सुनसरी । डेंगुको संक्रमण तिब्ररुपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले खोज र नष्ट गर अभियान चलाउन आग्रह गरेको छ । जिल्ला बिपत ब्यवस्थापन समितीको बैठक बसी गरी प्रशासनले धरान उपमहानगरपालिका लगायत अन्य पालिकामा महामारीको रुपमा समेत रोग फैलन सक्ने हुँदा खोज र नष्ट कार्यक्रम व्यापक रुपमा सञ्चालन गर्न स्थानीय तहहरुलाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।
सुनसरीको धरानमा गत जेठ २३ गते डेंगुले एक जना महिलाको मृत्यु भैसकेको छ भने दैनिक ५० जना संक्रमित हुने गरेको स्वास्थ्य कार्यलय सुनसरीका प्रमुख सागर प्रसाईले बताए । जेठ महिनासम्म इटहरीमा तिब्ररुपमा फैलिएको डेंगुको प्रकोप अहिले सबैभन्दा बढी धरानमा देखिन थालेको प्रसाईले बताए । चार वर्षअघि पनि धरानमा डेंगुको महामारी फैलिएको थियो । धरानबाट शुरु भएको डेंगु अन्य छिमेकी नगर र जिल्लाहरुमा पनि विरामीहरु देखिएको थियो भने धरानमा नियन्त्रण बाहिर भएपछि महामारी नै घोषणा गर्नुपरेको थियो । त्यसबेला धरानमा मात्र १० हजारभन्दा बढी संक्रमित थिए । यसपालि पुनः त्यस्तो अवस्था आउन नदिन जिल्ला बिपत ब्यवस्थापनको बैठक बसी सरोकारवालाहरुलाई खोज र नष्ट गर अभियान सञ्चालन गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन् ।
बैठकले विगत केही दिनको लगातार वर्षातका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्न गई बराहक्षेत्र नगरपालिका–६ स्थित सिसौली घाट र चिलिया टापुमा कटान बढ्दै गएकाले सम्भावित विपत्ति र जोखिम हुन नदिन प्रतिकार्य योजना तर्जुमा गर्ने, गराउने निर्णय गरेको पाण्डेले बताइन् । जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय र प्रदेशका सांसद सहित बसेको बैठकले जिल्लामा विपद्को उच्च जोखिम रहेकोले बाढी, डुबान, सडक दुर्घटना, मानव वन्यजन्तु द्वन्द्व लगायतको क्षेत्रको उचित व्यवस्थापन गर्न स्थानीय तहले विपद्सँग सम्बन्धित सम्पूर्ण संघसंस्थाहरु तथा सरोकारवाला पक्षहरुको सक्रिय सहभागितामा विपद्को जोखिम क्षेत्र, हुन सक्ने क्षतिको पहिचान गरी विपद् जोखिम न्यूनीकरणका लागि सहकार्य गर्ने तथा विपद् पूर्वतयारीका कार्यहरु गर्ने निर्णय पनि गरेको छ ।