देवानगञ्ज घटनामा मृतक परिवारलाई २ लाख राहत, पीडितलाई ५० हजार दिने कोशी सरकारको निर्णय

  • साउन १४, २०८३ / नेपाल रेखा
alt

विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउने व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ तथा आगजनीबाट घर, पसल र अन्य संरचनामा क्षति बेहोरेका परिवार र घाइतेलाई जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ ।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले राहत घोषणा गर्दै घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम गर्न आठबुँदे निर्णय समेत गरेको हो ।
बैठकले घटनामा मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
निर्णयअनुसार सामाजिक सद्भाव र साम्प्रदायिक एकता सुदृढ बनाउन राजनीतिक दल, सामाजिक संघ–संस्था तथा प्रशासनबीच समन्वयात्मक पहल गरिनेछ । पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको छ ।
सामुदायिक तहमा मेलमिलाप र सामाजिक सद्भाव कायम राख्न स्थानीय प्रशासनसँगको समन्वयमा सद्भाव यात्रा, सार्वजनिक अपिल तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । साथै, सबै धार्मिक समुदायका संघ–संस्थाले संयुक्त अपिल जारी गरी सामाजिक एकता कायम गर्न सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ ।
बैठकले सीमावर्ती क्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा निकायलाई थप सतर्क रहन निर्देशन दिएको छ । घाइतेहरूको उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन संघीय सरकारसँग समेत अनुरोध गर्ने निर्णय गरिएको छ ।
यस्तै, घटना प्रभावित जिल्ला तथा आसपासका क्षेत्रमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग आवश्यक समन्वय गर्न आग्रह गरिएको छ ।
मुख्यमन्त्री कार्कीले संवेदनशील परिस्थितिमा सबै पक्षले संयमता अपनाई सामाजिक सद्भाव कायम राख्न जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिँदै समाजमा द्वेष र असहिष्णुता फैलाउने कुनै पनि गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरे ।
सर्वपक्षीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश अध्यक्ष चन्द्रबहादुर राई, नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापा, नेकपा (एमाले) का प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुख तथा उच्चपदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो ।

सुनसरी घटनाको छानबिन ...

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं प ...

प्रतिनिधिसभामा कप्ता ...

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सीमासम्बन्धी प्रध ...

डोकामा साग बेच्दै कि ...

ललितपुर महानगरपालिका–१९, इटीटोलस्थित लग ...

सामाजिक सद्भाव र दिग ...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापत ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]