इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले साधारण शिक्षासँगै होटल म्यानेजमेन्ट र ब्युटिसियन एन्ड हेयर डिजाइन विषयको पढाई सुरु गरेको छ । विद्यालयले रोजगारमुखी विषयको अध्ययन–अध्यापन सुरु गरेपछि विद्यार्थीको आकर्षण बढेको छ ।
विद्यालयले शुक्रबार कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत र सिभिल इन्जिनियरिङ् तेस्रो वर्ष अध्ययन पूरा गरेका विद्यार्थीको बिदाइ कार्यक्रम आयोजना गर्दै व्यावसायिक शिक्षालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनायो । विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले रोजगारसँग जोडिएको शिक्षालाई प्राथमिकता दिँदै विद्यार्थीलाई सीप, ज्ञान र व्यवहारिक क्षमतासहित सक्षम बनाउने उद्देश्यले नयाँ विषय सञ्चालन गरिएको बताए ।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीताकुमारी चौधरीले सरकारी विद्यालयले समयअनुसार शिक्षाको स्वरूप परिवर्तन गर्दै विद्यार्थीलाई सीपसँग जोड्नुपर्ने बताइन्। उनले प्राविधिक तथा व्यावसायिक शिक्षाले विद्यार्थीलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने बताइन् ।
कार्यक्रममा सहभागी विज्ञ तथा विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरूले विद्यार्थीलाई केवल प्रमाणपत्र प्राप्तिका लागि नभई आफ्नो रुचि, क्षमता र सीप पहिचान गरी भविष्यको करिअर निर्माणमा केन्द्रित हुन सुझाव दिए ।
पूर्वाञ्चल विश्वविद्यालय फ्याकल्टी अफ म्यानेजमेन्टका निवर्तमान डिन प्राध्यापक डाक्टर सन्देशदास श्रेष्ठ, जनता बहुमुखी क्याम्पस इटहरीका अध्यक्ष विकास केसी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जीवन पराजुली, पूर्व राष्ट्रिय फुटबल खेलाडी सुरेन्द्र तामाङ र ब्यूटिसियन बिजुबैनी श्रेष्ठले शिक्षा, उद्यमशीलता, खेलकुद तथा व्यावसायिक सीपका क्षेत्रमा रहेका अवसरबारे विद्यार्थीलाई प्रेरणादायी अनुभव र सुझाव प्रस्तुत गरे ।
कार्यक्रममा विद्यालयमा अध्ययन गरी हाल विभिन्न सरकारी निकायमा कार्यरत पूर्व विद्यार्थीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा इटहरी उपमहानगरपालिका वडा नं. ४ का प्राविधिक युवराज तिवारी, ग्रामथान गाउँपालिका मोरङकी प्राविधिक वर्षा ढकाल, इटहरी–१ की प्राविधिक रोजिना श्रेष्ठ, चौदण्डीगढी गाउँपालिका उदयपुरका प्राविधिक सुजन मगर, इटहरी–२० की प्राविधिक दिपा भण्डारी, इटहरी–१२ की प्राविधिक पूजा सिवा तथा राष्ट्रिय वाणिज्य बैंक धरानमा कार्यरत चिरञ्जीवी खतिवडा रहेका छन् ।
यस्तै, शैक्षिक सत्र २०८२ मा राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ उत्तीर्ण उत्कृष्ट विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । कम्प्युटर विज्ञानतर्फ आयुष खतिवडाले ३.८१ जिपिए, व्यवस्थापन अंग्रेजी माध्यमतर्फ अनुसा रिजालले ३.६५ जिपिए र कम्प्युटर विज्ञानतर्फ आशिका प्रधानले ३.६० जिपिए प्राप्त गरेका थिए ।
विद्यालयले शैक्षिक सत्र २०८२ मा अनुशासन, नियमित उपस्थिति, उत्कृष्ट अध्ययन तथा अतिरिक्त क्रियाकलापमा उल्लेखनीय योगदान पु¥याउने विद्यार्थीलाई समेत सम्मान गरियो । सम्मानित हुने विद्यार्थीहरूमा विज्ञान समूहबाट सन्देश लिम्बु र जेनि मगर, होटल म्यानेजमेन्ट समूहबाट रुकमणी कार्की र मेलिना खड्का, व्यवस्थापन समूहबाट प्रतिमा कट्वाल, व्यवस्थापनअन्तर्गत कम्प्युटर विज्ञान समूहबाट प्रशिका श्रेष्ठ, शिक्षा समूहबाट प्रज्ञान राई, प्राविधिक शिक्षातर्फ संजिव तिम्सिना तथा अतिरिक्त क्रियाकलापतर्फ विज्ञान समूहकी करुणा खड्का रहेका छन् ।
कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विज्ञान, शिक्षा, व्यवस्थापन, होटल म्यानेजमेन्ट तथा ब्युटिसियन समूहका ३७५ जना विद्यार्थीको १८ औं ब्याज स्वागत कार्यक्रम गरिएको थियो । डिप्लोमा इन सिभिल इन्जिनियरिङ तेस्रो वर्ष अध्ययन पूरा गरेका २३ जना विद्यार्थीको आठौं ब्याज बिदाइ गरिएको थियो । कक्षा १२ शिक्षा समूहकी दृष्टि तिवारीको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा इटहरी उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष रतन कार्कीसहित विभिन्न व्यक्तित्वले मन्तब्य राखेका थिए । कार्यक्रम अतिरिक्त क्रियाकलाप समितिका संयोजक रोबनराज कार्कीले सञ्चालन गरेका थिए ।