद संसद विघटन गर्नु भयो । सर्वोच्च अदालतले संसद पुनस्थापना गर्ना साथ तँपाईले नैतिकताका आधारमा राजीनामा गर्नु पर्नेमा तँपाईले लोकतान्त्रिक मुल्य र मान्यता विपरित रहेर विभिन्न घिनलाग्दा खेल खेल्नु भयो । लुम्बीनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललई बिहान राजीनामा दिन लाउनु भयो अनि बेलुकी पख फेरी उनै पोखरेलाई मुख्य मन्त्रीमा नियुक्ति गर्न लाउनु भयो ।


सरकार बचाउन विभिन्न अपराधिक गतिविधिमा संलग्न भएका कारण प्रहरीले पटक पटक वारेण्ट पूर्जी काटेका, प्रहरीको निगरानीमा रहेका दीपक मनाङे नामले चिनिने राजीव गुरुङलाई गण्डकी प्रदेशको खेलकुद मन्त्रीमा नियुक्ति गराउनु भयो । तपाईको स्तुति गाउन नसक्दा गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदुर पश्चिमका प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई पद मुक्त गराई गण्डकी प्रदेश प्रमुखमा सिताकुमारी पौडेल र सुदुरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई चुड्कीका भरमा नियुक्ति गराउनु भयो ।


मुलुकमा कोभिड–१९को महामारी छ, करिव डेढ वर्षको समय सत्ता जोगाउने विभिन्न खेलमा बिताउनु भयो । संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुने छ भनी लेखिएको छ, तपाईले राष्ट्रका नाममा गरेको सम्बोधनमा उपचार नपाएर कोही पनि मर्नु पर्ने अवस्था आउन दिन्न भनेको एक हप्ता बित्न नपाउँदै तपाईको बोली हावादारीमा दरिएको छ । कारण अस्पतालमा अक्सीजन छैन, भेण्टीलेटर छैन भन्दै कोभिड–१९का विरामीलाई भर्ना लिन मानिरहेका छैनन् ।

कोभिड–१९ संक्रमितको उपचारको व्यवस्था नहूँदा अकालमा मृत्यू भएको अवस्था छ । अक्सीजन सिलिण्डर ४० हजारमा भित्रभित्रै विक्रि भई रहेकोछ । कोभिशिल्ड खोप ल्याउन दलालहरुलाई कमिसन नदिईएका कारण खोप आउन सकेन । देशलाई त माफियाहरु र दलाहरुले चलाएका रहेछन् नि तँपाई त प्रधानमन्त्रीको रुपमा देखिने पात्र मात्र हुुनु हुँदो रहेछ । प्रधानमन्त्री पद जोगाउन र अकुत सम्पत्ती कमाउन, विलासीता जीन्दगी विताउन अनि आप्mना हुक्के, ढोकेलाई पोस्न पाए भै हाल्ने रहेछ । जनताले उपचार पाउन् नपाउन्, खान पाउन नपाउन्, रोजगारी पाउन् नपाउन् तपाईलाई कुनै अर्थ रहेनछ सत्ता र शक्तिमा छउन्जेल नेताले केही देख्दा रहेनछन् भन्ने तपाईँको गतिविधिले थप पुष्टि गरेको छ ।


ओलीज्यू तपाई प्रधानमन्त्री भएको के अर्थ एउटा दलाले कमिसन नपाउँदा सरकारले खोप खरिद गर्न पाएन । मु्लुक कोभिड–१९को महामारीले व्याप्त रहँदा तँपाईलाई नेपाली जनता प्रति रति भर चिन्ता छैन । तँपाई कसरी शक्तिशाली बन्ने, कसरी सत्तामा टिकी रहने भन्नेमा सोची रहनु भएको छ । प्रधानमन्त्री पद बचाई रहने, पदमा टिकिरहने राजनीतिका लागि षडयन्त्र, छलकपट र धोकाधडीमा व्यस्त हुनै प¥यो होला । प्रधानमन्त्री ज्यू लोकतान्त्रिक शासन व्यवस्था चलाउँदा संसदिय शासन व्यवस्थाका मूल्य मान्यता, परम्परा र नैतिकता आवश्यक हुन्छ शासन व्यवस्थालाई गरिमामय बनाउने सोचमा तपाईले समय खर्च गर्नु प¥यो । सत्ता भनेको आज छ भोलि छैन पर्सी फेरी घुमि फिरी आउन सक्छ । लोकतान्त्रिक मुल्य र मान्यता नै भएन लोकतन्त्रको के अर्थ होला ?


प्रधानमन्त्री ज्यू जनताले तँपाईलाई विश्वासको मत दिएर त्यो ठाउँमा पु¥याए तर तँपाईले जनतालाई धोकाधडी दिनु भयो । तपाईले आप्mना नातागोता, अरौटे भरौटेलाई विभिन्न पदमा नियुक्ति गर्ने, भ्रष्टाचारबाट जोगाउने बाहेक सर्वसाधारणको हितका लागि कुनै काम गर्नु भएको छैन । तपाईले ंसंवैधानिक अंगहरुमा नियुक्ति गर्दा राम्रालाई पाखा लाएर हाम्रालाई नियुक्ति गर्नु भएको छ । संवैधानिक अंगहरुमा नियुक्ति पाउने अरु योग्यताले नहुने तपाईको विश्वास पात्र हुनु पर्ने बाध्यता रहेको छ । तपाईको खास चरित्र न्यायप्रेमी जनताले बुझी सकेका छन् अब जति सुकै नाटक गरे पनि त्यो क्षणिक हुने छ । तपाई स्वाभीमानी नेपालीको नजरमा तल परि सक्नु भयो तपाईका चम्चाले जति सुकै प्रशंसा गरे पनि तँपाई सत्यको धरातल हुनु हुन्न भन्ने जनताले बुझी सकेकाछन् । अब तँपाईका हुक्के ढोकेको प्रसंसलाले ठेग्नेवाला छैन ।


तँपाईले देशको प्रधानमन्त्री पदमा २ पटक राज गरि सक्नु भएको छ । प्रधानमन्त्री भनेको जनताको अभिभावक हो । जसरी घर परिवार चलाउने अभिभावकले परिवार सदस्यको समस्या जे जसरी भए पनि हल गरेको हुन्छ । घरको अभिभावक कहिल्यै रिसाउन पाउदैनन्, झर्को मान्दैनन् । जे जस्तो परिस्थितिमा पनि मलिन भएर घर परिवारको समस्या झेल्दै आफुले पिर, समस्या, आर्थिक बोझ आदि समस्या झेलेर भए पनि सबै परिवार सदस्यलाई माया ममता दिएको हुन्छ । त्यसै गरी प्रधानमन्त्री केपी ओलीज्यूले पनि अहमता नदेखाइकन, सन्कीपन नदेखाइकन मलिन भएर माधम नेपाल र झलनाथ खनालसंग वार्ता गरेर मुलुकलाई अगाडी बढाउनु पर्नेमा आफु भन्दा अग्रज अनुभवी नेतालार्इँ अनाहकमा स्पष्टिकरण सोधेर नेकपा एमालेबाट निस्काशन गरिएको अवस्था छ । यहाँ भन्दा फोहरी राजनीति अरु कसैले कल्पना गर्न सक्दैनन् ।


ओलीज्यू तपाईमा कति अहमता रहेछ भन्ने कुराको नतिजा करिव डेढ वर्ष पछि हुने निर्वाचनले प्रष्ट पार्ने छ । समाजसेवी आन्नी छोइङ डोल्मा ले गाउनु भएको गित ‘फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार....’ भन्नु भएको छ तँपाई नेकपाका शीर्षस्थ नेता हुदै अहिले नेकपा एमालेको शीर्ष नेतामा पुग्नु भएको छ । पुष्पकमल दाहाल –प्रचण्ड)संग गरेका वाचाहरु पुरा नगर्दा नेकपा माओवादीसंग सहकार्य टुटेको छ । तपाई होसमा आउनु भएन भने अब विस्तारै माधवकुमार नेपाल, झलनाथ खनालसंग पनि तपार्इँको सहकार्य टुट्ने छ । नेपाल र खनालका सुझावलाई सकारात्मक रुपमा हेरि दिनुस त ।

