खगेन्द्र कार्की
केराबारी । केराबारी गाउँपालिकाको आयआर्जनको दरिलो माध्यम देखिएको खदम खोलामा सर्वपक्षीय अनुगमन गरिएको छ ।
खोलामा भएका चोरी निकासीलाई निरुत्साहित गर्न र क्रसर व्यवसायीलाई मर्यादित र जिम्मेवार बनाउँदै पालिकाको आयस्रोत बढाउने क्रममा सो अनुगमन भएको हो । गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगर, उपाध्यक्ष मनमाया मगर, प्रशासकीय अधिकृत विनोद भट्टराई, प्राविधिक विवेक भट्टराई, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, नागरिक समाजसहित समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुको सहभागिता उक्त अनुगमनका क्रममा देखिएको थियो । राजनीतिक दल, नागरिक समाज, पालिका आफैले पनि विगतमा गरेका प्रयासहरु सफल नदेखिएको हुँदा अब जनसहभागिताबाटै पनि यसलाई निरुत्साहित र व्यवस्थित गर्न सकिने निस्कर्षका साथ अगाडि बढेको छ ।
सो खोलामा भएको दोहन रोकेर पालिकाको आम्दानीको दर्बिलो स्रोत बनाउन पालिकाको लामो समयदेखि गर्दै आएका अभ्यास र भएका निर्णयलाई कार्यान्वयनमा लैजाने क्रममा उक्त अनुगमन भएको प्रवक्ता नारायण भुजेलले बताए ।
खोलाको आरबिएम अमानतमा बिक्री गर्ने सन्दर्भमा वस्तुगत अवस्था के छ भनेर अध्ययन गर्नका लागि सर्वपक्षीय अनुगमन गरिएको प्रवक्ता भुजेलको भनाई छ ।
पालिकाकाले चालु आर्थिक अवस्थामा नदीजन्य पदार्थका अवस्थाको आर्ईई गरेर विक्री योग्य मात्र छुट्याएको छ । केराबारी क्षेत्रभित्र ४ लाख ९० हजार ३ सय ९० घनमिटर बिक्री योग्य रहेको आईईले तोकेको प्रवक्ता भुजेलले बताए । तीन पटकसम्म ठेक्का आब्हान गर्दा पनि ठेक्का नलागेपछि बिक्रीयोग्य वस्तु बिक्री गरेर राजश्व जम्मा गर्दा उपर्युक्त हुने सर्वपक्षीय छलफलका आधारमा खदम खोलाको अनुगमन गरिएको बताए । उनले भने– खदम खोलामा आईईले २ लाख ८५ हजार घनमिटर बिक्रीयोग्य (आरबिएम) भनेकोमा आफ्नै प्राविधिक सभेक्षणबाट ७८ हजार घनमिटर उत्खनन भईसकेकोले २ लाख ७ हजार घनमिटर चाहि बिक्री योग्य रहेको देखिएको बताए । प्रवक्ता भुजेलले बिक्रीयोग्य देखिएको मध्ये ७५ प्रतिशत बगेर जाने नदीजन्य पदार्थलाई राजश्वमा परिणत गर्न सर्वपक्षीय स्वीकारोक्ति भएको उनले बताए ।
ठेक्का नलागेपछि खरिदका लागि व्यवसायीहरुलाई खुल्ला आव्हन गरिए बमोजिम प्रदेश राजश्व दररेटमा आवश्यक परिणामको (आरबिएम) बरााबरको रकम जम्मा गरेको आधारमा उत्खनन् गर्न पाउने गरी खोलामा सीमाना तोकिएको पनि प्रवक्ता भुजेलले बताए ।
सो पालिकाका प्राविधिक विवेक भट्टराईले राजश्व बुझाएको आधारमा ६ वटा क्रसरका लागि खोलामा सिमाना राखिएको बताए ।
सो खोलामा जथाभावी गर्न नपाउने र माग भन्दा बढी लान नपाउन र चोरीनिकासीबाट रोक्न पालिका, राजनीतिक दल र सुरक्षा निकायका प्रतिनिधिहरुबाट दैनिक दिन रातै गस्ति गर्र्न छुट्टै संयन्त्र निर्माण भएको छ ।
यस अघि वर्षौदेखि उक्त खोला दोहन गरी चोरी पैठारी हुने गरेको र क्रसर व्यवसायी मोटाउने तर पालिकाको खोलाको आम्दानी प्राप्त गर्नै नपाउने परम्परालाई तोडेर अब पालिकाको आम्दानीसँगै क्रसर व्यवसायीलाई व्यवसायिकतातर्फ उन्मुख गराउनु र खोलाबाट आम केराबारीबासीमा हुने क्षतिलाई न्युनिकरण गर्नु नै उक्त अनुगमनको उद्देश्य रहेको छ ।