हाम्रो समाजमा हामी प्रायः मानिसलाई काम कस्तो चलिरहेको छ, पढाइ कस्तो छ, बिहे कहिले गर्ने, भविष्यको योजना के छ भन्ने प्रश्नहरू सोध्छौं । तर एउटा अत्यन्तै महत्त्वपूर्ण प्रश्न भने अझै पनि हाम्रो दैनिक संवादबाट हराइरहेको छ “तपाईं वास्तवमै मनदेखि कस्तो हुनुहुन्छ ?”
मानसिक स्वास्थ्य आजको समयमा सबैभन्दा आवश्यक तर अझै पनि कम बुझिएको विषयमध्ये एक हो। धेरै मानिसहरू मानसिक स्वास्थ्यलाई केवल “पागलपन” वा गम्भीर मानसिक रोगसँग मात्र जोडेर हेर्छन् । तर मानसिक स्वास्थ्य भनेको हाम्रो सोच, भावना, तनावसँग जुध्ने क्षमता, सम्बन्धहरू सम्हाल्ने तरिका, दुःख सहने शक्ति, र जीवनका उतारचढावसँग अघि बढ्ने अवस्थासँग म्बन्धित विषय हो । यो हरेक उमेरका मानिससँग जोडिएको हुन्छ।
नेपाली समाजमा धेरैजसो मानिसहरूलाई आफ्ना भावना दबाएर राख्न सिकाइन्छ। “धेरै नसोच”, “रुनु हुँदैन”, “बलियो बन्नुपर्छ” जस्ता वाक्यहरू हामीले सानैदेखि सुन्दै आएका छौं । त्यसैले धेरै मानिसहरू बाहिरबाट सामान्य देखिए पनि भित्रभित्रै चिन्ता, दुःख, एक्लोपन, थकान, र भावनात्मक पीडासँग संघर्ष गरिरहेका हुन्छन् ।
आजका बालबालिकाहरू पढाइको दबाब, तुलना, सामाजिक अपेक्षा, र पारिवारिक वातावरणका कारण भावनात्मक रूपमा प्रभावित भइरहेका छन् । कहिलेकाहीँ बालबालिकाको रिस, चुपचाप बस्ने बानी, वा व्यवहारमा आएको परिवर्तन “जिद्दीपन” नभई उनीहरूको भित्री पीडाको संकेत हुन सक्छ। तर हामी व्यवहार सुधार्नतर्फ केन्द्रित हुन्छौं, भावनालाई बुझ्नतर्फ होइन ।
किशोरकिशोरी र युवाहरू पनि ठूलो मानसिक दबाबमा बाँचिरहेका छन् । राम्रो पढाइ, सफल भविष्य, परिवारको अपेक्षा, सामाजिक छवि, र सामाजिक सञ्जालको प्रभावले धेरै युवाहरूलाई मानसिक रूपमा थकित बनाइरहेको छ। बाहिरबाट मुस्कुराइरहेका धेरै युवाहरू भित्रभित्रै चिन्ता, आत्मदबाब, र असुरक्षासँग संघर्ष गरिरहेका हुन्छन् ।
वयस्कहरू पनि मानसिक दबाबबाट टाढा छैनन् । आर्थिक समस्या, वैदेशिक रोजगारी, सम्बन्धका कठिनाइहरू, पारिवारिक जिम्मेवारी, र पुराना भावनात्मक घाउहरूले धेरैलाई असर गरिरहेको हुन्छ । हाम्रो समाजमा आफूलाई त्याग गरेर अरूका लागि बाँच्न सिकाइन्छ, तर आफ्नै मानसिक स्वास्थ्यको ख्याल राख्न भने कम सिकाइन्छ ।
बृद्धबृद्धाहरूको मानसिक स्वास्थ्य झन् कम प्राथमिकतामा पर्छ। एक्लोपन, जीवनसाथी गुमाउनु, परिवारबाट भावनात्मक दूरी, वा सन्तान विदेशिनुजस्ता कारणहरूले धेरै बृद्धबृद्धाहरू मानसिक रूपमा पीडित भइरहेका हुन्छन्। तर उनीहरूको भावनात्मक पीडालाई सामान्य रूपमा लिइन्छ ।
नेपालमा मानसिक स्वास्थ्यसँग सम्बन्धित सबैभन्दा ठूलो समस्या भनेको “लाञ्छना” अर्थात् stigma हो । धेरैमानिसहरू समाजले के भन्छ भन्ने डरले आफ्नो मानसिक अवस्थाबारे खुल्न सक्दैनन् । “कमजोर”, “पागल”, वा “धेरै सोच्ने” भनेर आलोचना गरिने डरले मानिसहरू सहयोग लिनबाट पछि हट्छन् ।
तर मानसिक स्वास्थ्यको सहयोग लिनु कमजोरी होइन । जस्तै शरीर बिरामी हुँदा हामी अस्पताल जान्छौं, त्यसैगरी मन थाक्दा, भावनात्मक रूपमा गाह्रो हुँदा, वा मानसिक रूपमा संघर्ष भइरहेको बेला सहयोग खोज्नु स्वाभाविक र आवश्यक कुरा हो।
मानसिक स्वास्थ्यबारे कुरा गर्नु भनेको मानिसलाई कमजोर बनाउनु होइन, बरु भावनात्मक रूपमा सचेत, जिम्मेवार, र संवेदनशील बनाउनु हो। यसले मानिसलाई तनाव व्यवस्थापन गर्न, स्वस्थ सम्बन्ध बनाउन, आफ्ना भावनाहरू बुझ्न, र अरूलाई सहानुभूतिका साथ बुझ्न सिकाउँछ ।
हामीले समाजमा यस्तो वातावरण बनाउन आवश्यक छ जहाँ मानिसहरूले आफ्ना भावनाहरू लुकाउन नपरोस्। विद्यालयहरूले पढाइसँगै भावनात्मक शिक्षालाई पनि प्राथमिकता दिनुपर्छ। परिवारहरूले आलोचना भन्दा बढी सुन्न सिक्नुपर्छ। कार्यस्थलहरूले मानसिक थकानलाई स्वीकार गर्नुपर्छ। समुदायहरूले मानिसलाई खुलेर बोल्न सुरक्षित महसुस गराउनुपर्छ।
कहिलेकाहीँ उपचार औषधिबाट होइन, कसैले मनदेखि सुनेर सुरु हुन्छ ।
मानसिक स्वास्थ्य व्यक्तिगत मात्र होइन, सामाजिक जिम्मेवारी पनि हो । मानसिक स्वास्थ्यलाई बेवास्ता गर्ने समाज अन्ततः हिंसा, सम्बन्ध विच्छेद, लत, एक्लोपन, र मौन पीडाबाट प्रभावित हुन्छ। तर मानसिक स्वास्थ्यलाई महत्त्व दिने समाजले स्वस्थ परिवार, आत्मविश्वासी बालबालिका, र सहानुभूतिपूर्ण समुदाय निर्माण गर्छ ।
सायद अब समय आएको छ, हामीले मानिसलाई केवल “के गर्दैछौ?” भनेर मात्र होइन, “तिमी वास्तवमै कस्तो छौ?” भनेर पनि सोध्न सिक्नुपर्छ। किनभने मानसिक स्वास्थ्य अस्पताल वा उपचार कक्षमा मात्र सीमित विषय होइन; यो हाम्रो घर, परिवार, विद्यालय, कार्यस्थल, र दैनिक जीवनसँग गहिरो रूपमा जोडिएको विषय हो ।
मानसिक स्वास्थ्यबारे कुरा गर्दा धेरैले अझै पनि यसलाई “गम्भीर समस्या भएपछि मात्र आउने कुरा” भनेर बुझ्ने गर्छन् । तर मेरो काम र अनुभवले मलाई बारम्बार यो सिकाएको छ, मानसिक स्वास्थ्य हाम्रो दैनिक जीवनसँग जोडिएको छ, हरेक सानो अनुभवसँग जोडिएको छ, र हामी सबैसँग सम्बन्धित छ ।
कहिलेकाहीँ मानिसहरू मसँग आएर भन्छन् “मलाई खास केही भएको छैन, तर भित्रभित्रै धेरै भारी लाग्छ।” यो वाक्य आफैंमा धेरै गहिरो हुन्छ। किनभने मानसिक समस्या सधैं ठूलो दुर्घटना वा ठूलो घटना पछि मात्र सुरु हुँदैन। यो बिस्तारै, दैनिक तनाव, दबाब, सम्बन्धका गाह्रोपन, आर्थिक चिन्ता, र नबोलेका भावनाहरूबाट पनि सुरु हुन्छ।
हाम्रो नेपाली समाजमा दैनिक जीवन नै धेरै तनावपूर्ण हुँदै गएको छ। बिहान उठेदेखि राति सुत्दासम्म मानिसहरू कुनै न कुनै दबाबमा हुन्छन् , कामको, पढाइको, घरको जिम्मेवारीको, आर्थिक अवस्थाको, वा भविष्यको डरको। धेरैजसो मानिसहरू यी सबै कुरा “normal” मानेर चलिरहन्छन्, तर शरीर र मन भित्रभित्रै थाकिरहेको हुन्छ ।
मैले देखेको एउटा सामान्य कुरा के हो भने, धेरै मानिसहरू आफ्ना भावनाहरूलाई “पछि हेर्छु” भनेर थाँती राख्छन् । तर त्यो “पछि” कहिल्यै आउँदैन । समयसँगै त्यो दबिएको तनाव चिन्ता (anxiety), उदासी (depression), चिडचिडापन, निन्द्रा नलाग्ने समस्या, वा शारीरिक थकानको रूपमा देखिन थाल्छ । कहिलेकाहीँ समस्या ठूलो हुँदैन, तर लगातार हुन्छ र त्यही लगातारता नै मानिसलाई भित्रभित्रै कमजोर बनाउँछ ।
दैनिक जीवनका केही वास्तविक अनुभवहरू
एक विद्यार्थी भन्छ — “पढ्न मन लाग्दैन, तर fail हुने डरले पढिरहनुपर्छ ।”
एक अभिभावक भन्छन् — “बच्चाको भविष्य सोचेर राति निद्रा लाग्दैन ।”
एक युवा भन्छ — “सबै ठीक छ जस्तो देखाउनुपर्छ, तर भित्रभित्रै खाली महसुस हुन्छ।”
एक बृद्ध व्यक्ति भन्छन् — “सबै छन् तर पनि एक्लो लाग्छ ।”
यी कुनै असामान्य कुरा होइनन्। यी हाम्रो समाजको वास्तविकता हो । तर समस्या तब हुन्छ जब यी अनुभवहरूलाई कसैले सुन्दैन, बुझ्दैन, वा सामान्य भनेर ignore गरिन्छ।
कहिले सहयोग लिनु पर्छ ?
