इटहरी । चौथो संस्करणको इटहरी भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक हाम्रो इटहरी भेट्रान क्लबले जितेको छ । फाइनलमा आयोजक हाम्रो इटहरीले रियल फ्रेण्डस भेट्रान, सिक्किम (भारत) लाई टाईब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । त्यसअघि जनता बहुमुखी क्याम्पसको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ हाम्रो इटहरीका लागि लिलाराम मगरले गोल गरेका थिए भने रियल फ्रेण्डसका लागि सन्तोष राईले गोल फर्काएका थिए । त्यपसपछि दुबै टिमबाट गोल नभएपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको हो ।
विजेता बनेको हाम्रो इटहरी भेट्रानले उपाधिसहित नगद १ लाख ११ हजार हात पार्यो भने उपविजेता रियल फ्रेण्डस भेट्रानले ६१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हाम्रो इटहरीका अंकुर कुमार खड्गी घोषित भए । उनले त्यसव ापत नगद ७ हजार र ट्रफी हात पारे । हाम्रो इटहरीका लिलाराम मगर फाइनल खेलको म्यान अफ द म्याच चुनिए । उनले नगद २१ हजार एक सय र ट्रफी हात पारे । अन्य व्यक्तिगत विधातर्फ हाम्रो इटहरीका सुनिल तामाङ उत्कृष्ट गोलरक्षक, दिवश राई उत्कृष्ट डिफेन्डर, प्रकाश कोइराला उत्कृष्ट प्रशिक्षक, सुरेन्द्र तामाङले सर्वाधिक गोलकर्ता चुनिए । उत्कृष्ट मिडफिल्डर रियल फ्रेण्डसका माइकल लेप्चा र उत्कृष्ट फरवार्ड रियल फ्रेण्डसकै सन्तोष राई घोषित भए । उनीहरुले जनही ३ हजार ५ सय र ट्रफी हात पारे । फागुन २६ गतेदेखि शुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी कुल ९ टोलीहरुले सहभागिता जनाएका थिए ।