‘बेपत्ता पारिएका व्यक्तिको सत्यतथ्य सार्वजनक गर्न सबै पक्षबीच गाम्भीर्यता र समन्वयको खाँचो’

  • असार ४, २०८३ / नेपाल रेखा
alt

काठमाडौँ । शान्ति सम्झौतामार्फत दशवर्षे सशस्त्र सङ्घर्ष अन्त्य भएको दुई दशक पुग्दा पनि द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिको सत्यतथ्य सार्वजनिक गर्ने र पीडित परिवारलाई न्याय दिलाउने कार्य अधुरै रहेको भन्दै सरोकारवालाले सबै पक्षबीच गाम्भीर्यता र प्रभावकारी समन्वयको खाँचो औँल्याएका छन् ।
विसं २०५९ साल असार ३ गते काठमाडौँबाट सुरक्षा निकायद्वारा पक्राउ गरी बेपत्ता पारिएका विपिन भण्डारीको स्मृतिमा आयोजित कार्यक्रमका वक्ताहरूले द्वन्द्वकालीन बेपत्ता व्यक्तिको खोजी र न्यायको विषयलाई उच्च प्राथमिकतामा राखेर सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।
तत्कालीन विद्रोही नेकपा (माओवादी) का विद्यार्थी नेता रहेका २१ वर्षीय भण्डारीसहित दिलबहादुर राई, रामहरि रूपाखेती, कृष्णबहादुर बस्नेत र देवराज पौडेल हालसम्म बेपत्ता हुनुहुन्छ । द्वन्द्वका क्रममा राज्य पक्षबाट बेपत्ता बनाइएका एक हजार ३०० जनाको अवस्था अझैसम्म सार्वजनिक भएको छैन ।
कार्यक्रममा विपिनका पिता तथा संवैधानिक कानुनका ज्ञाता एकराज भण्डारीले बेपत्ता पारिएका व्यक्तिका परिवारलाई राज्य र विभिन्न सरकारले निरन्तर उपेक्षा गरेको आरोप लगाउनुभयो । उहाँले पीडित परिवारले भोगेका पीडा, दुःख र अनुभवलाई राज्यले कहिल्यै गम्भीर रूपमा नबुझेको र स्वीकार नगरेको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का दीपक चलाउनेले शान्ति सम्झौताले नयाँ राजनीतिक तथा सांस्कृतिक रूपान्तरणको आशा जगाएको भए पनि ती अपेक्षाहरू पूरा हुन नसकेको बताउनुभयो । उहाँले द्वन्द्वकालमा योगदान दिएका व्यक्तिहरूको भूमिका र बलिदानलाई पर्याप्त सम्मान नदिइएको टिप्पणी गर्नुभयो ।
नेकपा (माओवादी) का माइला लामाले द्वन्द्वपीडितको त्याग र बलिदानलाई अवमूल्यन गर्ने प्रयास भए असन्तुष्टि र अशान्ति बढ्न सक्ने भएकाले बेपत्ता व्यक्तिको खोजी कार्य निरन्तर जारी रहनुपर्ने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीकी वरिष्ठ नेतृ पम्फा भुसालले बाँकी रहेका द्वन्द्वकालीन विषय समाधानका लागि राजनीतिक संवाद र वामपन्थी शक्तिबीचको एकता आवश्यक रहेको धारणा राख्नुभयो ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव धुर्वकुमार चौहानले सत्य र न्यायको खोजीलाई अगाडि बढाउन सरोकारवाला पक्षहरूबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताउनुभयो ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]