ललितपुर । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल २०२२ को ताज प्रियंका रानी जोशीले पहिरिएकी छन् । ललितपुरको गोदावरी स्थित सनराइज कन्भेन्सनमा भएको ग्राण्ड फिनालेमा २३ प्रतियोगिलाई पछि पार्दै उनले विजयको ताज पहिरिएकी हुन् । मिस नेपाल नम्रता श्रेष्ठले उनलाई ताज पहिर्याइन् । उनी २०२० की मिस नेपाल हुन् । कोरोना महामारीका कारण गत वर्ष यो प्रतियोगिता भएन ।
त्यसैगरि, सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए ।
मिस नेपालको फाइनल प्रतिस्पर्धामा प्रियंकासहित आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठले मिस नेपाल २०२२ को अन्तिम प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताका लागि देशभरबाट ८ सय युवतीले आवेदन दिएका थिए । जसमध्ये १९६ जनाले अडिसन दिएका थिए । जसबाट २४ जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका हुन् ।
