इटहरी । युवाहरूमा उद्यमशीलता, नेतृत्व क्षमता तथा व्यवसायिक सोचको विकास गर्ने उद्देश्यले इटहरी जेसिजको आयोजनामा ‘भोलिको इटहरी व्यवसायिक दृष्टिकोण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
इटहरीस्थित होटल इन्टुरिस्ट प्यालेसमा आयोजित कार्यक्रम उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीको प्रमुख आतिथ्यता तथा इटहरी जेसिजका अध्यक्ष मिसन पराजुलीको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा इटहरीका विभिन्न क्षेत्रमा सफल व्यवसाय सञ्चालन गर्दै आएका युवा व्यवसायी तथा विज्ञहरूले आफ्नो अनुभव, संघर्ष, अवसर र चुनौतीका विषयमा धारणा राख्दै व्यवसायिक क्षेत्रका विविध आयामबारे सहभागीलाई जानकारी गराएका थिए । व्यवसायिक क्षेत्रको विविधीकरणबारे राजेश श्रेष्ठ, पूर्वाधार तथा निर्माण क्षेत्रबारे विनोद पौडेल, कृषि उद्यमबारे दीपक थापा, उत्पादन क्षेत्रबारे ज्ञानेन्द्र पराजुली, शिक्षा क्षेत्रबारे सुमित थापा, लेखा परीक्षण क्षेत्रबारे गुलसनराज शर्मा, व्यापार तथा खुद्रा व्यवसायबारे सन्तोष आचार्य तथा आतिथ्य र पर्यटन क्षेत्रबारे सिनेट रिजालले आफ्ना अनुभव साझा गरेका थिए ।
वक्ताहरूले इटहरीको बढ्दो व्यवसायिक सम्भावना, लगानीको वातावरण, उद्यमशीलताको विकास र बदलिँदो बजार व्यवस्थाअनुसार युवाहरूले अपनाउनुपर्ने दृष्टिकोणबारे प्रकाश पारेका थिए । उनीहरूले व्यवसायमा सफलता हासिल गर्न धैर्यता, नवीन सोच, निरन्तर सिकाइ र दीर्घकालीन योजनाको आवश्यकता औँल्याएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि जीवन पराजुलीले इटहरी व्यापार, व्यवसाय र लगानीका दृष्टिले तीव्र गतिमा सम्भावनायुक्त सहरका रूपमा विकसित भइरहेको उल्लेख गर्दै युवाहरूलाई सिर्जनशील सोच र नवीन अवधारणा सहित उद्यममा लाग्न आग्रह गरे । स्थानीय उत्पादन, सेवा र सीपको प्रवद्र्धनमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिने उनको भनाइ थियो ।
अध्यक्ष मिसन पराजुलीले युवाहरूलाई व्यवसायिक रूपमा सक्षम बनाउने, नेतृत्व विकास गर्ने तथा उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले जेसिजले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताए । अनुभवी व्यवसायी र नयाँ पुस्ताबीच अनुभव आदानप्रदान गराउने तथा व्यवसायिक नेटवर्क विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
अभिषेक भण्डारीले सहजीकरण गरेको कार्यक्रममा इटहरी नमुना कलेजका अध्यक्ष केशव खड्का, अधिवक्ता रमेश कुमार पोख्रेल, इटहरी लेडी जेसिजकी अध्यक्ष यामुना बुढाथोकी लगायत विभिन्न क्षेत्रका व्यवसायी, युवा उद्यमी, जेसिज सदस्य तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सहभागीहरूले कार्यक्रमले व्यवसायिक ज्ञान, प्रेरणा तथा नेटवर्क विस्तारमा महत्वपूर्ण योगदान पु¥याएको प्रतिक्रिया दिएका थिए ।