इटहरी । त्रिभुवन आर्मी क्लब १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनलमा पुग्न सफल भएको छ । इटहरी रंगशालामा सोमबार राति सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाईटेड झापालाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा पुगेको हो ।
निर्धारित समयमा दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा बिर्तामोडका बिबेक पौडेल, आशिष चापागाई र देबेन्द्र तामाङको प्रहार बिफल भयो । तर बिशाल दर्जी र मौषम सुब्बाको प्रहार भने गोलमा परिणत भएको थियो । आर्मीका जीतेन्द्र कार्की, नवयुग श्रेष्ठ, फत्तेमान घलेले गोल गरे । कमल थापाको प्रहार बिर्तामोडका गोलकिपर बिबेक मगरले रोके ।
त्यसअघि निर्धारित समयको ८१ औं मिनेटमा आशिष चापागाईले पेनाल्टी मार्फत गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको ६ मिनेट थपिएको अतिरिक्त समयको अन्तिम मिनेटमा बिर्तामोडका नवयुग श्रेष्ठले पेनाल्टी मार्फत बराबरी गोल फर्काए ।
सोमबारको खेलको म्यान अफद म्याच आर्मीका गोलकिपर बिकेश कुथु घोषित हुदै नगद १० हजार पाए । मंगलबारको अन्तिम क्वाटरफाइनल खेल चर्च ब्वाइज युनाइटेड काठमाण्डौ र न्युरोड टिम एनआरटीबिच प्रतिष्पर्धा हुने आयोजक राष्ट्रिय जागृती क्लबले जनाएको छ । आगामी शनिबार हुने फाइनल खेलको बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया पुरस्कार पाउनेछन् ।