राजन केडी
इटहरी । सुनसरीको इटहरी रंगशालामा आगामी चैत्र १० गतेदेखि १७ गतेसम्म १४ औं अन्तरर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक क्लब राष्ट्रिय जागृतिले मंगलबार पत्रकार सम्मेलन गरि दिएको जानकारी अनुसार प्रतियोगितामा १० क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता संयोजक अनुरोध थापाले फुटबल क्लबहरु ए.पी.एफ.(काठमाडौं) मानेभन्ज्याङ्ग (भारत), चर्च व्वाइज युनाइटेड (काठमाडौं), त्रिभुवन आर्मी (काठमाडौं), विर्तामोड युनाइटेड (झापा), सगरमाथा युथ (मोरङ), आयोजक राष्ट्रिय जागृति (इटहरी), कन्चनजंघा (भारत), मच्छिन्द्र (काठमाडौं) र एन. आर. टि. (काठमाडौं) बीच प्रतिस्पर्धा हुने बताए ।
पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष सन्तबहादुर डुम्बजनले विजेता क्लबले दश लाख पुरस्कार पाउने बताए । उनले उपविजेताले ५ लाख पाउने जानकारी दिए । त्यसैगरि, सर्वोकृष्ट खेलाडीले एक लाख, प्रत्येक खेलको म्यान अफ द म्याचले दश हजार, उत्कृष्ट गोलरक्षकले बीस हजार, उत्कृष्ट डिफेन्डरले बीस हजार पुरस्कार पाउने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
त्यसैगरि, उत्कृष्ट स्ट्राइकरले बीस हजार, उत्कृष्ट प्रशिक्षकले बीस हजार र सर्वाधिक गोलकर्ताले पश्चिस हजार पुरस्कार यो प्रतियोगितामा पाउनेछन् । साथै राइजिङ प्लेयरले १ थान एलइडी प्राप्त गर्नेछन् ।
पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा प्रतियोगिताको संयोजन इटहरी उपमहानगरपालिकाले गर्ने उल्लेख छ । संरक्षक भने कोशी प्रदेश खेलकुद विकास बोर्ड, राष्ट्रिय खेलकुद परिषद रहेको छ । गोल्डकपको मुख्य प्रायोजक कन्ट्रोल लुब्रिकेन्ट रहेको छ । प्रयोजकहरुमा टुबोर्ग, रेड ब्लु, रिलाइएबल जुस रहेका छन् । सहप्रयोजकहरुमा अन्नपूर्ण सिमेन्ट, एनइई, सुविसु इन्टरनेट, सलिको इन्सुरेन्स, पूर्वाञ्चल इभेन्ट र उत्तरी मोरङ उद्योग रहेका छन् ।
यो प्रतियोगितामा ७५ लाख ५० हजार खर्च र आम्दानी ७६ लाख हुने आयोजकले अनुमान गरेको छ ।