विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा सहभागि छ वटै राजनीतिक दलहरुलाई आफू नेतृत्वको सरकारमा सहभागि हुन आग्रह गरेका छन् ।
प्रदेश सभामा सहभागि छ वटा राजनीतिक दलमध्ये नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजबादी पार्टी अहिलेको सरकारमा सहभागि भएपनि प्रदेश सभाको दोस्रो ठूलो दल नेपाली काँग्रेस र पाँच ठूलो दल नेकपा (एकीकृत समाजबादी) सरकार बाहिरा रहेको चर्चा गर्दै उनीहरुलाई पनि सरकारमा सहभागि हुने अनुरोध गरेका हुन् ।
मङ्गलबार ‘कोशी प्रदेश सरकारको एक सय दिने कार्य उपलब्धी विवरण’ सार्वजनिक गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । गत पुस २५ गते भएको उक्त सरकारले मङ्गलबार एक सय दिन पुरो गरेको छ ।
मुख्यमन्त्री कार्कीले भने–‘म आह्वान गर्न चाहान्छु, सबै मिलेर पाँच वर्ष सरकार चलाऊँ र नेपाली जनतालाई सन्देश दिऊँ ।’ हाम्रो बहुदलीय प्रतिस्पर्धात्मक र वेस्ट मिनिस्टर प्रणालीमा बहुमतको सरकार र अल्पमतको प्रतिपक्ष चाहिन्छ भन्ने मान्यता रहेपनि त्यो मान्यता श्राद्धा गर्दा विरालो बाँद्नु पर्ने मान्यता जस्तो मात्र भएको दृष्टान्त प्रस्तुत गर्दै यो कुनै कानुनी र संबैधानिक बाध्यता नभएको स्पस्ट पारे ।
उनले भने–‘सँगै मिलेर नयाँ सन्देश दिउँ, त्यसले राष्ट्रिय राजनीतिमा विभिन्न मुद्धाहरुमा राष्ट्रिय सहमतिको वातावरण बन्ने, अन्य प्रदेशहरुमा पनि एउटा सहमतिको वातावरण बन्ने र नेपाली जनताहरुमा देखिएको निराशा, कुण्ठा, आक्रोसलाई चिरेर सम्भावित राजनीतिक दुर्घटनाहरु तथा मध्यवधी निर्वाचनको संभावानालाई टार्न सकिन्छ ।’
मुख्यमन्त्री कार्कीले जहिलेसम्म बहुमत आउँदैन तव सम्म दलहरु सँगै मिलेर जाने संस्कृतिको विकास गर्न पनि अनुरोध गरे । उनले २०७९ मङ्सिर ४ गतेको निर्वाचनको परिणामपछि सङ्केत मुलुकमा राजनीतिक स्थायित्वको सम्भावाना नदेखिएको दृष्टान्त प्रस्तुत गर्दै राजनीतिक पार्टीको केन्द्रीय नेतृत्वमा समिकरण परिवर्तन भएको र कोशी प्रदेश बाहेक कुनै पनि प्रदेश सरकारले सय दिन व्यतित गर्ने मौका नपाएको स्पस्ट पारे ।
उनले कोशी प्रदेशको सरकारको भविष्य पनि के हुन्छ भनेर विभिन्न अड्कलवाजीहरु भइरहेको स्मरण गराउँदै तर कोशी प्रदेशमा भने सरकारमा सहभागि दलहरु एकमतका साथ अघि बढिरहेको दाबी गरे ।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले एक सय दिनमा आफ्नो नेतृत्वको सरकारले गरेका महत्वपूण कामको बारेमा जानकारी गराएका थिए ।