इटहरी । बाल अधिकारको संरक्षण र अनलाइन बाल यौन दुव्र्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिका प्रभावकारी बनाउने उद्देश्यले इटहरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भ्वाइस अप् चिल्ड्रेनको आयोजनामा मंगलबार इटहरीस्थित इनटुरिष्ट होटलको सभाहलमा आयोजित ‘बाल अधिकार प्रवद्र्धन तथा अनलाइन बाल यौन दुव्र्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिका’ विषयक कार्यक्रममा सञ्चारकर्मी, बाल अधिकार अभियन्ता तथा सरोकारवाला सहभागी भएका थिए ।
कार्यक्रमको सञ्चालन प्रोजेक्ट अफिसर पुजा भण्डारीले गरेकी थिइन् । कार्यक्रममा बाल अधिकार अभियन्ता भरत थापाले स्वागत मन्तव्य राख्दै बालबालिका कुनै पनि प्रकारको यौन दुव्र्यवहारको सिकार नबनून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले बाल अधिकारको संरक्षणमा सञ्चारमाध्यमको जिम्मेवारी महत्वपूर्ण रहने उल्लेख गरे ।
सहजकर्ता गोविन्द कोइरालाले अनलाइन माध्यमबाट हुने बाल यौन दुव्र्यवहारका जोखिमबारे प्रस्तुति दिँदै डिजिटल माध्यममा एकपटक सार्वजनिक भएको सामग्री पटक–पटक हेरिने, टिप्पणी गरिने र फैलिने भएकाले यसको असर गम्भीर हुने बताए । उनका अनुसार गत आर्थिक वर्षमा अनलाइन बाल यौन दुव्र्यवहारसम्बन्धी १०२ वटा घटना नेपाल प्रहरीमा दर्ता भएका छन् ।
अर्का सहजकर्ता पत्रकार अमर खड्काले साइबर सुरक्षा, साइबर कानुन तथा डिजिटल प्लेटफर्मको सुरक्षित प्रयोगबारे जानकारी दिएका थिए । उनले अनलाइन माध्यमको जिम्मेवार प्रयोग, कानुनी सचेतना र सचेत सञ्चार अभ्यासले बालबालिकालाई साइबर अपराध तथा यौन दुव्र्यवहारबाट जोगाउन सहयोग पुग्ने बताए ।
कार्यक्रममा सहभागी पत्रकारहरूले बाल अधिकारको संरक्षण, अनलाइन जोखिम न्यूनीकरण तथा बालमैत्री समाचार सम्प्रेषणमा सञ्चारकर्मीको भूमिका अझ प्रभावकारी बनाउन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।