मानसिक स्वास्थ्य सहयोग लिनु “अन्तिम अवस्था” होइन। केही संकेतहरू छन् जसले बताउँछ कि सहयोग लिनु उपयोगी हुन सक्छ :
यी लक्षणहरू देखिनु भनेको तपाईं कमजोर हुनु होइन, बरु तपाईंको मनले “मलाई सहयोग चाहिन्छ” भनेर संकेत दिइरहेको हो।
सहयोग कसरी र कहाँ खोज्ने ?
हाम्रो समाजमा अझै पनि धेरैलाई थाहा छैन, सहयोग कहाँ पाइन्छ भनेर। तर विकल्पहरू छन्:
पहिलो कदम सधैं “बोल्नु” हो। सबै कुरा एकैचोटि भन्नुपर्छ भन्ने होइन। तर “मलाई गाह्रो भइरहेको छ” भनेर भन्नु नै सुरुवात हो।
किन सहयोग लिनु महत्त्वपूर्ण छ ?
यदि हामीले समयमै आफ्ना भावनाहरूलाई बुझेनौं र सहयोग लिएनौं भने, समस्या बिस्तारै गहिरिँदै जान सक्छ ।
यसले दैनिक जीवनमा असर गर्न सक्छ, पढाइ, काम, सम्बन्ध, आत्मविश्वास, र स्वास्थ्य सबै प्रभावित हुन सक्छ ।
कतिपय अवस्थामा मानिसहरू पूर्ण रूपमा थकित महसुस गर्छन्, आफूलाई बुझ्न सक्दैनन्, वा जीवनप्रति आशा
कम हुँदै जान्छ। तर सही समयमा सहयोग लिँदा यी अवस्थाहरू सुधार हुन सक्छन् ।
मानसिक स्वास्थ्य उपचार केवल “समस्या समाधान” होइन, यो “आफ्नो जीवनलाई फेरि बुझ्ने प्रक्रिया” हो ।
मेरो व्यक्तिगत बुझाइ
मेरो कामको अनुभवले मलाई एउटा कुरा धेरै स्पष्ट बनाएको छ, मानिसहरू कमजोर हुँदैनन्, तर धेरै लामो समयसम्म बलियो बन्ने प्रयास गर्दा थाक्छन् ।
हामी सबैले कुनै न कुनै रूपमा संघर्ष गरिरहेका हुन्छौं । तर हामी सबैलाई एउटा सुरक्षित ठाउँ चाहिन्छ, जहाँ हामी बिना डर, बिना लाज, आफ्ना भावनाहरू भन्न सकौं ।
कहिलेकाहीँ समाधान ठूलो सल्लाह होइन, केवल कसैले “म सुन्दैछु” भन्नु हो ।
मानसिक स्वास्थ्य कुनै विलासिता होइन, यो आवश्यकता हो ।
यो केवल बिरामी भएपछि सम्झिने कुरा होइन, दैनिक जीवनमै बुझ्नुपर्ने कुरा हो ।
यदि हामीले आजदेखि नै एकअर्कालाई अलि धेरै सुन्न, बुझ्न र स्वीकार गर्न थाल्यौं भने, हाम्रो समाज धेरै नै मानवीय, शान्त, र स्वस्थ बन्न सक्छ ।
सायद अब समय आएको छ, हामीले मानिसलाई केवल “ठीक छ ?” भनेर होइन,“तिमी साँच्चै कस्तो छौ ?” भनेर सोध्न सिकौं।
किनभने कहिलेकाहीँ एउटा सानो प्रश्नले पनि ठूलो पीडा हल्का बनाउन सक्छ।