अस्पतालको गेटमै शिशु जन्माएकी शर्मिलाको घरमै पुगेर राज्यमन्त्री सपना परियारद्वारा सहयोग

  • असोज २४, २०८३ / नेपाल रेखा
alt

इनरुवा । सुनसरीमा अस्पतालमा समयमा उपचार नपाएको आरोपपछि अस्पतालको गेटमै शिशुलाई जन्म दिन बाध्य भएकी कोशी गाउँपालिका–३ की २४ वर्षीया शर्मिला कुमारी सदाको परिवारलाई कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सपना परियारले सहयोग गरेकी छन् ।
घटनाबारे समाचार सार्वजनिक भएपछि राज्यमन्त्री परियार पीडित शर्मिलाको घरमै पुगेर उनको परिवारलाई खाद्यान्न तथा आमा र नवजात शिशुका लागि आवश्यक कपडा हस्तान्तरण गरेकी हुन् । अत्यन्त विपन्न दलित परिवारकी शर्मिलाले भोग्नुपरेको पीडाप्रति दुःख व्यक्त गर्दै उनले दुःखको घडीमा परिवारलाई साथ र सहयोग आवश्यक रहेको बताइन् ।
राज्यमन्त्री परियारले गरिबी र पहुँचको अभावका कारण कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन नहुने बताइन् । ‘गरिब र पहुँचविहीन भएकै कारण कुनै पनि नागरिकले स्वास्थ्य सेवा नपाउने अवस्था लोकतन्त्रमा स्वीकार्य हुन सक्दैन,’उनले भनिन् ।
उनले घटनाबारे प्रदेश सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउँदै घटनाको निष्पक्ष छानबिन र दोषी देखिएकामाथि कारबाहीका लागि पहल गर्ने बताइन् । साथै, आमा र नवजात शिशुको स्वास्थ्योपचारका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक समन्वय तथा सहयोग गर्ने आश्वासनसमेत दिइन् ।
राज्यमन्त्री परियार घरमै आएर दुःखमा साथ दिँदै सहयोग गरेकोमा पीडित परिवारले धन्यवाद व्यक्त गरेको छ । तर, आफूहरूमाथि अन्याय भएको भन्दै परिवारले सहयोगसँगै न्यायको मागसमेत गरेको छ ।
पीडित शर्मिलाका अनुसार अस्पताल पुग्दा पनि समयमा चिकित्सक र नर्सले उपचारका लागि नहेर्दा उनले अस्पतालको गेटमै बच्चा जन्माउनुपरेको थियो । ‘हामी दलित छौँ, त्यसमाथि गरिब पनि छौँ। अस्पताल पुग्दा पनि समयमा डाक्टर र नर्सले हेरेनन् । अस्पतालको गेटमै बच्चा जन्मियो । त्यतिबेला आमा र बच्चालाई जे पनि हुन सक्थ्यो,’ उनले भनिन् ।
शर्मिलाका पति लालु सदाले परिवारको आर्थिक अवस्था कमजोर रहेकाले आमा र बच्चाको सम्पूर्ण उपचार निःशुल्क गर्नुपर्ने माग गरेका छन् । उनले घटनामा दोषी देखिएकामाथि कारबाही गर्न पनि आग्रह गरे ।
‘मन्त्रीज्यू आएर सहयोग गर्नुभयो, तर हामीलाई आश्वासन मात्र होइन, न्याय चाहिएको छ । भोलि अरू कुनै दलित वा गरिब महिलाले यसरी अस्पतालको गेटमा बच्चा जन्माउनुपर्ने अवस्था आउनु हुँदैन,’लालुले भने ।
स्थानीयवासी तथा अधिकारकर्मीले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिसहित निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्न माग गरेका छन् ।
स्थानीय अधिकारकर्मी फूलकुमारी रामले पीडित परिवारलाई न्याय दिलाउन र यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने बताइन् । सुनसरी जिल्ला अस्पताल इनरुवाका निमित्त प्रमुख डा. सन्तोष शाहले घटनाबारे छानबिन गर्न समिति गठन गरिने र समितिको प्रतिवेदनका आधारमा दोषी देखिएकामाथि कारबाही गरिने बताएका छन् ।

हुलाकलाई ‘सरकारी कुर ...

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना ...

कांग्रेस महाधिवेशन प ...

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्र्तगत शुक ...

सिद्धपोखरी बजार ...

सङ्खुवासभाको चैनपुर नगरपालिका-३ स्थित सिद्धपो ...

पाककला प्रशिक्षण ...

सुनसरीको इटहरीमा जारी सीप तथा रोजगार मेलाको चौथो ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]