मोरङ । नेपालको छिमेकी देश भारतको वथनाहबाट मोरङ जिल्लाको विराटनगरसम्म कार्गो रेल्वे सेवा सञ्चालनमा ल्याइने भएको छ ।
निर्माणको काम अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे सञ्चालनमा ल्याइनु अघि तयारीका सम्बन्धमा उद्योग सङ्गठन मोरङमा भएको बैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एसके चौधरीले विराटनगरदेखि कार्गो रेल्वे अविलम्ब सञ्चालनमा ल्याउने बताएका छन् ।
छलफलमा उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगञ्ज पुलमा आइरहने अवरोधले गर्दा मालवाहक सवारीका साधन रिरुट गरी ल्याउँदा उद्योगीलाई थप आर्थिक व्ययभार परिरहेको बताए । यसबाट राहत पाउन मालवाहक रेल्वे सहयोगी हुने बताए ।
भारतीय रेल्वे, डिभिजनल रेल्वे मेनेजर एसके चौधरीले १८ दशमलव छ किलोमिटर लम्बाइ भएको वथनाह विराटनगर रेल्वेको काम अन्तिम चरणमा पुगेको बताए । नेपाल र भारत सरकारबीच प्राविधिक र प्रशासनिक प्रक्रिया पूरा भएको १० देखि १५ दिनमा कार्गो रेल सञ्चालनमा ल्याउन सकिने उनको भनाइछ ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दुई देशीय व्यापार विस्तारका लागि महत्वपूर्ण कार्गो रेल सञ्चालनमा ल्याउन महानगरपालिकाका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले निर्माणको क्रममा देखिएका बाधा समाधानमा मोरङ प्रशासनको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । छलफलमा विराटनगर भन्सारका प्रमुख अधिकृत ताराप्रसाद सापकोटाले मिरगञ्ज पुलका कारण आयात निर्यातमा समस्या आउँदा राजस्व सङ्कलनसमेत प्रभावित हुने गरेको बताए । उनले कार्गो रेल सञ्चालनमा ल्याउन भन्सारको सहयोग रहने जनाए ।
सङ्गठनका पूर्वउपाध्यक्ष एव उद्योगी राकेश सुरानाले नेपालबाट भारतको विभिन्न स्थानमा उपचार गराउन, अध्ययन गर्न र धार्मिक प्रयोजनका लागि यस क्षेत्रबाट जाने यात्रुको सङ्ख्या अत्यधिक रहेकाले थप गन्तव्य पहिचान गरी नयाँ रेल थप्नुपर्नेमा जोड दिएका छन् ।
छलफलमा सङ्गठनका उपाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य पारस लुनिया, भारतीय रेल्वे, जोगवनी आइसिपि, नेपाल रेल्वे विभाग, नेपाल आइसिपिका प्रतिनिधिलगायत उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो ।