समाजका लागि केही गर्ने चाहनाले नै मलाई निरन्तर सक्रिय बनाएको छ – सुधीर केसी

  • असार ८, २०८३ / नेपाल रेखा
alt

हामीले सुरु गरेको ‘व्यक्तित्व परिचर्चा’ कार्यक्रमअन्तर्गत यसपटक सुनसरी, विशेषगरी इटहरीका विभिन्न क्षेत्रमा सक्रिय र परिचित व्यक्तित्वहरूसँग संवाद गर्ने क्रममा सामाजिक अभियान, साहित्य, कला र राष्ट्रप्रेमका विविध आयाममा निरन्तर सक्रिय रहँदै आउनुभएका सुधीर केसीसँग गरिएको अन्तरसंवाद प्रस्तुत गरेका छौं –

स्वागत छ, हाम्रो अनलाइनमा यहाँलाई हार्दिक स्वागत छ ।

धन्यवाद । तपाईंहरूको सञ्चार माध्यममार्फत आफ्ना विचार साझा गर्ने अवसर पाएकोमा खुसी लागेको छ ।

आफ्नो संक्षिप्त परिचय दिनुहोस् न ।

मेरो वास्तविक नाम राजेन्द्र खत्री हो । तर धेरैले मलाई ‘सुधीर केसी’का नामले चिन्छन् । मेरो जन्म सङ्खुवासभा जिल्लाको तत्कालीन तुम्लिङटार गाउँ पञ्चायत, हाल खाँदबारी नगरपालिका–८ डाँडागाउँमा भएको हो । २०४३ सालमा मोरङको राजघाटमा बसाइँ सरेँ र २०५० सालदेखि सुनसरीको इटहरी–२ मा स्थायी बसोबास गर्दै आएको छु ।

हाल तपाईं कुन–कुन क्षेत्रमा आबद्ध हुनुहुन्छ ? रुचिका क्षेत्र के–के हुन् ?

म राजनीति लगायत विभिन्न सामाजिक तथा सांस्कृतिक क्षेत्रमा आबद्ध छु । एक समय पूर्णकालीन वामपन्थी कार्यकर्ताका रूपमा सक्रिय थिएँ । पछिल्ला वर्षहरूमा साहित्य, कला, संस्कृति र सामाजिक अभियानतर्फ बढी केन्द्रित छु ।

हाल म अखिल नेपाल लेखक संघ, कोशी प्रदेश अन्तर्गत ‘तालतलैया कला, साहित्य तथा सांस्कृतिक समाज’को अध्यक्ष छु । साथै सङ्खुवासभा कलाकार चौतारी, कोशी प्रदेशको सचिवका रूपमा कार्यरत छु । योगदान राष्ट्रका लागि अभियान, कात्स्यव गोत्रीय अधिकारी वंशज मठ–मन्दिर लगायतका संस्थामा पनि संलग्न छु । केही समय सञ्चार क्षेत्रमा पनि काम गर्ने अवसर पाएँ । समाजका लागि सानो भए पनि सकारात्मक योगदान दिन सकूँ भन्ने मेरो चाहना हो । पर्यटन र खेलकुद पनि मेरा विशेष रुचिका क्षेत्र हुन् ।

तपाईंको बुझाइमा साहित्य, कला र संस्कृति भनेको के हो ?

साहित्य भनेको प्रकृति, मानव जीवन र समाजमा रहेका दृश्य–अदृश्य पक्षहरूको अनुभूति, कल्पना र चिन्तनलाई कलात्मक शैलीमा अभिव्यक्त गर्ने माध्यम हो ।
संस्कृति भनेको समाजले लामो समयदेखि अभ्यास गर्दै आएको जीवनशैली, आचार–व्यवहार, परम्परा, रीतिरिवाज र श्रम प्रक्रियाबाट निर्माण भएको सभ्यता हो । यसले समाजको पहिचान र इतिहासलाई जीवित राख्छ ।

विश्व साहित्यको तुलनामा नेपाली साहित्य र कलाको अवस्था कस्तो देख्नुहुन्छ ?

