इटहरी । न्युरोड टिम एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । इटहरी रंगशालामा मंगलबार राति सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा झापा गोल्डकप च्याम्पियन चर्च ब्वाइजले बुढासुब्बा गोल्डकप बिजेता एनआरटीमाथि २–१ गोलको जीत हात पार्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । चर्च ब्वाइजको जीतमा अबायोमी फकुन्ले र सुरजज्यु ठकुरीले गोल गरे । एनआरटीका अफिज ओलावालेले एक गोल फर्काए ।
खेलको ३७ औं मिनेटमा अबायोमीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको चर्च ब्वाइजमाथि एनआरटीका ओलावालेले खेलको ८२ औं मिनेटमा गोल फर्काए । त्यसको एक मिनेट बित्न नपाउदै चर्च ब्वाईजका ठकुरीले गोल गर्दै आफ्नो टिमलाई २–१ को जीत दिलाए । मंगलबारको खेलको म्यान अफद म्याच चर्च ब्वाइजका सुरजज्यु ठकुरी घोषित भए । सो बापत उनलाई इटहरी उपमहानगरपालिकाका प्रेस संयोजक धनबहादुर पुरी र इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले नगद १० हजार र ट्रफी प्रदान गरे । बुधबार पहिलो सेमिफाइनल खेलमा बिभागीय टिम त्रिभुवन आर्मी र साबिक बिजेता सगरमाथा फुटबल क्लब मोरङबिच प्रतिष्पर्धा हुनेछ । फाइनल खेल शनिबार हुनेछ । फाइनल खेलको बिजेताले नगद १० लाख रुपैया हात पार्नेछ । उपबिजेताले ५ लाख रुपैयामा चिक्त बुझाउनुपर्नेछ ।