केसलिया रोडस्थित पुलमुनिको जाम खोलेसँगै डुबान समस्या समाधान

  • असार २९, २०८१ / नेपाल रेखा
alt

विराटनगर । विराटनगर केसलिया रोडस्थित पुलमुनि राखिएको ठूलो ह्युमपाइप, साइफन तथा पुल पूर्व र पश्चिमको नालाको जाम खोलिएसँगै त्यस क्षेत्रको डुबान समस्या समाधान भएको छ ।
वर्षौंदेखि जाम भएको नालाका कारण वर्षामा मरिकटोल, जनपथ टोल, पिचरा, बखरीलगायतका क्षेत्र डुबानमा पर्दै आएका थिए । पन्ध्र दिनअघि आएको मुसलधारे वर्षामा नालाको पानी बाहिर आउँदा दक्षिणी क्षेत्रको मरिक टोल, जनपथ टोल, पिचरा, बखरीलगायतका क्षेत्र डुबानमा परेका थिए । त्यसलत्तगै जाम भएको नालाको खोजी गरिएको थियो । केसलिया नहरको पुलमुनि राखिएको ठूलो ह्युमपाइप पूर्ण रुपमा जाम भएको पाइएको थियो । महानगरको सरसफाई शाखाका प्रमुख पुनमकुमार दाहाका अनुसार केसलिया रोडको दक्षिणतर्फको नाला र ह्युमपाइप मारुती गाडी गुड्न सक्ने आधारको रहेको छ ।
मेयर नागेश कोइरालाको उपस्थितिमा महानगरको सफाई व्यवस्थापन शाखाको नेतृत्वमा सफाई कर्मचारी, नगर प्रहरी, स्थानीय जनप्रतिनिधि, स्थानीय युवाहरुको सक्रियतामा करिब ८ घण्टापछि जाम खोलिएको थियो । लामो प्रयासपछि पनि पुलमुनिको दुईवटा ठूला ह्युमपाइप र पुल पूर्व र पश्चिमको नालाको जाम नखुलेपछि प्लाष्टिकको डोरीमा टायर बाँधेर क्रेनले तानिएको थियो । नालाभित्र भाँचिएका कुर्सी, बिग्रिएका टेलिभिजन, प्लाष्टिकका बोरा, काठ, इँटालगायत भेटिएको थियो ।
मेयर कोइरालाले महानगरवासीकै कारण नालाहरु जाम हुने गरेको बताउनुभयो । उहाँले महानगरवासीले फोहोर फ्याल्दा अधिकांश नालामा जाम हुने गरेको जानकारी दिनुभयो । धेरैजसो स्थानमा नालाको पानी बाहिर आउँदा डुबान हुने गरेको पाइएको उहाँको भनाइ थियो । पैनी, नहर र नालामा फोहोर नफाल्ने हो भने विराटनगरको ७० प्रतिशत डुबान समस्या समाधान हुने मेयर कोइरालाले दाबी गर्नुभयो । ‘प्लाष्टिकका बोतल, प्लाष्टिक, चाउचाउ, बिस्कुट, गुट्खा, खैनी, फाटेको जुत्ताचप्पललगायत नालामा फ्याल्ने गरेको पाइएको छ,’ उहाँले भन्नुभयो, ‘यतिसम्म कि बिग्रिएका टेलिभिजन, कप्युटरसमेत नालामा फ्यालेको पाइयो ।’
सरसफाई शाखाका प्रमुख दाहालले घर निर्माणपछि नालामै निर्माण सामग्री छाड्ने गरेको बताउनुभयो । उहाँले घर सम्पन्न भइसकेपछि नालामाथि स्ल्याप बनाउँदा स्ल्यापलाई अड्याउँदा लगाएको इँटासमेत नझिकेको पाइएको जानकारी दिनुभयो । जसका कारण नाला भरिएर रोडमा आई जाम हुने गरेको उहाँको भनाइ थियो । धेरै ठाउँमा त्यस्ता स्ल्यापहरु भत्काइएको दाहालले जानकारी दिनुभयो । महानगरले बढी डुबान हुने वडा नम्बर ३, वडा नम्बर १३ र १५ को सिक्स लेन छेउको नाला सफा गरेका कारण तुलनात्मक रुपमा विगतमा जस्तो डुबान नभएको स्थानीयको भनाइ छ । वडा नम्बर १५ का स्थानीय अमृत साहले महानगरले नाला सफा गरेकै कारण यस वर्ष विगतको जस्तो डुबान नभएको बताउनुभयो ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]