म आफूलाई यस विषयको विशेषज्ञ दाबी गर्दिनँ । तर जे बुझेको छु, नेपाली साहित्य र कलामा विश्वस्तरमा पुग्ने पर्याप्त सम्भावना छ । नेपाली स्रष्टाहरू अत्यन्त प्रतिभाशाली छन् । यद्यपि विश्व बजारमा आफ्नो उपस्थिति अझ बलियो बनाउन केही नयाँ अनुभव र प्रविधि सिक्नुपर्ने आवश्यकता देखिन्छ ।

तपाईं आबद्ध संस्थाहरूको उद्देश्य के हो ?

हामीले कला, साहित्य, पर्यटन र स्थानीय पहिचानलाई जोड्ने उद्देश्यले ‘तालतलैया’ संस्था स्थापना गरेका हौँ । त्यस्तै, सङ्खुवासभा मूल थलो भएका लेखक–कलाकारहरूको साझा संस्था पनि सक्रिय छ । यसको केन्द्रीय अध्यक्ष कमलबहादुर खत्री हुनुहुन्छ भने कोशी प्रदेशको नेतृत्व भोलामान गुरुङले गरिरहनुभएको छ । म सचिवको जिम्मेवारीमा छु । स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गर्ने अन्य संस्थाहरूमा पनि मेरो संलग्नता छ ।

यस्ता संस्था धेरै छन्, फेरि नयाँ संस्था किन आवश्यक पर्यो ?

हरेक संस्थाको आफ्नो दृष्टि र कार्यशैली हुन्छ । नयाँ सोच, नयाँ स्वाद र समाजप्रति नयाँ ढंगले योगदान दिने उद्देश्यले संस्था स्थापना गरिएको हो । पुराना संस्थाहरूमा पनि मेरो सक्रिय सहभागिता छ ।

कोशी प्रदेशको साहित्यिक र सांस्कृतिक अवस्था कस्तो छ ?

कोशी प्रदेश साहित्य, कला र संस्कृतिको उर्वर भूमि हो । सङ्खुवासभा, खोटाङ, इलाम, ओखलढुंगा, पाँचथरजस्ता पहाडी जिल्ला तथा तराईका विभिन्न जिल्लामा साहित्यिक गतिविधि उल्लेखनीय छन् ।
मेचीनगर, बिर्तामोड, दमक, बेलबारी, लेटाङ, विराटनगर, इटहरी, धरान, इनरुवा र बराहक्षेत्रजस्ता सहरहरू साहित्यिक तथा सांस्कृतिक गतिविधिका केन्द्र बनेका छन्। मनु मन्जिल, डा. बद्रीविशाल पोखरेल, बद्री भिखारी, विक्रम श्री, राजु केसी, मोहन तिम्सिना, टीका आत्रेय, कृष्ण नेपाल, भोलामान गुरुङ, गायत्री लम्साल, पुण्य चौलागाईं, केशव दाहाल लगायतका स्रष्टाहरूले यस क्षेत्रलाई समृद्ध बनाइरहेका छन् ।
त्यसैगरी शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको छ । इटहरी खेलकुदको केन्द्रका रूपमा पनि स्थापित हुँदै गएको छ ।

खेलकुदको कुरा गर्दा, अहिले विश्वकपको माहोल छ । तपाईंलाई मन पर्ने खेल कुन हो ?

मलाई फुटबल, भलिबल, एथलेटिक्स र मार्सल आर्टका विभिन्न विधा मन पर्छन् । पछिल्लो समय विशेष गरी कुस्ती, कबड्डी र जुडोजस्ता पूर्वीय खेलप्रति आकर्षण बढेको छ । विश्वकपका खेलहरू खासै हेरेको छैन, तर फाइनल हेर्ने सोच छ । म सधैं नेपालको पक्षमा उभिने व्यक्ति हुँ ।

आगामी योजना के–के छन् ?

म आफूलाई सामान्य सामाजिक अभियन्ता मान्छु । मभन्दा अनुभवी व्यक्तिहरूले अझ ठूला पहल गरून् भन्ने चाहना छ । मेरो विशेष चासो विद्यालय र कलेजका विद्यार्थीलाई आत्मरक्षा सम्बन्धी तालिम दिनुमा छ । विशेष गरी नेपाली मौलिकता झल्किने कुस्ती र मार्सल आर्टको विकासमा काम गर्ने सोच छ ।

त्यसैगरी ४० वर्षभन्दा माथिका उमेर समूहका लागि दौड, पञ्जा लडाइँ, कुस्ती जस्ता गतिविधि सञ्चालन गर्ने संस्था निर्माण गर्ने योजना पनि छ । आध्यात्मिक क्षेत्रमा पनि केही योगदान दिने इच्छा छ । साथै फरक लैंगिक पहिचान भएका समुदायसँग सहकार्य गरेर समावेशी समाज निर्माणमा योगदान गर्न चाहन्छु ।

यहाँका साहित्यिक तथा सांस्कृतिक संस्थाहरूको साझा मञ्च आवश्यक छ भन्ने लाग्दैन ?

