व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान

  • जेठ २६, २०८३ / नेपाल रेखा
alt

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित मैदानेका किसान पछिल्लो समय व्यावसायिक रुद्राक्ष खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत खेतीभन्दा कम मेहनतमा राम्रो आम्दानी हुने भएकाले यहाँका कृषक रुद्राक्ष खेतीलाई मुख्य आयस्रोतका रूपमा विकास गर्न लागिपरेका हुन् ।
स्थानीय किसान प्रदीप थापाका अनुसार रुद्राक्ष खेतीबाट किसानले वार्षिक न्यूनतम एक लाखदेखि पाँच लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । “रुद्राक्षको सिजन सुरु भएपछि गाउँमै व्यापारी आउने गर्छन्”, उहाँले भन्नुभयो, “देशका विभिन्न ठाउँबाट खरिदका लागि आउने भएकाले बजारको समस्या छैन । जसले किसानलाई थप उत्साहित बनाएको छ ।”
मैदाने क्षेत्रको हावापानी र माटो रुद्राक्ष खेतीका लागि उपयुक्त भएकाले उत्पादन पनि राम्रो हुँदै आएको किसानको अनुभव छ । एकपटक बिरुवा रोपिसकेपछि लामो समयसम्म उत्पादन दिनसक्ने भएकाले यो खेती दीर्घकालीन आम्दानीको भरपर्दो माध्यम बन्दै गएको छ ।
वडाध्यक्ष कुमार थापाका अनुसार रुद्राक्ष खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यस क्षेत्रलाई ‘रुद्राक्ष पकेट क्षेत्र’ का रूपमा विकास गर्ने योजना बनाइएको छ । “अन्य बालीको तुलनामा रुद्राक्षबाट किसानले राम्रो आम्दानी लिइरहेका छन्”, वडाध्यक्ष थापाले भन्नुभयो, “त्यसैले यसको विस्तार र प्रवद्र्धनका लागि आवश्यक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ ।”
उहाँका अनुसार वडाले आगामी दिनमा रुद्राक्षका बिरुवा वितरण, प्राविधिक तालिम, बजार व्यवस्थापन र ब्रान्डिङमासमेत ध्यान दिने योजना बनाएको छ । रुद्राक्ष खेतीसँगै यहाँका किसान अन्य फलफूल तथा तरकारी खेती पनि सँगसँगै गर्दै आएका छन् । तर पछिल्लो समय रुद्राक्षले स्थायी आम्दानी दिन थालेपछि धेरै किसानले यसलाई प्राथमिकता दिन थालेका छन् ।
स्थानीयस्तरमा रोजगारी सिर्जना, आर्थिक अवस्था सुधार तथा कृषिमा आत्मनिर्भरता बढाउने दिशामा रुद्राक्ष खेतीले महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ । मैदाने क्षेत्रको यो अभ्यास अन्य सुक्खाग्रस्त तथा पहाडी क्षेत्रका लागि नमुना बन्नसक्ने स्थानीय किसानको भनाइ छ ।
वडाले सिँचाइका लागि दुई वटा पोखरी निर्माण गरिदिएपछि मैदाने गाउँका अधिकांश किसानले रुद्राक्षको खेती गर्दै आएका छन् । सडक पहुँच विस्तारका कारण रुद्राक्षको खरिद बिक्रीमा सहजता भएको किसानको भनाइ छ ।

कांग्रेसको १५ औँ महा ...

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनलाई ...

हात्तीले भत्काएको घर ...

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ मा सोमबार ...

विद्युत् महुसुल बक्य ...

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल व ...

सुपारीखेतीमा इलामका ...

इलाम । पछिल्लो समय इलामका किसान व्यावसायिक सुपारीखेतीतर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]