मुस्कुराइरहेको प्रकृतिको भूस्वर्ग बोया

  • भदौ २६, २०८३ / नेपाल रेखा
alt

–विजय खतिवडा
प्राकृतिक सौन्दर्य, जैविक विविधता र मौलिक नेपाली भूगोलको अद्वितीय संगम हो षडानन्द नगरपालिका वडा नं १३ र १४ मा फैलिएको ‘बोया । ’
दक्षिणतर्फ ढल्किएको भूगोल, बिहान झुल्केघामको पहिलो स्पर्शसँगै देखिने सूर्योदय, हरियाली वनजङ्गल अनि नखुवा र याङ्वा दुई पवित्र खोलाको काखमा अवस्थित यो भूमि प्रकृतिको अनुपम उपहार हो । यहाँ प्राकृतिक दृश्यावलोकनका लागि कुनै कृत्रिम भ्यूटावरको आवश्यकता पर्दैन; डाँडाकाँडाका हरेक थुम्का आफैँमा भ्यूटावर हुन् । तर, पर्यटकीय र हावापानीका दृष्टिले स्वर्गीय आनन्द दिने यो भूभाग विकास पूर्वाधार र राज्यको नजरबाट भने लामो समयदेखि उपेक्षित छ । यही भौगोलिक विकटता र अभावका कारण आज पनि बोयालाई ‘भोजपुरको कर्णाली’ का रूपमा चिनिन्छ ।

सडकको सास्तीलाई विर्साइ दिने बोया

बोयाको सबैभन्दा ठूलो पीडा यहाँको सडक सञ्जाल हो । सार्वजनिक सवारी साधनको चरम अभाव त छँदै छ, भएका सडक पनि कच्चा ट्रयाकका भरमा मात्र सीमित छन् । ग्राभेल, ढुङ्गा–गिट्टी बिछ्याएको कर्रा सडक वा कालोपत्रेको सपना त यहाँका बासिन्दाका लागि अझै धेरै टाढाको विषय बनेको छ ।

हेलौंछा, डाँडा बोखिम, याङपाङ, साङपाङ, किमालुङ र घारा हुँदै आउने सडकहरू केवल ट्रयाक मात्र हुन् । यी मार्गहरूमा उत्तीसको काठ ढुवानी गर्ने ट्याक्टरहरू निरन्तर चल्दा बनेका गहिरा चक्काका खाल्डाले गर्दा अन्य साना वा मझौला सवारी साधन गुडाउनै नसक्ने अवस्था छ । वर्षायाम सुरु भएपछि त सडक हो कि रोपाइँ गर्न तयार पारिएको खेत छुट्याउनै मुस्किल पर्छ । चारै चक्कामा पावर लाग्ने फोरह्वील स्कारपियो समेत गुड्न नसक्ने यो बाटोमा स्थानीयका केही बोलेरो जिपले निकै जोखिम मोलेर सेवा दिने गरेका छन् । मोटरसाइकलसमेत हिलोमा फस्ने भएकाले स्थानीय बाहेक बाहिरका चालकहरू यहाँ सवारी साधन लिएर आउनै मान्दैनन् । बाह्रै महिना यातायातको यस्तो सास्ती भोग्नु बोयावासीको बाध्यता बनेको छ । तर पनि पर्यटकीय दृष्टिले प्रकृतिको भूस्वर्ग बोया भएकोले त्यहाँ पुगिसकेपछि देखिने सुन्दरताले पुग्दाको सबै सास्तीलाई विर्साइ दिन्छ ।
हावापानीको विविधतामा जुका लाग्ने लेकदेखि नलाग्ने बेंसीसम्म

बोयाको भौगोलिक बनावट पनि रोचक छ । माथिल्लो भाग षडानन्द नगरपालिका वडा नं १३ मा पर्छ भने तल्लो भाग वडा नं १४ मा । स्थानीय भाषामा भन्नुपर्दा, चिसो र ओसिलो हुने भएकाले वडा नं १३ जुका लाग्ने क्षेत्र हो भने तुलअयमभम रूपमा न्यानो वडा नं १४ जुका नलाग्ने क्षेत्र हो ।

वडा नं १३, डाँडाकाँडा, पोखरी र धार्मिक पहिचान

करिब २,००० मिटरको उचाइमा रहेको सबैभन्दा अग्लो स्थान देवीडाँडाबाट सुरु हुने वडा नं १३ लेकाली सौन्दर्य र ऐतिहासिक–सांस्कृतिक महत्त्वले भरिपूर्ण छ । यहाँ तेर्सेबर्से, भीरथाप्ला (धारा डाँडा), घुरबीसे, ऐतिहासिक रानीपानी (रानीको पाइला), महभीर, हर्कटे, रमिते, धार्मिक महत्त्वको एकराते साल्पा पोखरी, कोक्रे कुवा, भालुखोप, तारेभीर, ख्याक, रेवा, नागदह, खिल्नु, मालबाँसे, लुलठुङ्गा, पोपुङ्ला, ओखरबोटे, भवितव्ये, झ्याम्टेढुङ्गा, काँक्रेपोखरी र माथ्लोपोखरी जस्ता अद्वितीय थलोहरू छन् ।

यसैगरी माथ्लो पाताल क्षेत्रभित्र पर्ने टोड्के, कटुवाल डाँडा, सरस्वती प्रावि, बोल्ने ढुङ्गा र छेलो हाल्ने ठाउँहरू स्थानीय जनजीवन र संस्कृतिका साक्षी हुन् । अगाडि बढ्दै जाँदा भेटिने बिब्ल्याटे, साउने डाँडा, सती चौतारा (खानेपानी ट्याङ्की), ओडारे, खरबारी डाँडा, बौद्ध धर्म र ध्यानको केन्द्र वेठीस्वाराँ (गुम्बा डाँडा), हवल्दार टोल, दमाइ चौतारो, सोती बारी (गुम्बा टोल), प्राकृतिक आकर्षणले भरिएको तल्लो पाताल जहाँ बाघखोर र बाघे झरना छन्, स्याङ्बा टोल, घोसेपाखा, राईडाँडा, ढाँडेपाताल, झिगनी वन (नेपाने) र माङ्सिङ्टारले यहाँको सौन्दर्य थपेका छन् ।

विविध समुदायको बसोबास रहेको घलेगाउँ क्षेत्रमा तीनधारे, ठूलढुंगा (वरढुंगा), गैरी, भञ्ज्याङ, मगर गाउँ, होमदाक र कैजले पर्दछन् । त्यस्तै क्यामुना, रानाडाँडा, मानेडाँडा, जिम्मा डाँडा, मुखिया टोल, सोल्माली गैरो, सिलसिले ढुङ्गा, बाक्सिले, सिंगारा टोल, साहसिक मानेभीर (डोल्मी भीर), बेखम्छा, तेर्सोलङ (माझ बेखम्छा), ताकमारे, सिरवानी डाँडा, ठाडो चौतारो र सौंदल बारीसम्म पुग्दा १३ नम्बर वडाको समृद्ध भूगोल झल्किन्छ ।

वडा नं १४ भनेको न्यानो भूगोल, नदी किनार र मौलिक बस्ती

वडा नं १३ सँग सिमाना जोडिएको बेखम्छाबाट सुरु भई धार्मिक स्थल चण्डिथान, मुलाबारी (याङ्वापुल), याबारी, झोलुङ्गे पुल रहेको तेलाहा, दुम्सीगौंडे, ल्यामल्याम खोला (भीर), दाम्ली, सातबोटे, सेरमातिङ, दिलुङ्खा, देवीथान, प्राकृतिक भौगोलिक विषमतायुक्त चुलढुङ्गा (ठूलो पहिरो), नर्कटे, च्यानडाँडा (वन), विश्रामस्थल रमिते (घुमाउने चौतारो), सिलढुङ्गा, देशी ढुङ्गा, रानाडाँडा, माझन टोल, सुरक्षा र समन्वयको केन्द्र राईडाँडा (चौकी), स्वाँगीडाँडा, बजार लाग्ने बिहीबारे (भञ्ज्याङ), पाँचेगाउँ, ज्यामिरे, ताप्रे, केरावारी, धुसुने, सङ्दले डाँडा, खानडाँडा, भर्लाबोट, खमारे, पित्तिम, ऐतिहासिक ठाँटी, खानटार, समथर डुँडेबेंसी, तुमाङ, खत्रीगाउँ, बूढी चौतारो, नाङ्खिला, चरम्बीडाँडा, ताका भञ्ज्याङ्, स्वाँरा टोल, जोगी बस्ती, खाताम्छाली टोल, चेकालुङ, बान्टुङडाँडा, कटहरे, ढाँडे टिमुरे, सल्ले, पानीको मुहान भुल्के र क्यामुनासम्म वडा नं १४ फैलिएको छ ।

उपेक्षा चिरेर समृद्धिको बाटो रोज्दै

बोयाका गाउँ, टोल, खोलानाला, भीरपहरा र पोखरीका नामहरूले नै यहाँको मौलिक नेपालीपन, किराँती तथा खस–आर्य संस्कृति र प्रकृतिसँगको घनिष्ठ सम्बन्धलाई स्पष्ट पार्छन् । पर्यटकीय, धार्मिक र वातावरणीय हिसाबले स्वर्गको टुक्रा जस्तो लाग्ने यो भूमि केवल भरपर्दो सडक सञ्जाल नहुँदा आज पनि पछाडि परेको छ ।

बोयालाई सधैँ ‘भोजपुरको कर्णाली’ को अभावग्रस्त परिचयमा मात्र सीमित राख्न सकिँदैन । जबसम्म यहाँको कच्चा ट्रयाकलाई ग्राभेल र बाह्रै महिना चल्ने पक्की सडकमा परिणत गरिँदैन, तबसम्म यहाँको अतुलनीय कृषि, जडीबुटी र पर्यटनको सम्भावना उजागर हुन सक्दैन । स्थानीय तह र राज्यको नेतृत्वले अब बोयाको यो स्वर्गीय भूगोललाई कालोपत्रे सडक सञ्जालसँग जोडेर यसको वास्तविक समृद्धिको ढोका खोल्न ढिलाइ गर्नु हुँदैन ।

बोयाको ऐतिहासिक तथा प्रशासनिक साङ्पाङ्गो विकासक्रम

पूर्वी नेपालको ऐतिहासिक माझकिरात (खम्बुवान) क्षेत्रमा अवस्थित बोया उत्तरी भोजपुरको सांस्कृतिक, धार्मिक र प्रशासनिक दृष्टिले एक अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक बस्ती हो । वीरशमशेरको समयभन्दा अघि यो क्षेत्र ऐतिहासिक माझकिरात क्षेत्रका रूपमा चिनिन्थ्यो । राणा प्रधानमन्त्री वीरशमशेरले वि.सं. १९५२ मा प्रशासनिक सहजीकरणका लागि देशलाई ३२ क्षेत्र (गौँडा) मा विभाजन गर्दा यो क्षेत्र पूर्वी पहाडको प्रमुख प्रशासनिक केन्द्र भोजपुर गौँडा अन्तर्गत परेको थियो । मालपोत असुली र प्रशासनिक नियन्त्रणका लागि भोजपुर गौँडालाई विभाजन गरिएका ६ वटा थुमहरू (हतुवा, पौवा, सिक्तेल, खिखामाछा, फालि र दुङमा) मध्ये बोया उत्तरी क्षेत्रको प्रमुख फालि थुम अन्तर्गत कायम भयो ।

वि.सं. २००७ को प्रजातन्त्र स्थापनापछि मातृकाप्रसाद कोइरालाको मन्त्रिमण्डलले वि.सं. २००९ वैशाख २४ गते देशलाई ३५ प्रशासनिक क्षेत्रमा परिमार्जन गर्दा भोजपुरलाई पूर्व ४ नम्बर भोजपुर नामकरण गरियो, जहाँ बोया साविक बमोजिम नै पूर्व ४ नम्बर भोजपुरको फालि थुम अन्तर्गत एक प्रमुख बस्तीका रूपमा रह्यो ।

राजा महेन्द्रले वि.सं. २०१९ वैशाख १ गते देशलाई १४ अञ्चल र ७५ जिल्लामा रूपान्तरण गरेपछि पूर्व ४ नम्बर गौँडा विघटन भई आधुनिक भोजपुर जिल्ला कायम भयो । सोही वर्ष भोजपुर जिल्लालाई ६३ वटा गाउँ पञ्चायतमा विभाजन गर्ने क्रममा बोया गाउँ पञ्चायतको गठन भयो । सुरुमा भोजपुर जिल्ला सगरमाथा अञ्चल अन्तर्गत राखिएकोमा वि.सं. २०२६ सालमा अञ्चलहरूको भौगोलिक सिमाना समायोजन गर्दा भोजपुरलाई सगरमाथाबाट झिकेर कोशी अञ्चलमा स्थानान्तरण गरियो ।
वि.सं. २०४६ को जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्रको पुनर्वहालीसँगै वि.सं. २०४७ मा पञ्चायत शब्द हटाई यसलाई बोया गाउँ विकास समिति (गाविस) बनाइयो र १ देखि ९ वडाहरूमा विभाजन गरी स्थानीय शासन सञ्चालन गरियो ।

नेपालको नयाँ संविधान (२०७२) अनुसार स्थानीय तहको पुनर्संरचना गर्दा नेपाल सरकारको वि.सं. २०७३ फागुन २७ गतेको निर्णय अनुसार साविकका बोया, नेपालेडाँडा, कुदाककाउले, साङपाङ, देउराली लगायतका गाविसहरूलाई समेटेर षडानन्द नगरपालिकाको घोषणा गरियो । २९.९६ वर्ग किलोमिटर क्षेत्रफल र राष्ट्रिय जनगणना २०६८ अनुसार २,९६८ जनसङ्ख्या रहेको साविक बोया गाविसलाई षडानन्द नगरपालिकाको दुई वटा वडामा विभाजन गरियो । जस अनुसार साविक ५, ६, ७ र ९ नम्बर वडा समेटेर माथिल्लो भेगको वडा नं. १३ र साविक १, २, ३, ४ र ८ नम्बर वडा समेटेर तल्लो भेगको वडा नं. १४ कायम गरियो ।

यसरी ऐतिहासिक फालि थुम, पूर्व ४ नम्बर भोजपुर, सगरमाथा तथा कोशी अञ्चलको बोया गाउँ पञ्चायत र बोया गाविस हुँदै यो क्षेत्र हाल सङ्घीय ढाँचा अनुसार षडानन्द नगरपालिकाको वडा नं. १३ र १४ का रूपमा स्थापित छ । वडा नं १३ को केन्द्र मुख्याटोलमा र १४ को बिहीबारे बजार (भञ्ज्याङ) मा छ ।

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

अपर त्रिशूली बाढीमा ...

धरान । भाद्र १० गते आएको अपर त्रिशूलीको बाढीमा बेपत्ता ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्य ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]