उदयपुर । कोशी प्रदेशको विभिन्न स्थानका सक्रिय पत्रकारहरूलाई लक्षित गर्दै बजेट निर्माण प्रक्रिया, सार्वजनिक वित्त व्यवस्थापन तथा वित्तीय संघीयतासम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।
संसदीय पत्रकार मञ्च कोशी प्रदेशको आयोजना तथा कोशी प्रदेश सभा सचिवालयको सहयोगमा उदयपुरको बेलका रिसोर्टमा मंगलबारदेखि सञ्चालन भएको तालिम बुधबार सहभागी पत्रकारहरूलाई प्रमाणपत्र वितरण गर्दै समापन गरिएको हो ।
तालिममा संघीय संरचना अनुसार प्रदेश सरकारको बजेट निर्माण प्रक्रिया, सार्वजनिक वित्त व्यवस्थापनको वर्तमान अवस्था, वित्तीय संघीयता कार्यान्वयनका चुनौती तथा पारदर्शी बजेट प्रणालीका विषयमा गहन छलफल गरिएको थियो ।
सहभागी पत्रकारहरूलाई बजेटको अध्ययन, विश्लेषण र प्रभावकारी रिपोर्टिङका लागि आवश्यक सीपसमेत प्रदान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा निजी क्षेत्रले बजेटसँग राख्ने अपेक्षा, सरकारी लेखा प्रणाली, बेरुजु फस्र्योटमा सार्वजनिक लेखा समितिको भूमिका, विकास खर्चको अवस्था तथा बजेट कार्यान्वयनका व्यवहारिक पक्षबारे सहजीकरण गरिएको थियो । बजेटसम्बन्धी समाचारलाई तथ्यपरक, विश्लेषणात्मक र जनमुखी बनाउन पत्रकारले अपनाउनुपर्ने विधि र दृष्टिकोणबारे पनि विशेष प्रशिक्षण दिइएको थियो । तालिम समापन कार्यक्रममा बोल्दै संसदीय पत्रकार मञ्च कोशी प्रदेशका अध्यक्ष कुमार लुइँटेलले लोकतान्त्रिक शासन प्रणालीलाई प्रभावकारी बनाउन संसदीय पत्रकारिताको भूमिका महत्वपूर्ण रहने बताए । उनले बजेट र सार्वजनिक खर्चका विषयलाई नागरिकसम्म सरल र विश्वसनीय ढंगले पु¥याउन पत्रकारहरू अझ जिम्मेवार हुनुपर्ने धारणा राखे ।
तालिममा सहभागी पत्रकारहरूले बजेट निर्माण प्रक्रिया, सार्वजनिक वित्त व्यवस्थापन र वित्तीय संघीयतासम्बन्धी विषयलाई व्यवहारिक तथा उपयोगी रहेको बताएका छन् ।
सहभागी कोकिला भण्डारीले तालिमबाट बजेट सम्बन्धी समाचारलाई अझ प्रभावकारी ढंगले प्रस्तुत गर्ने सीप हासिल भएको र यस्ता तालिमले संसदीय पत्रकारितालाई थप मजबुत बनाउन सहयोग पुग्ने बताइन ।
दुई दिनसम्म सञ्चालन भएको तालिममा अनलाइनखबरका सहसम्पादक जनार्दन बराल, प्रदेश सभा सचिव सुदर्शन खड्का लगायतले प्रशिक्षण दिएका थिए । प्रशिक्षकहरूले बजेट प्रणालीको संरचना, नीति तथा कार्यक्रम, कार्यान्वयन प्रक्रिया र संसदीय अभ्यासबारे विस्तृत जानकारी गराएका थिए ।
तालिममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका संसदीय तथा सार्वजनिक नीतिसम्बन्धी विषयमा सक्रिय पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रमले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नुका साथै सार्वजनिक वित्तीय पारदर्शिताबारे थप सचेतना बढाएको सहभागीहरूले बताएका छन् ।