सामाजिक, सांस्कृतिक तथा निजामती सेवामा लामो अनुभव हासिल गर्नुभएका शान्तिबहादुर अधिकारी केही वर्षयता कात्स्यव गोत्रीय अधिकारी प्रतिष्ठान कोशी प्रदेश अध्यक्षका रूपमा सक्रिय हुनुहुन्छ । उहाँसँग हाम्रो अनलाइन मिडिया नेपाल रेखा डटकमका लागि सहयोगी सुधिर केसीले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।
प्रश्न – नेपाल रेखाको तर्फबाट यहाँलाई हार्दिक स्वागत छ । सर्वप्रथम आफ्नो परिचय र पृष्ठभूमिबारे बताइदिनुहोस् ।
उत्तर – धन्यवाद । म सबै मिडिया परिवारलाई नमस्कार व्यक्त गर्दछु । मेरो जन्म वि.सं. २०२८ साल मंसिर २८ गते मोरङ जिल्लाको साविक कानेपोखरी गाविस–१ (हाल कानेपोखरी गाउँपालिका–५) मा बुबाधनबहादुर अधिकारी र आमा रत्नकुमारी अधिकारीको माहिलो छोराका रूपमा भएको हो ।
मैले गाउँकै जनसेवा माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेँ । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेँ । वि.सं. २०५५ सालदेखि निजामती सेवामा प्रवेश गरी हाल इटहरीस्थित सवारी परीक्षण शाखामा नायब सुब्बा पदमा कार्यरत छु । सरकारी सेवासँगै सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पनि सक्रिय रूपमा काम गर्दै आएको छु ।
प्रश्न – तपाईं कुन–कुन सामाजिक संस्थामा आबद्ध हुनुहुन्छ ?
उत्तर – म अधिकारी वंशज प्रतिष्ठान सुनसरीको अध्यक्षका रूपमा काम गरिसकेको छु । त्यसपछि केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएँ । हाल कात्स्यव गोत्रीय अधिकारी प्रतिष्ठानको कोशी प्रदेश अध्यक्षका रूपमा कार्यरत छु ।
प्रश्न – तपाईंहरूको संस्थाको मुख्य उद्देश्य के हो ?
उत्तर – हाम्रो संस्थाको मुख्य उद्देश्य नेपाल तथा विश्वका विभिन्न देशमा बसोबास गर्ने कात्स्यव गोत्रीय अधिकारीहरूलाई एकताबद्ध गर्नु हो । साथै वंश, कुल, संस्कार, कुलपूजा, परम्परा र सांस्कृतिक मूल्य–मान्यताको संरक्षण तथा प्रवद्र्धन गर्नु पनि हाम्रो प्राथमिकता हो ।
यसका अतिरिक्त रक्तदान, वृक्षरोपण, पाटी–पौवा निर्माण, सामाजिक सेवाका कार्य, दुःख–सुखमा सहयोग, विपन्न परिवारलाई आवश्यक सहयोग तथा सामाजिक कार्यहरू पनि गर्दै आएका छौँ ।
हामी कात्स्यव ऋषिका सन्तान भएकाले आफ्नो इतिहास, वंशावली र तथ्यहरूको खोज–अनुसन्धानमा पनि निरन्तर लागिरहेका छौँ । यस अभियानमा हाम्रो संस्थाका अध्यक्ष नरेन्द्रकुमार अधिकारीको विशेष योगदान रहेको छ । सबैको सामूहिक प्रयासबाट हामीले विस्तृत वंशावली ग्रन्थ पनि प्रकाशित गरिसकेका छौँ ।
प्रश्न – आगामी कार्ययोजना के–कस्ता छन् ?
उत्तर – संस्थाका नियमित कार्यक्रमसँगै हाम्रो प्रमुख योजना सुनसरीको बराहक्षेत्रस्थित पवित्र भूमिमा संस्थाको कार्यालय तथा आश्रम निर्माण गर्नु हो । यसका लागि अधिकारी थरका एक उदार व्यक्तिले जग्गा दान गर्नुभएको छ । अब त्यहाँ आवश्यक भौतिक संरचना निर्माण गर्ने तयारीमा छौँ ।
प्रश्न – सरकार वा स्थानीय तहबाट कस्तो सहयोग प्राप्त भइरहेको छ ?
उत्तर – सरकार तथा स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य भइरहेको छ । तर हालसम्म आर्थिक सहयोग लिएका छैनौँ । संस्थाका सदस्यहरूको सदस्यता शुल्क, वार्षिक सहयोग, विशेष दान तथा विभिन्न कार्यक्रम–जस्तै तीज, वार्षिकोत्सव, पिकनिक, क्यालेन्डर प्रकाशन र चाडपर्वका अवसरमा हुने सहयोगबाट संस्थाका गतिविधिहरू सञ्चालन गरिरहेका छौँ ।
प्रश्न – अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
उत्तर – मलाई मेरो व्यक्तिगत तथा संस्थागत गतिविधिबारे तपाईंहरूको लोकप्रिय मिडियामार्फत आफ्ना विचार राख्ने अवसर दिनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
सम्पूर्ण अधिकारी बन्धुहरूलाई संस्थामा आबद्ध भई एकताबद्ध हुन अनुरोध गर्दछु । साथै निर्माणाधीन भवनका लागि आफ्नो क्षमता अनुसार आर्थिक वा अन्य प्रकारको सहयोग गर्न आग्रह गर्दछु । हाम्रो रीतिरिवाज, संस्कार, संस्कृति र वंशीय परम्पराको संरक्षण गर्दै आफू पनि सकारात्मक रूपमा रूपान्तरण भई राष्ट्र निर्माणमा योगदान दिन सबैलाई आह्वान गर्दछु ।
प्रश्न – तपाईंको बहुमूल्य समयका लागि धन्यवाद ।
उत्तर – धन्यवाद । सम्पूर्ण पाठकमा हार्दिक शुभकामना ।