डी.पी. ढुंगेल
विराटनगर : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (PABSON) विराटनगरको आयोजनामा कक्षा १ देखि ३ सम्म अध्यापन गराउने शिक्षकहरूलाई एकदिने अभिमुखीकरण तालिम विराटनगरमा आइतबार सम्पन्न भएको हो। टाइम्स पब्लिकेसन प्राइभेट लिमिटेडको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमको संयोजक प्याब्सन विराटनगरका उपाध्यक्ष अशोक लामाको पहलमा अभिमुखीकरण सम्पन्न भएको हो।
अभिमुखीकरण कार्यक्रममा विज्ञ प्रदीप बिष्टले सहभागीहरूलाई सहजीकरण गर्नुभएको जनाइएको छ। कार्यक्रममा ९० प्रतिशत महिला शिक्षक र १० प्रतिशत पुरुष शिक्षक रहेको जनाइएको छ।
प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठका अनुसार बदलिँदो शैक्षिक वातावरणमा कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीहरूलाई परीक्षा–केन्द्रितभन्दा पनि सिकाइ–केन्द्रित शिक्षा प्रदान गर्ने योजना रहेको बताए। विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको उनको भनाइ छ।
विद्यालय क्षेत्र सुधार योजना २०६६ देखि निरन्तर मूल्याङ्कन प्रणाली (Continuous Assessment System-CAS) लागू भएयता कक्षा १ देखि ३ सम्म अध्ययनरत विद्यार्थीहरूको गुणस्तरमा वृद्धि भएको विज्ञको भनाइ छ।
विराटनगरका ६५ वटा विद्यालयबाट सहभागी शिक्षकहरूले तालिम अत्यन्तै फलदायी भएको प्रतिक्रिया दिए। शिक्षण पेसामा आबद्ध जो कोहीलाई पनि यस प्रकारका तालिमले पुनर्ताजगीकरण गर्ने उनीहरूको भनाइ छ।
कक्षा १ देखि कक्षा ३ सम्म अध्ययनरत बालबालिकाहरूको मनस्थितिलाई मध्यनजर गर्दै परीक्षा–केन्द्रितभन्दा पनि सिकाइ–केन्द्रित विधिमा शिक्षण कार्य गर्नुपर्ने आवश्यकता देखिन्छ।
यसअघि शनिबार कक्षा ४ र ५ सम्म अध्यापन गराउने १९० जना संस्थागत विद्यालयका शिक्षकहरूलाई अभिमुखीकरण सम्पन्न भएको जनाइएको छ।
देशैभरि कक्षा १ देखि ३ सम्म निरन्तर मूल्याङ्कन प्रणाली लागू भएयता विद्यार्थीको सिकाइ गुणस्तरमा वृद्धि भएको सरोकारवालाहरूको भनाइ छ।
आगामी दिनमा समेत यस प्रकारका अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए।