विश्वमा फैलिएको कोरोना भाइरस संक्रमणको प्रभाव नेपालमा पनि परेको देखिन्छ । नेपाल सरकारले समयमा सजगता नअपनाउँदा कोरोना भाइरसको संक्रमण समुदायसम्म फैलन गएको अवस्था छ । कोरोना भाइरसको उपचारको औषधी अहिलेसम्म बनेको छैन । कोरोना भाइरसको खोप अमेरीका, चिन लगायतका देशहरुले बनाउन लागेका छन् खोपको परिक्षण भै रहेको छ । खोपको प्रयोग भएर नेपालमा आउन धेरै समय लाग्ने देखिन्छ । कोरोना भाइरसको चरित्रलाई हेर्दा यो सरुवा रोग भएको र कोरोना भाइरस एक अर्कामा हात मिलाउँदा, अंकमाल गर्दा तथा अन्य हिसाबले एक जनाबाट अर्को जनामा सर्ने भन्ने विशेषज्ञ डाक्टरहरुबाट जानकारी हुन आएको छ । कोरोना भाइरसको संक्रमण भयो भन्दैमा मानिस मरि हाल्ने, नबाँच्ने जुन किसीमको हल्ला फिजिएको छ यो गलत हो । चिन, अमेरीका, अष्ट्रेलिया, भारत, इटाली आदि देशको अवस्थालाई हेर्दा कोरोना संक्रमणमा संक्रमितहरु सबैको मृत्यू भएको पाइदैन ।
संक्रमितहरु जो अन्य विमारले ग्रसित छन् अर्थात ७० वर्ष भन्दा बढी उमेरका मानिसहरु जो विभिन्न रोगबाट ग्रसित छन् त्यस्ता मासिनहरु कोरोना भाइरससंग लड्न नसकेर अर्थात रोग प्रतिरोधात्मक क्षमता कम भएका कारण मृत्यू हुने गरेको पाइन्छ । सरसर्ति हेर्दा संक्रमितहरु मध्ये ५÷७ प्रतिसतको मृत्यू हुने गरेको अन्य सबै निको भएर घर फर्केका छन् । कुनै कुनै देशमा त कोरोनाको संक्रमणको भयले आत्तिएर पनि मानिसहरुको मृत्यू भएको पाइन्छ । मानिसले कोरोना भाइरस संक्रमण भए पनि म कोरोना भाइरस संग लड्न सक्छु भनेर हिम्मत लिएमा र भाइरस संग लड्ने गरि रोग प्रतिरोधात्मक क्षमता बढाएमा कोरोना भाइरसलाई सहज रुपमा परास्त गर्न सकिन्छ भन्ने हाल सम्मका घटनाक्रम, स्वाव परिक्षण रिपोर्ट आदीबाट जानकारी हुन आएको छ ।
कोरोना भाइरसको संक्रमण भयो भनेर आत्तीने गर्नु भएन र अपनाउनु पर्ने सुरक्षा अपनाएमा कोरोना भाइरसले खासै असर पार्दैन भन्ने कुरा दक्षिण कोरियाबाट सिक्न सकिन्छ । चिनको उहान पछि दोश्रो संक्रमण भएको मुलुक दक्षिण कोरिया भएको र दक्षिण कोरियाले लकडाउन नगरीकन देशलाई कोरोना भाइरसको संक्रमणबाट मुक्त बनाउन सक्यो । दक्षिण कोरियाले कोरोना भाइरस संक्रमण भएको समयमा निर्वाचन समेत सम्पन्न गरेको उदाहरण विश्व सामु घाम जत्तीकै छर्लङ्ग भएको छ । संख्यात्मक रुपमा हेर्दा इटालीमा करिव ६ करोड जनसंख्या भएको मुलुकमा ३० हजारको हाराहारीमा मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएर मृत्यू भएकोमा इटालीमा अधिकाँश जेष्ठ नागरिकको मृत्यू भएको भन्ने संचार माध्यम तथा सामाजिक संजालहरुबाट जानकारी हुन आएको छ । त्यसैगरि अमेरीकामा बृद्धा आश्रममा कोरोना भाइरस संक्रमण भएका कारण त्यतिधेरै मानिस संक्रमित भइ मृत्यू भएको अवस्था छ । विश्वका विभिन्न देशहरुमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको आँकडालाई हेर्दा संक्रमितको तुलनामा मृत्यू हुनेको संख्या न्यून रहेको छ ।