निश्चित रूपमा आवश्यक छ । साझा मञ्च निर्माण गरेर राष्ट्रियता, लोकतन्त्र र सांस्कृतिक चेतनाको अभियान सञ्चालन गर्न सके अझ प्रभावकारी हुने थियो ।

लेखनमा तपाईंको विशेष रुचि कुन विधामा छ ?

म मुख्यत ः कविता लेख्छु । लघुकथा, कथा र उपन्यासमा पनि केही लेखेको छु । तर लेख्नुभन्दा बढी उपन्यास र कथा पढ्न रुचाउँछु ।

फिल्म र नाटक कत्तिको हेर्नुहुन्छ ?

फिल्म धेरै हेर्छु । प्रेमकथा, एक्सन, कमेडी लगायत विभिन्न विधाका चलचित्र मन पर्छन् । नाटक भने फाट्टफुट्ट मात्र हेर्ने गरेको छु ।

सरकारबाट साहित्य, कला र पर्यटन क्षेत्रमा पर्याप्त सहयोग पाउनुभएको छ ?

केही नीति तथा कार्यक्रमहरू छन्, तर आवश्यकता अनुसार पर्याप्त छैनन् । कोशी प्रदेशमा पर्यटन र कला विकासका प्रशस्त सम्भावना छन् । प्रदेश सरकार र सम्बन्धित मन्त्रालयहरूले यस क्षेत्रमा अझ प्राथमिकता दिनुपर्छ भन्ने लाग्छ ।

तपाईंका मनपर्ने लेखक को–को हुन् ?

धेरै छन् । बीपी कोइराला, डायमन शमशेर राणा, पारिजात, प्रकाश कोविद, बैरागी काइँला, आहुति, कुमार नगरकोटी, धरावासी, खगेन्द्र संग्रौला लगायतका लेखकहरू मलाई विशेष मन पर्छन् ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

म राष्ट्रिय साइकल यात्रीका रूपमा पनि विभिन्न अभियानमा सहभागी भएको छु । लिम्पियाधुरा, कालापानी लगायतका राष्ट्रिय मुद्दामा सचेतना फैलाउने अभियानमा साइकल यात्रा गर्दै काठमाडौंसम्म पुगेको अनुभव छ । २०७२ सालको भूकम्पपछि पुनर्निर्माण अभियानमा सिन्धुपाल्चोकमा खटिएँ । चितवनमा श्रम शिविरमा पनि सहभागी भएँ ।

यी अनुभवहरू धेरैले नसुनेका हुन सक्छन्, तर समाजका लागि केही गर्ने चाहना सधैं रह्यो । म सबैलाई आफ्नो क्षेत्रबाट एकजुट भएर समृद्ध, उज्यालो र समाजवादी नेपाल निर्माणमा योगदान दिन आह्वान गर्दछु ।

यस्ता धेरै अनुभवी र कर्मशील व्यक्तिहरू समाजमा छन्, जो अझै ओझेलमा छन् । सञ्चार माध्यमहरूले उनीहरूलाई पनि मञ्च प्रदान गर्नेछन् भन्ने विश्वास छ । अन्त्यमा, मलाई आफ्ना विचार राख्ने अवसर दिनुभएकोमा तपाईं र सम्पूर्ण मिडिया परिवारलाई धन्यवाद ।

कोशी प्रदेशसभामा बजे ...

विराटनगर । कोशी प्रदेशसभाको आइतबारको बैठकमा आगामी आर्थि ...

गोरखामा निर्माण गरिए ...

गोरखा नगरपालिका-९, लक्ष्मीबजारस्थित आहालडाँडा ...

सभास्थलमा उपस्थित सद ...

चितवनमा आइतबारदेखि सुरु हुने राष्ट्रिय स्वतन् ...

रास्वपा महाधिवेशन – ...

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम र ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]