पुरानो सत्ताको कथित जन–जागरणविरुद्ध महाप्रलयको प्रतीक्षा

  • पुस १, २०८२ / नेपाल रेखा
alt

– सरोजकुमार मिश्रा
जनताको चेतना र जीवनस्तर माथि उठाउनुभन्दा ठूलो विकास केही हुँदैन । नेपालमा नेताहरूले भन्ने गरेको विकास र समृद्धि सबैले देखेकै छन् । २०४७ साल उताको कुरा छाडिदिउँ, यताका कुनै पनि सरकारले दिगो विकास र स्थायी समृद्धिका लागि ठोस काम गरेको पाइँदैन । जबसम्म जनताको जीवनस्तर माथि उठ्दैन, तबसम्म मुलुक स्वाभिमानी र आत्मनिर्भर बन्न सक्दैन । विकास र समृद्धिका कुरा दिवा सपनाजस्तै हुन्छ ।
मुलुकको यो दुरावस्था हुनुको प्रमुख कारण २००७ सालको क्रान्तिपछि हालसम्मका शासक वर्गले देखाएको आर्थिक तथा राजनीतिक अपारदर्शी व्यवहार नै हो । नेतृत्वकै मूर्खतापूर्ण व्यवहारले मुलुक कहालीलाग्दो सङ्कटमा फसेको छ । २०८२ भदौमा जेनजी समूहको आह्वानमा भएको प्रारम्भिक आर्थिक क्रान्तिको उपलब्धिलाई शून्य बनाउने प्रयासहरू भइरहेका छन् । यस्तो दुस्प्रयासले मुलुकको अस्तित्व नै समाप्त पार्ने खतरा बढ्दो छ ।
अधिकार प्राप्तिका लागि गरिने आन्दोलन वा अभियान भ्रष्टाचार कम हुने समाजमा मात्र सफल हुन्छन् । तसर्थ हामीले देश बचाउन र बनाउन भ्रष्टाचारको सवालमा शून्य सहनशीलताको नीति व्यवहारमै लागू गर्नुपर्छ । यसमा समाजका सबै तह–तप्कामा रहेका, असल नियत भएका सरोकारवालाहरू एकमत हुनु जरुरी छ ।
उन्नत लोकतन्त्र तथा जनमुखी निर्वाचन प्रणाली भ्रष्टाचारमुक्त नेपाल र आर्थिक क्रान्तिको मार्गचित्र हो । विडम्बना नेताहरूले गणतान्त्रिक व्यवस्थालाई अनियमितता गर्ने साधन बनाएका छन् । नीतिगत निर्णयको आवरणमा जनताको आँखामा छारो हालेर आफू र आफ्ना भजन–मण्डलीहरूको पालनपोषण गर्नु नेताको प्राथमिकता बनेको छ । विद्यमान व्यवस्था र अवस्थामा लागेको दलाली र भ्रष्टाचाररूपी महामारी निर्मूल नपारी मुलुक बाँच्न सक्दैन । मुलुकको रक्षाका निम्ति पवित्र आर्थिक क्रान्तिको विचारभन्दा ठूलो माक्र्सवाद, माओवाद, समाजवाद, लोकतन्त्रवाद, राजतन्त्रवाद वा मधेसवाद हुन सक्तैन ।
हरेक तहमा रहेका इमानदार युवाहरूको लक्ष्य एउटै छ– मुलुक भ्रष्टाचारीहरूको हातबाट बचाउने अर्थात् मातृभूमिको रक्षा गर्ने । देश रक्षार्थ सपुतहरू लक्ष्यबाट विमुख हुनु हुँदैन । मुलुकको रक्षापश्चात् यसलाई बनाउने र सजाउने बेलामा आ–आफ्नो विचार अगाडि सार्दा राम्रो हुन्छ । जनअपेक्षित परिवर्तनलक्षित आर्थिक क्रान्तिको अभियान असफल पार्न अघिल्लो पुस्ताका प्रमुख नेताहरू माफिया, भ्रष्ट, तस्कर, कालोबजारियाको मोहरा बनेका छन् । जनमुखी विचारबाट विमुख नेताहरूले प्राप्त जनमत र शक्तिको दुरूपयोग गरेकै हुनाले २०८२ भदौ २३ र २४ गते ऐतिहासिक विद्रोह (क्रान्ति) भएको हो ।
तर दिशाहीन नेताहरूको घैँटोमा अझै घाम लागेको छैन । उनीहरूले मुलुक र जनताविरोधी काम–कुरा गर्न छोडेका छैनन् । सत्य तितो हुन्छ तर रोगको उपचारका लागि तितो औषधि नभई हुँदैन । सुशासन प्राप्तिको अभियान समाप्त पार्न भइरहेका चलखेल र षड्यन्त्रहरूको समयमै पर्दाफास हुनुपर्छ । आफ्नो लक्ष्यमा अडिग युवापुस्ता षड्यन्त्रकारीहरूको सामना गर्न तयार छ । इमानदार युवापुस्ताको एकता नै देश रक्षाको कवच बन्नेछ ।
