विराटनगर : शिक्षा नियमावली, २०५९ को दफा ८५ को उपदफा (१) अनुसार नेपाल सरकारले सार्वजनिक बिदाका दिन विद्यालय बन्द रहने स्पष्ट व्यवस्था गरेको छ। नेपाल सरकारले मन्त्रिपरिषद्बाट २०८२ साल चैत २२ गते हप्तामा दुई दिन शनिबार र आइतबार बिदा गर्ने निर्णय गरेको थियो । नेपाल सरकारको उक्त निर्णयलाई चुनौती दिँदै उर्लाबारी नगरपालिकाले २०८३ साल जेठ १९ गते आइतबारको बिदा कटौती गरी विद्यालय सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएको थियो ।
नेपाल शिक्षक महासङ्घ उर्लाबारी शाखाले आइतबारको सार्वजनिक बिदा कटौती गर्न नहुने भन्दै उच्च अदालत विराटनगरमा निवेदन दर्ता गरेको थियो । निवेदन नम्बर ०८२-WO-०५९८ अनुसार २०८३ असार ११ गते माननीय न्यायाधीश श्री महेन्द्रनाथ उपाध्याय र श्री प्रकाशचन्द्र अधिकारीज्यूको इजलासले अन्तरिम आदेश जारी गरेको जनाइएको छ। निवेदकको तर्फबाट अधिवक्ता खुसीराज गौतम र टंकप्रसाद गौतमले बहस गर्नुभएको थियो भने विपक्षी उर्लाबारी नगरपालिकाको तर्फबाट वरिष्ठ अधिवक्ता गणेशराज लुइटेल र खेमराज पोखरेलले बहस गर्नुभएको थियो ।
विपक्षीका नाममा १५ दिनभित्र कारणसहित खुलाएर आइतबारको बिदा दिने विषयमा जवाफ दिन उच्च अदालतले निर्देशन दिएको छ। नेपाल शिक्षक महासङ्घ मोरङका सचिव प्रेमप्रकाश कोइरालाका अनुसार अदालतमा विचाराधीन विषयमा उर्लाबारी नगरपालिकाले प्रधानाध्यापकहरूलाई तीन दिनभित्र स्पष्टीकरण माग्नु दुःखद विषय भएको बताउनुभयो ।