नयाँ कोरोना भाइरस

  • जेठ १२, २०७७ / "नेपाल रेखा"
alt

नयाँ कोरोना भाइरसले बिश्वलाई स्तब्ध बनाएको छ, मानौं समय नै रोकिएको हो । बिश्वका हरेक देशले मानिसहरुलाई घरभित्र नै बस्न र एकापसमा निश्चित दुरी कायम गर्दै सुरक्षित रहन आह्वान गरेको छ । धेरै देशले मानिसहरुलाई बलजफ्ती घरभित्र रहन बाध्य पारेको छ । मानिसहरुको दैनन्दिनी यसरी बिग्रिएको छ, लाग्छ भविष्यमा बिश्वभरी नै मानवजातिले ठूलो संकट ब्यहोर्नेछ ।
बिश्व स्वास्थ्य संगठनले यस भाइरसद्वारा उत्पन्न रोगलाई कोविड–१९ नाम दिएको छ । यो कोभिड–१९ रोगको लक्षण सामान्य रुघा, खोकी र ज्वरो हो । तर यहि सामान्य मानिएको लक्षणहरुले बिश्वमा आतंक फैलाएको छ । सबैभन्दा ठूलो सत्य के हो भने नयाँ कोरोना भाइरसलाई सबैभन्दा मनपर्ने स्थान मानिसको फोक्सो हो । हुन त यसको स्वरुप वरिपरि प्रोटीनको मुकुट भएको बोसोको बिन्दु भनिएको छ, तर फोक्सोको तन्तुहरुबाट यो एकबाट करोडौं बन्ने गर्छ । हाँछ्यु गर्दा, खोक्दा मुखबाट बाहिर निस्कन्छ अनि हावा वा अन्य माध्यमबाट नजिकको ब्यक्तिको नाक, मुख हुँदै फोक्सोमा पुग्छ र फेरि करोडौं बन्ने गर्छ । त्यसैले यसबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको हावा वा अन्य सतहबाट यसलाई हाम्रो फोक्सोमा पस्न नदिनु हो । त्यसका लागि नै देशमा लकडाउन, मास्क, सोसियल डिस्टेन्सिङ र सेल्फ क्वारेन्टिन जस्ता शब्दले प्रशय पाएको छ । यसले सबैभन्दा क्षति पु¥याउने स्थान भनेकै मानिसको फोक्सो हो, जहाँ जालो बनाएर बसेपछि स्वास प्रस्वासमा समस्या देखापर्छ । त्यसैले यसले बिगतको पाँच महिनाभित्र साढे तीन लाख मानिसको ज्यान लिइसकेको छ ।
साढे तीन लाखको ज्यान जाँदा बाइस लाखभन्दा बढीले यो रोगलाई जितेका पनि छन् । मानिसको यस भाइरससंग प्रतिरोध गर्ने क्षमता प्रबल भए, शरीरमा उत्पन्न भएको एन्टीबडीले त्यसलाई नास गर्दै जानेरहेछ । तर यदि एन्टीबडीको क्षमताभन्दा भाइरसको क्षमता धेरै भएमा भाइरसले मानिसलाई जित्छ, त्यैकारण रोग शुरु भएको छोटो समयमै मानिसको मृत्यु हुने गर्छ ।
वास्तवमा कुनै ब्यक्ति त्यस्तो नहोला जसलाई बर्षमा एकपटक रुघा नलागेको होस् । नेपालजस्तो प्रदुषित क्षेत्रमा बालकदेखि बृद्घ सबैलाई खोकी पनि बारम्बार लागिरहन्छ । ज्वरो आउनु भनेको रोग प्रतिरोधका लागि शरीरमा उत्पन्न हुने तापक्रम हो, जसले शरीरभित्रमा जिवाणुहरु निर्मुल गर्छ । केहि दशक अघिसम्म नेपालीहरु रुघाका लागि कुनै औषधि गर्दैनथे । मात्र तातो पानी पिउने गर्थे । पहिलो दिन नाक बन्द भएर तरतरी पानी बग्थ्यो, दोश्रो दिन सिँगान पाक्थ्यो र तेश्रो दिनदेखि क्रमिकरुपले निको