इटहरी । सुनसरीको इटहरीमा यही वैशाख १५ गतेदेखि २१ गतेसम्म ‘तेस्रो इटहरी मेयरकप अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ । प्रतियोगिता आइडिएल स्पोर्टस एकेडेमीको आयोजनामा तथा इटहरी उपमहानगरपालिका कार्यालयको संयोजनमा हुन लागेको हो । प्रतियोगिता इटहरी–९ स्थित जनता क्रिकेट पार्क (डिभिएम) मा सञ्चालन हुने संयोजक सिपी पौडेलले जानकारी दिए ।
बिहीबार इटहरीस्थित होटल उत्सवमा आयोजित पत्रकार सम्मेलनमा इटहरी उपमहानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले प्रतियोगिताले स्थानीय तहबीच खेलकुदमैत्री वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा इटहरीका तीन टिम (रातो, निलो, हरियो) सहित धरान, विराटनगर, इनरुवा, मेचीनगर (झापा), दुहबी, त्रियुगा (उदयपुर), भोक्राह नरसिंह, कटहरी र सुन्दरहरैंचा गरी १२ टोलीको सहभागिता रहनेछ । प्रतियोगिता २०–२० ओभरको नकआउट ढाँचामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नियमअनुसार सञ्चालन गरिनेछ, जसअन्तर्गत कुल ११ खेल हुनेछन् ।
प्रतियोगिताको विजेताले ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै ‘म्यान अफ द सिरिज’ लाई ७ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही ४–४ हजार तथा प्रत्येक खेलका ‘म्यान अफ द म्याच’ लाई १ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगितालाई प्रदेश खेलकुद विकास बोर्ड, कोशी, कोशी प्रादेशिक क्रिकेट संघ, सुनसरी जिल्ला क्रिकेट संघ लगायत २२ वटा संघसंस्थाले सहयोग गरेका छन् ।