नेपालमा कोरोना भाइरसको परिक्षण तथा उपचार दृष्टि बिहिनले हात्ती छामेर हात्तीको स्वरुप बयान गरे जस्तो छ । दुष्टी बिहिन एकजनाले हात्तीको कान छामे छन् हात्तीको कान ठ्रूलो जस्तो लाग्यो र नाङ्लो जस्तो लागेर हात्ती नाङ्लो जस्तो छ भनेछन् । अर्का दृष्टिविहिनले हात्तीको खुट्ला छामेछन् उनलाई हात्तीको खुट्टा घरको खाँबो जस्तो लागेछ र उनले हात्ती भनेको खाबो जस्तो हुँदो रहेछ भन्ने बुझेछन् । त्यस्तै अर्कोले अर्कै अंग छामेर अर्कै अडकल गरेछन् । नेपाल सरकराले कोरोना भाइरसको परिक्षण र स्वास्थ्योपचार पनि त्यस्तै भएको छ । सिन्धु पाल्चोककी सुत्केरी महिला कोरोना भाइरसको संक्रमणका कारण मृत्यू भयो भनियो तर उनको बच्चामा कोरोना भाइरस देखिएन, उनको गाउमा उनलाई सुसार्नेहरु उनको संग साथमा रहने कसैमा पनि कोरोना भाइरस पाइएन, कोरोना भाइरस सरुवा रोग हो कोरोना संक्रमित संगको संसर्गबाट कोरोना भाइरस सर्छ भनिन्छ तर सिन्धुपाल्चोककी महिलाको हकमा के भएको हो कोरोना भाइरस किन नसरेको हो अचम्मको विषय बनेको छ । एक जना युवा कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएकोमा ती युवाको स्वास्थ्य परिक्षण हुन पाएन क्वारेन्टाइनमा रहेको अवस्थामा उनलाई विमारले चाप्यो उनलाई तत्काल भेण्टीलेटरमा लगिएन कुनै डाक्टरले जाँच गर्ने काम भएन उपचारको अभावमा ती युवाको क्वारेन्टाइनमा बस्दाको अवस्थामा नै मृत्यूभयो । क्वारेन्टाइनमा राखिएका ती युवालाई आवस्यकता अनुसार उपचार गर्ने जिम्मेवारी सरकारको हो । एउटा साधारण परिवारको मानिस जसको सोर्सफोर्स थिएन जस्ले आप्mना कुरा मजबुत ढंगले राख्न सकेनन्, आफुलाई विमारले चापेको कुरा जानकारी गराउँदा कहीबाट सुनवाई भएन । आखिर उनले बेदना सहेर कक्रेर क्वारेन्टाइनमा नै देह त्याग गर्नु प¥यो । कोरोना संक्रमित जनताको स्वास्थ्योपचारको जिम्मेवारी नेपाल सरकारले बहन गर्न नसकेको यो ज्वलन्त उदाहरण हो । क्वारेन्टाइनमा रहेका विरामीको समयमा उपचार गर्न सकिदैन भने सरकारले क्वारेन्टाइनमा किन राख्ने ? यति विध्न क्वारेन्टाइन किन बनाउने । क्वारेन्टाइनको अर्थ निगरानी हो नेपाल सरकारका अधिकारीहरुको निगरानीमा रहेका विरामीलाई विमारले चापी पछि आवश्यक उपचार पाउने पर्छ तर विडम्बना क्वारेन्टाउनमा ती युवाको उपचारको अभावमा निधन भएको छ । क्वारेन्टाइनमा खोई राज्यको उपस्थिति, खोई स्वास्थ्यकर्मी, आइसोलेसन, भेन्टीलेटर के का लागि हो ? मन्त्रीका आफन्त नातेदार, बोलावाला, ठूला बडा, पहूँचवालालाई मात्र भेण्टीलेटरमा राखिने हो । उपचार गर्दा गर्दै मृत्यू हुनु र उपचार नै नपाउनुमा धेरै अन्तर छ । आगामी दिनमा सरकारबाट यस्ता गल्ती कमि कमजोरी दोहरीनु भएन । जनताले तिरेको ट्याक्सबाट अरबौं रुपैया कोरोना उपचारको लागि भनेर खर्च गरिएको छ उपचारको अभावमा कुनै पनि मानिस कक्रेर मर्छ भने जनता चुप लागेर बस्नु भएन जनताले सरकारलाई सबक सिकाउनु पर्ने समय आएको छ ।
कोरोना भाइरसले जेष्ठ नागरिकको मात्र ज्यान लिन्छ युवा तथा जबानहरुलाई केही हुदैन भन्ने जुन हल्ला छ ती हल्ला पनि मिथ्या प्रमाणित भएका छन् । १०३ वर्षकी बृद्धाले कोरोना भाइरसलाई जितेर निको भएर घर फर्केको र केही २५÷२६ वर्षका युवाहरु ३५÷४० वर्षका तन्नेरीहरुको पनि मृत्यू भएको अवस्था छ । चिनी रोग, क्षयरोग, किड्नीको समस्या आदी दीर्घ रोगीहरुलाई कोरोना भाइरस संक्रमण भएमा मृत्यू हुने खतरा अधिक रहेको विशेषज्ञहरुको विश्लेषणले देखाएको छ ।
कोरोना भाइरस रोग चिनको उहान प्रान्तबाट फैलिएको र एक पछि अर्को हुँदै विश्वका २ सय भन्दा बढी देशमा कोरोना भाइरस फैलिएको अवस्था छ । यो लेख तयार पार्दाको समय सम्म विश्व स्वास्थ्य संगठनको अभिलेख अनुसार विश्वमा ५२ लाख २५ हजार ९ सय १६ भन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । ३ लाख ३८ हजार ४ सय ३३ जनाको कोरोना भाइरसकाकारण मृत्यू भएको छ । २० लाख ६७ हजार ५ सय ७४ जना कोरोना भाइरससंग लडाई लडेर निको भइ घर फर्केका छन् । नेपालको सन्दर्भमा कोरोना भाइरसबाट संक्रमित ५८४ जना, मृत्यू भएका ३ जना र कोरोना भाइरस संगको लडाईमा जितेर निको भइ ७१ जना घर फर्केका छन् ।
कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायहरुमा साबुन पानीले पटक–पटक हात धुने, ह्याण्डसेनिटाइजर प्रयोग गर्ने, गुणस्तरीय मास्क लगाउने कोरोना भाइरस लागेकाबाट बचेर हिड्ने । हिड्दा वा काम गर्दा सामाजिक दृुरी कायम गर्ने जस्ता डाक्टरहरुको सल्लाहको पालना गरिएमा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिने छ । कोरोना भाइरस मात्र होइन प्लेग, डेंगु, प्mलूजस्ता विभिन्न रोगबाट बच्न पनि पटक–पटक साबुन पानीले हात धुनु, ह्याण्ड सेनिटराइज प्रयोग गर्नु सामाजिक दुरी कायम गर्नु उपयुक्त मानिन्छ ।
हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढेमा कोरोना भाइरस जस्ता अन्य रोगहरु संग लड्न सकिने भएकाले हामीले के कस्ता पोषिला कुराहरु के कति मात्रामा खाने के कस्ता कुराहरु नखाने आप्mनो शरीरमा के कुन तत्वको कमी छ ती तत्वहरु बढाउन के कस्तो खाने कुरा खानु पर्छ आदी कुरामा ध्यान राख्नु पर्छ । सधै स्वस्थ्य रहने, पोषिला वस्तुहरु खाने अथवा शरीरमा कुन तत्वको अभाव छ त्यसको आपूर्ति के बाट हुन्छ यस तर्फ ध्यान दिनु पर्छ । हामीले हाम्रो दैनिक जीवनमा खाने कुराहरुमा अर्थात खानपिनमा ध्यान दिनाले धेरै जसो रोगहरुबाट बच्न सकिन्छ । नेपालमा औषधी जन्य जरिबुटीहरु धेरै छन् जसलाई हामीले कुनै न कुनै खाने कुराको रुपमा खाने गरेका छौ । हाम्रो भान्सामा उपलब्ध वस्तुलाई निरन्तरता दिदै उपलब्ध नभएका बस्तुहरु आयुर्वेद विशेषज्ञहरु संग सल्लाह लिई शरीरलाई आवश्य पर्ने तत्वहरु पाइने चिजविजहरु खोजेर, उत्पादन गरेर पनि प्रयोग गर्नु पर्छ । विभिन्न जडिबुटीको उपयोग गर्नाले हाम्रो शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढ्ने छ । यसरी हाम्रो शरीरलाई आवश्यक पर्ने विभिन्न तत्वहरुको परिपूर्ति गरेर पनि हाम्रो शरीरलाई चाहिने विभिन्न तत्वहरु पुरा गर्न सकेमा प्रतिरोधात्मक शक्तिमा बृद्धि हुने छ । जसले गर्दा कुनै पनि रोग भरसक लाग्ने छैन लागि हाले पनि हाम्रो शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमताले काम गर्न सक्ने भएकाले त्यस्ता विभिन्न रोगहरुबाट सहज रुपमा बच्न सकिन्छ ।
सरकारले कोरोना भाइरसको संक्रमणबाट बचाउन लकडाउन गरेको छ । लकडाउनका कारण मजदुरले पेट भरी खान पाएका छैनन् । किसानले उत्पादन गरेको सागसब्जी तरकारी बारीमा खेर गएको छ मानिसले किनेर खान्छु भन्दा पनि पाएको छैन । पशुपालकहरुले लकडाउनका कारण दुध तथा दुग्धबाट बनेका विभिन्न परिकारहरु प्mयाक्नु परेको छ, यता उपभोक्ताहरुले भने पैसा तिरेर किन्न पाएका छैनन् । यो त एउटा उदाहरणमा मात्र हो यस्ता धेरै समस्याहरु छन् । विद्यार्थीले पढ्न पाएका छैनन्, लकडाउनका कारण अदालतले मुद्दा नहेरेका कारण धेरै मानिसले अन्याय सहनु परेको छ । लकडाउनको मौका छोपेर केही भ्रष्ट चरित्रका प्रहरी, सरकारी वकीलहरुले लकडाउनलाई कमाउने मौकाका रुपमा लिएका घटनाहरु जानकारीमा आएका छन् । लकडाउनमा तस्करहरुले तस्कर गरिरहेका र असारको क्लोजिङको समय आएकोेले कर्मचारीले बजेटको शीर्षक रकमान्तर गरेर वा अन्य ढंगले मिलाएर रकम कुम्ल्याउने गरेको । विकास निर्माणका कार्यहरुमा निर्माण कार्य नगरे पनि गरेको भनेर अर्थात खर्च नगरी कन कागजी रुपमा खर्च गरेको देखाएर बजेट सक्ने मेलो गरिएको भन्ने जनगुनासाहरु धेरै आएका छन् । सरकारले कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न डाक्टरलाई चाहिने पीपीई, माक्स, पञ्जा आदि स्वास्थ्य सामग्री तथा स्वास्थ्य उपकरणहरु ल्याएर जनताको स्वास्थ्य परिक्षण बढाउने हो । कोरोना भाइरस नियन्त्रणको माध्यम लकडाउन हुन सक्दैन स्वाव परिक्षण र उपचार हो । लकलाउनले संक्रमण फैलिन कम हुन्छ भन्दैमा जनताका जन्मजात अधिकार खोसेर जनतालाई पिजडामा राख्न मिल्दैन । अर्को कुरा लकडाउन गरे पछि परिवार संख्या हेरेर सन्तुलित भोजनका लागि के कति सामान राहतका लागि वितरण गर्नु पर्छ त्यसको अभिलेख उतार गरेर राहत वितरण गर्नु पर्छ । धेरै नेपालीहरु राहत नपाएको राहत पाए पनि ६ जनाको परिवारका लागि १० किलो चामल आधा केजी दाल, एक पोका नुन मात्र पाएको भन्ने गुनासाहरु आउने गरेको छ । सरकारले कुपोषणबाट पनि मानिसको मृत्यू हुन्छ भन्ने कुरा हेक्का राख्न आवश्यक छ । लकडाउन गर्ने हो भने कति सयम लकडाउन गर्ने हो सो समयलाई पुग्ने गरि परिवार सदस्यको संख्या हेरेर दाल, चामल, दुध, फलफुल, तरकारी, हरियो सागसब्जी आदी पोषिला तत्वहरु सहितको राहत दिन सक्नु पर्छ । हाम्रो शरीरलाई आवश्यक पर्ने विभिन्न तत्वहरुको परिपूर्ति गर्न चामल र दाल मात्र पर्याप्त हुदैन । सरकारले भर सक लकलडाउन गर्नु भएन गर्नै पर्ने भए जनतालाई आवस्यक मात्रामा सन्तुलित भोजनको मात्रा पुग्ने गरी खाद्य विज्ञहरुको सल्लाह अनुसार सबै वस्तु राहतमा उपलब्ध हुनु पर्छ । ५ जनाको परिवारलाई २ किलो चामल दिएको फोटो खिचाएर राहत वितरण गरेका फोटाहरु फेस बुकमा धेरै आएका छन् । राहत पाउनेलाई कम्तिमा लज्जाबोध नगराऔं, राहत सामग्री खरिदमा जनप्रतिनिधि, कर्मचारीले कमिसन लिने गरेको, कम गुणस्तरका वस्तुहरु राहतमा वितरण गरेको भन्ने कुराहरु पनि सुन्नमा आउने गरेको पाइन्छ । केही स्थानीय तहले मजदुर वर्गलाई एक परिवार एक रोजगारको कार्यक्रम ल्याएका छन् वास्तवमा राहत विरतण गर्नु भन्दा त्यस्ता नयाँ कार्यक्रम ल्याउनु पर्छ । केही व्यक्तिहरुको भनाई यो पनि रहेको छ की राहत वितरण गर्नु भन्दा राहत पाउने हरुको अभिलेख उतारेर किस्ता किस्तामा ऋण स्वरुप रकम दिने सरकारले काम दिन सकेमा काम गरेको तलवबाट ऋण रकम कट्टा गर्ने काम दिन नसकेमा ऋण मिनाहा माफी गर्ने गरिएमा जनप्रनिधिहरु, कर्मचारीहरु विवादमा पर्ने थिएनन् । राहत पाउनेले सरकारले खटाएको ५ किलो चामले ५ जनाको परिवारलाई पु¥याउनु पर्ने बाध्यता हुने थिएन । स्थानीय तह तथा संघिय सरकारले हाल उपलब्ध गराएको राहत भनेको टाटोमार्नेकाम हो त्यसलाई राहत भन्न मिल्दैन । नेपालको सन्दर्भमा भन्नु पर्दा लकडाउन आवश्यक छैन सक्दो चाँडो लकडाउन अन्त्य गर्नु पर्छ । लकडाउन गर्नै पर्ने जसको घरमा खानाको समस्या छ उसलाई सरकारले सन्तुलित भोजन वितरण गर्नु पर्छ दाल, चामल र नुन दिएर झारो टार्न मिल्दैन । राहत लिने जनताले पनि चामल, दाल, तेल र नुन पाएँ भन्दैमा मख्ख पर्ने होइन सागसब्जी, गेडागुडी, दुध, माछामासु आदी भान्सामा दैनिक रुपमा चाहिने वस्तुहरु पोषिला वस्तुहरु तथा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने खालका वस्तुहरु माग गर्नु पर्छ । दाल, भात र नून मात्र खाएर जनता कोरोना भाइरस संग लड्न सक्दैनन् पोषिला पदार्थ खान नपाएको खण्डमा रोग प्रतिरोधात्मक क्षमता कम हुन जाने भएकाले भाइरस संक्रमित हुना साथ निधन हुने खतरा बढ्ने छ । सरकारले वितरण गरेको राहतको अवस्था र कोरोना भाइरसको संक्रमणको वर्तमान सन्दर्भलाई हेर्ने हो भने लकलाडउन भनेको धनाढ्य वर्गको हितमा र मजदुर वर्गको अहितमा रहेको देखिन्छ । अस्तु ।