हुँदैजान्थ्यो । सातदिनभित्र रुघा निको हुने स्वतः प्रकृया थियो शरीरभित्र । अलि शरीर कमजोर हुनेले दुधमा हर्दी घोलेर पिउने गर्थे । यो पंक्तिकारलाई पनि जीवनमा असंख्यौंपटक रुघा लागेको छ र स्वतः निको भएको छ । खोकीलाग्दा भने अलि बढी सकस हुन्थ्यो र पोलेको अदुवा चुस्दै खानुपथ्र्यो । नेपालीहरु ज्वरो आउँदा पनि सिटामोल खाइहाल्दैनथे, पानी भिजाएर निचोरेको रुमाल निधारमा राखेर वा पानीमा खुट्टा डुबाएर तापक्रम घटाउथे । भन्नुको तात्पर्य के हो भने शरीरमा कुनै पनि रोगको लक्षण छ भने सबैभन्दा उत्तम शरीरलाई नै त्यसबिरुद्घ लड्न प्रेरित गर्नु हो र त्यस्तै गर्ने प्रचलन थियो ।
रुघा एउटा सरुवा रोग हो । यो भाइरसकै कारणबाट हुनेगर्छ । रुघालाग्दा पनि एकदेखि अर्कोमा सर्छ भनेर टाढै बस्ने, नजिक नजाने गरिन्थ्यो । धेरै पटक अरुलाई लागेको रुघाबाट सरेर रुघा लाग्नेगथ्र्यो । रुघाको भाइरस पनि कोरोना भाइरसकै पूर्ववर्ती कमजोर प्रकृतीका रुप हुन्, जसलाई शरीरमा उत्पन्न एन्टीबडीले परास्त गर्नसक्थ्यो । यद्यपी रुघाबाट नै दमको रोग शुरु हुनेगथ्र्यो । रुघाबाट नै निमोनिया हुनेगथ्र्यो र धेरै बालबालिका र बृद्घबृद्घाले ज्यान गुमाउँथे । नेपालको प्रसंगमा रुकुम जिल्लाको मुसिकोटमा रुघाकै कारणले धेरैले ज्यान गुमाएका छन् । सुन्दा अचम्म लाग्नेगथ्र्यो रुघाकै कारणले कसैको ज्यान जान्छ र ? तर मौसमी रुघाको भाइरस यति प्रबल हुन्थ्यो कि शारीरिक रुपले कमजोर, दिर्घरोगी, बालबालिका, बृद्घबृद्घाको शरीरमा उत्पन्न एन्टीबडीले भाइरसलाई परास्त गर्न सक्दैनथ्यो र ज्यान जानेगथ्र्यो । यसबाट के बुझिन्छ भने रुँघा जति सामान्य हुन्छ त्यति नै जटिल पनि हुन्छ ।
यसभन्दा अघि सार्स र मेर्स नाम दिइएको दुई प्रकारका कोरोना भाइरसले बिश्वका केहि क्षेत्रमा महामारी निम्त्याए पनि समयको अन्तरालमा आफैं कमजोर भएर लोप भएको थियो । त्यस प्रकृयालाई मौसम परिवर्तनसंगै भाइरस स्वतः निर्मुल भएको मानिएको थियो । त्यसैको बिकसित रुप मानिएको नयाँ कोरोना भाइरसको सबैभन्दा उदेक लाग्ने कुरा भनेको बिश्वका सबैभन्दा सुसभ्य र सफा ठाउँलाई आक्रान्त बनाउनु हो, सबै तहको तापमानमा पनि प्रभुत्व बनाइराख्नु हो । बिश्वमा लण्डन, पेरिस, बार्सिलोना, साओ पाउलो, बर्लिनभन्दा स्वच्छ ठाउँ अन्त कतै छैन, तर त्यै ठाउँहरुमा यो भाइरस बनमा डढेलो सल्किएझै फैलिदै गएको छ ।
अहिले बिश्वब्यापी आह्वान छ, साबुन पानीले बारम्बार हात धोऔं, सेनिटाइजर बारम्बार प्रयोग गरौं, एकापसमा दुरी कायम गरौं, नाक ढाकेर हिडौं, हाँछ्यु गर्दा नाकलाई छोपौं आदि इत्यादि । तर बिकसित देशमा त यी सबैकुरा पहिल्यैदेखि गरिन्थ्यो । रुघालाग्दा समेत मानिसहरुलाई घरमा बस्न भनिन्थ्यो । प्राय सबैको गोजीमा सेनिटाइजर हुन्थ्यो । सरसफाइलाई बिशेष ध्यान दिई होटलको अनुगमन गरिन्थ्यो; घरहरुमा मुसा, झिंगा र साँग्ला समेत नहुने वातारण बनाइन्थ्यो । हेण्डवास बिनाको चर्पी हुदैनथ्यो । रोग लागेको अवस्थामा पनि स्वास्थ्य सेवा चुस्त हुनेगथ्र्यो । अस्पतालमा कुनै कुराको अभाव हुदैनथ्यो । स्वास्थ्य उपचार कसरी गर्नुपर्छ तिनीहरुले नै अरु देशलाई सिकाएका हुन् । स्वच्छ खानपिन र रहनसहनका लागि बिश्व नै परिवर्तन भएकाबेला बिश्वका बिकसित देशहरुले नयाँ कोरोना भाइरसबाट पार पाउन नसक्नु भनेको बिज्ञानले बनाएको आधुनिक समाजलाई ठूलो चुनौती हो ।
ज्यान गुमाउने र रोगीका बिश्वब्यापी आँकाडालाई नियाल्ने हो भने कोभिड १९ रोग धेरैजसो, बृद्घबृद्घालाई लागेको छ जसलाई पहिल्यैदेखि शरिरमा अन्य रोगहरु थिए जस्तै कि उच्च रक्तचाप, सुगर, क्यान्सर, हर्ट डिजिज्, दम् अथवा किड्नीमा समस्या । महिलाहरुभन्दा पुरुषहरुलाई यो रोगले धेरै भेटेको छ । शारीरिक रुपले कमजोर बालबालिकामा यो रोग भेटिएको छ । शरीरमा कुनै न कुनै प्रकारको दुर्बलता भएका जवानहरुमा नै यो रोग भेटिएको छ । सधै फास्टफुड र चिसो खानेकुरा मात्र खाएर आवश्यकताभन्दा बढी काम गरि थकित भएका कामदारहरु यसको शिकार भएका छन् । अस्पतालमा बिश्राम नलिई लामो समय सेवा गर्ने चिकित्सक र नर्सहरु यसको शिकार भएका छन् । यसबाट के बुझिन्छ भने जब नयाँ कोरोना भाइरसले मानिसलाई आक्रमण गर्छ, शरीर जहिल्यै यस बिरुद्घ लड्न र यसलाई परास्त गर्न तयार हुनुपर्छ । यदि शरीर अन्य समस्या समाधान गर्न लागिपर्छ भने कोविड १९ लाई फोक्सोमा अड्डा जमाउन सजिलो हुन्छ । जसको फोक्सो पहिल्यै कमजोर भएको छ उसको ज्यान खतरामा छ । यहिकारण बिकसित देशका बासिन्दालाई यसले बढी आक्रान्त बनाएको हो किनभने ती देशहरुमा युवाहरु अत्याधिक चुरोट पिउने गर्छन् । चुरोटका कारण फोक्सो कमजोर भएका धेरैजसो बृद्घबृद्घा र युवाहरुले यो रोगबाट ज्यान गुमाएका हुन् ।
भनिन्छ एकपल्ट रोग लागेर आफै निको भएपछि त्यहि रोग हत्तपत्त लागिहाल्दैन किनकि त्यस रोग संग लड्ने एन्टीबडी शरिरले बनाइसकेको हुन्छ र शुरुवाती अवस्थादेखि नै परास्त गर्दैलान्छ । त्यसैले नयाँ कोरोना भाइरससंग लड्ने क्षमता बढाउन शरिरलाई निरोगी राख्न त्यति नै जरुरी हुन्छ, फोक्सो स्वच्छ राख्न र रुँघालाई आफै निको पार्ने कोशिस गरिएको हुनुपर्छ ।

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

रसुवामा भीषण बाढी, स ...

रसुवा । रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]