इटहरी । बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अनुगमन टोलीले तत्काल म्याद गुज्रिएका सामानहरु नष्ट गरि व्यवसायीलाई सचेत गराइएको छ ।
जिल्ला प्रशासन कार्यालय समेतको सहभागितामा गरिएको बजार अनुगमनका क्रममा इटहरीको हटिया लाईनका केही पसलहरुमा म्याद गुज्रिएका सामानहरु फेला परेपछि नष्ट गरिएको हो ।
अनुगमनका क्रममा खाद्य पसलहरुमा विक्रीका लागि राखिएका केही सामानहरुको म्याद गुजिए्रको पाइएको र यस अघि इटहरीकै अन्य पसलहरुमा पनि अनुगमन गर्दा पनि केही पसलहरुमा म्याद गुज्रिएको सामान फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख काशिनाथ घिमिरेले जानकारी दिए ।
बजार अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तुका म्याद गुज्रिएको पाइएको वताउदै यस पटकलाई सचेत गराइएको घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख राजन पाण्डे बताउछन् । उनले कैफियत देखिएका पसलहरुमा फेरि अनुगमन गर्दा पनि म्याद गुज्रिएका सामाग्री राखेको साथै अन्य गल्ती गरेको पाइए कारवाही गरिने जानकारी गराए ।
उपभोक्ताहरुलाई पनि सामान किन्दा म्याद गुज्रिएको छ छैन मिति हेरेर खरिद गर्न तथा बिक्रेताहरुलाई समेत उपभोग्य मिति हेरेर मात्र बेच्न आफूहरुले आग्रह गरिरहेको उपभोक्ता मञ्च नेपालका ठगेन्द्रप्रसाद आचार्यले बताए ।
इटहरी उपमहानगरपालिकाको समेतको सहभागितामा जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता मञ्च नेपाल लगायतका सरोकारवालाहरुको समेत उपस्थितिमा बजार अनुगमन गर्ने क्रममा केही पसलहरुमा मसला, बिस्कुट, कन्फेल्स, मह लगायतका वस्तुको म्याद गुज्रिएको पाइएको छ ।
संयुक्त बजार अनुगमन टोलीले इटहरीमा खाद्यान पसलहरुमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा उपभोग्य म्याद, व्यवसाय दर्ता, नवीकरण, कर चुक्ता भए नभएको विषय पनि हेरिएको थियो ।