समस्याको समाधान हुन्छ तपाई जति अहमता देखाउनु हुन्छ उति इतिहासको कलंक बन्नु हुने छ । देउवा, दाहाल, नेपाल र खनाल, भट्टराई पनि यो देशको प्रधानमन्त्री पद समाली सक्नु भएको छ र अध्यक्ष पद पनि समाली सक्नु भएको छ । वहाँहरु अनुभवी हुनु हन्छ वहाँहरुको अनुभवलाई प्रम ओली ज्यूले देश र जनताको हितमा अधिकतम उपयोग गर्नु पर्नेमा । प्रमज्यू तँपाईको बोली जहिले पनि तितो टर्रो हुन्छ, बुद्धिजीवीहरु, पत्रकार, नागरीक समाजका अगुवाहरुलाई गाली गरेर हप्की दप्की गरेर ठेगान लाउने तँपाईको हर्कत आजको युगमा अलिक नसुहाउला की ? तपाईको चतु¥याईले गर्दा देशको प्रधानमन्त्री र नेकपाको अध्यक्ष हुनु भयो भन्दैमा ओलीज्यूले अहमता देखाउने होइन । देशको अभिभावक भएर त मलिन हुनु पर्छ की सबैका कुरा सुनेर चामल र विया छुट्याए झै कुन गलत कुन सही छुट्याउने प्रयास गर्नु पर्छ ।


प्रमज्यू अरुलाई त तँपाईले हेप्नु भयो आप्mनो बसमा राख्ने प्रयास गर्नु भयो तर माधवकुमार नेपाला र झलनाथ खनाल तँपाईको पार्टीका होनहार व्यक्तित्व हुनु हुन्छ र तपाई भन्दा अगाडी प्रधानमन्त्री हुनु भएको पार्टी अध्यक्ष पनि तपाई भन्दा अगाडी हुनु भएको व्यक्तित्व हुनु हुन्छ । वहाँहरुलाई तपाईले सम्मान गर्नु पर्ने हो वा सिगौरी खेल्नु पर्ने हो सोच्नुस त । तँपाईले जति सुकै उखान र टुक्का जोडे पनि पदको उन्माद देखाए पनि उमेरले घटीबढी भए पनि तँपाईको तुलनामा वहाँहरु अग्रज र सम्मानित व्यक्तित्व हुनु हुन्छ ।


प्रमज्यू तँपाईलाई लाग्दोहो तँपाई सबै भन्दा जान्ने धेरै पढेको, सबै विषयको ज्ञाता, कसैले नगरेको काम तपाईले गरेको भन्ने अहमता होला । तँपाईको कामको मूल्याँकन तँपाईले गर्ने होइन अरुले गर्ने हो र अरुले प्रसंसा गरेको राम्रो हुन्छ । अनि यो कुरा पनि ख्याल राख्नु पर्छ प्रमज्यू, पंचायत कालमा उमेश जंग थापाले राजा र प्रजालाई पहाडले छेकेको छ भन्दै विचको पहाडलाई तोड्नु पर्छ भनेर नारा लाउने गर्थे । संघिय लोकतान्त्रिक गणतन्त्रको प्रधानमन्त्री, नेकपाको अध्यक्ष तँपाईलाई पनि उही तँपाईको निकट तथा विस्वास पात्रहरु तथा सिमित व्यक्तिहरुको घेरामा हुनु हुन्छ । पूर्वराजा ज्ञानेन्द्रले जसरी संविधानको अपव्याख्या गरेका थिए ठीक त्यसरी नै तपाई संविधानको अपव्याख्या गर्नु भएको छ । ऐन कानुन बाहिर गएर कानुनलाई छल्ने, कानुनको बर्खिलाप गर्ने काम गर्नु भएको छ । जनता एउटा सिटामोलको ट्याब्लेट खान नपाएर मरिरहेका छन् । कोरोना संक्रमितहरु अक्सिजनको अभावमा मरिरहेका छन् तपाई भने राजसी ठाटमा हुनु हुन्छ । एक पटक छातिमा हात राखेर सोच्नोस त पंचायत कालका राजा र तँपाईमा के नै पो फरक रहयो र ?


प्रम ज्यू तँपाईले केही नेता कार्यकर्ताको साँगुरो घेरा नतोडेसम्म नेकपा एमाले भित्रको आन्तरिक कलह कहिल्यै मिल्ने वाला छैन र देश उन्नतीको ठाउँमा अबनतिको अवस्थामा गुज्रने निश्चित छ । प्रम ओली ज्यू तपाईले २ पटक मृगौला फेरेर अस्वस्थ्य हुनु भएको छ । तँपाई त अस्वस्थ्य हुनु हुन्छ देशलाई पनि अस्वस्थ्य बनाई दिने कम्तिमा जापानका प्रधामन्त्रीले जस्तो पद छोडेर स्वस्थ्य व्यक्तिलाई शासन गर्ने मौका दिनुहोस न । तँपाईको हठबादीका कारण ३ करोड जनताले बन्धकी बस्नु परेको छ । विगतमा तपाई प्रधानमन्त्री नहुँदा पनि देश चलेकै थियो । भाविष्यमा तपाई नहुँदा पनि देश अहिलेको भन्दा राम्रो संग चल्ने छ । तपाईले जस्तो विगतका प्रमहरुले भ्रष्टाचारीलाई संरक्षण गर्नु भएको थिएन र अपराधिक गतिविधिका व्यक्तिलाई जानाजानि मन्त्रीमा नियुक्ति गर्नु भएको थिएन । भविष्यका प्रमहरुले पनि भ्रष्टाचारीलाई संरक्षण दिने छैनन् ।


प्रधानमन्त्रीज्यू कोभिड–१९का कारण करिव ६० मुलुकबाट करिव साढे चार लाख नेपाली रोजगारी गुमाएर फर्केका छन् उनीहरुको बारेमा तपाईले केही सोच्नु भएको छ ? गरिवीका कारण कैयौ नेपालीले उपचार नपाएर अकालमा मृत्यू बरण गर्नु परेको छ । कोभिड–१९ का कारण २०७६ साल चैत्र ११ गते देखि करिव ८ महिना मुलुकमा लकडाउन र निशेधाज्ञा हुँदा करोडौंको व्यापार गरि रहेका व्यापारीहरु सडकमा विभिन्न सामाजिक संघ संस्थाले उपकार गर्ने उद्देश्यले तयार गरिएको खाना खाएर जीउन बाध्य भएको कथा र व्यथा तपाईले खै बुभ्mनु भयो ।

तपाईमा अहमता छ, घमण्ड छ जब सम्म अहमता र घमण्डले तँपाईको शरिरमा बास गर्ने छ तवसम्म तँपाईले नेपालीहरुको मर्म र भावना बुभ्mन सक्नु हुन्न । तपार्इँँ असल , राजनीतिमा खरिएको व्यक्तित्वहो तपाईको मनमस्तिस्कमा रहेको अहमता र घमण्डले तपाईलाई ध्वस्त बनाउँदै छ, तपाईको वरिपरि घेरमा रहेका तँपाईको प्रसंसकले तपाईलाई घेरा बन्दीमा पारेका कारण तपाईले देशको वास्तविक अवस्था भुल्नु भएको छ ।

शासन र शक्तिनै सबै कुराहो भन्ने भ्रम तपाईको मनको तीर्षनाबाट हटाइदिनुस अनि जनता र लोकतन्त्र भन्दा ठूलो अरु केही होइन भनेर हिजो पंचायति व्यवस्था अन्त्य गर्नमा , अधिनायकबादी राजतन्त्रको अन्त्य गर्नमा कस कसको योगदान रहेको थियो ?कम्तिमा विगतलाई एक पटक फर्केर हेरी दिनुस तपाईको मन चंगा हुने छ अनि तपाईले आप्mना गल्ती देख्नु हुने छ । तपाईका आसोपासेले तपाईलाई गुमराहमा राखेको बल्ल थाहा पाउनु हुने छ ।

तपाई उखान टुक्का खुव प्रयोग गर्नु हुन्छ यी उखानलाई एक पटक मनन गर्नुस त । एक माघले जाडो जाँदैन, लुच्चाको धन छुृच्चाले खान्छ । जुन गोरुको सिङ छैन उसको नाम तिखे , नमच्चिने पिङको सय झड्का , जुन जोगी आएनी कानै चिरेका, एक थुकी सुकी हजार थुकी नदी । एउटा राजनीतिक भनाई जनताको मन जित्न सक्नेले संसार जित्न सक्छ ।सत्य सधै तितो हुन्छ अनि भनार्इँछ नि साँचो डग्दैन झुटा टिक्दैन ।

 

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]