आर्थिक क्रान्तिको सफलता वा असफलता मुलुकको भविष्यसँग गाँसिएको हुनाले परिणाम जस्तो आउँछ जनताले त्यस्तै भोग्ने हो । तसर्थ आर्थिक क्रान्तिको अभियान सफल हुनैपर्छ । समुद्रको लहर तत्काल शान्त भएको देखेर खतरा ट¥यो भनी ठान्नु मूर्खता हुन्छ । शान्त देखिएको लहरमै आगामी तुफानको क्षमता लुकेको हुन्छ । जेनजी विद्रोहको आँधीले दलाल, भ्रष्ट दुस्प्रवृत्तिको जरो उखेल्न सकेन, अब जनआन्दोलनको सुनामी आउने प्रतीक्षा छ ।
दुर्भाग्य, जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकार भ्रष्टाचारमुक्त नेपालको ढोका खोल्न डराइरहेको छ । बुढाबुढीको शासन (जिरेन्टोक्रेसी)मा हुने यस्तै हो । त्यसैले अवस्था परिवर्तनको महान् अपेक्षा पूरा गर्न देशको राजनीतिक पगाहा सम्हाल्ने जिम्मेवारी जेनजी युवाहरूलाई दिनुपर्छ । आगामी निर्वाचनमा हुने जेनजी युवाहरूको सहभागिता आफैँमा एउटा महाशक्ति हो । अवश्य पनि जनताको आशीर्वाद युवाहरूको साथमा रहनेछ ।
क्रान्ति वा विद्रोह सफल बनाउन नेतृत्व इमानदार र वैचारिक धरातलको जग बलियो हुनु आवश्यक हुन्छ । अधिकार प्राप्तिका लागि जनताको रगत बगाउन लगाएर सत्ता र निजी स्वार्थको खेल गर्ने दलालहरूलाई इतिहासले माफ गर्ने छैन । मुलुकको अस्तित्व रक्षा गर्न अघि बढेका निर्दोष, देश–रक्षक, शान्ति–दूत जेनजी युवाहरूको निर्मम हत्या गर्ने जो भए पनि जबाफदेही र कारबाहीको भागीदार बनाउनै पर्छ ।
मुलुकलाई फोहरी राजनीतिको खेलमा फसाउने, सत्ताको दुरूपयोग गरी भ्रष्टाचारीको मतियार बन्नेहरू नयाँ–नयाँ आवरणमा टाउको उठाउँदै छन् । उनीहरू विभिन्न हतकन्डा अपनाउँदै मुलुकलाई यथास्थितिमा राख्ने दुस्प्रयास गरिराखेका छन्, जसको परिणाम भयावह हुनसक्छ । मुलुक ठूलो दुर्घटनातर्फ उन्मुख हुँदो छ । पुरानो सत्ताले नेपाली समाजलाई गृहयुद्धतर्फ धकेल्न चाहेको टड्कारो देखिँदै छ ।
संसद् पुनःस्थापनाको गोलचक्करमा फसाएर २०८२ फागुन २१ गते घोषित प्रतिनिधिसभाको निर्वाचनको मिति टारिने सम्भावना पनि उत्तिकै छ । सांसद र सरकारको भ्रष्टाचारयुक्त गतिविधिले असफल बनेको संसद् जेनजी आन्दोलनपछि उत्पन्न सङ्कटकालीन परिस्थितिबीच विघटन भएको थियो । तर जनभावनाविपरीत पुरानो सत्ताबाट संसद् पुनःस्थापनाको बेमौसमी बाजा बजाउँदै जेनजी आन्दोलनप्रति अपमान गर्ने काम भइरहेको छ । यसले मुलुकलाई थप सङ्कटतर्फ धकेलेको छ ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार २०४७ सालको कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारजस्तै जनआन्दोलनको जगमा बनेको शक्तिमान सरकार हो । यो सरकारले २०४७ सालको जस्तो अन्तरिम संविधान घोषणा गरी, अध्यादेशहरू ल्याई विद्यमान सङ्कट समाधान गर्न सक्नुपर्छ । निर्वाचनको समय केही सारेर भए पनि विवादित विषयहरूमा जनमतसङ्ग्रह गराइनु पर्छ । आन्दोलनको जगमा बनेको सरकारलाई कसैको दबाब वा प्रभावमा परी बाटो बिराउने छुट छैन ।
संविधानसभाको निर्वाचनका बेला दमन गरिएको हिन्दु धर्मको पक्ष, प्रत्यक्ष वा संसदीय प्रणालीबाट निर्वाचित प्रधानमन्त्री आदि विषयमा जनमतसङ्ग्रह गराएर अगाडि बढ्दा बेस हुन्छ । विवादित विषयको छिनोफोनोसहित संविधानलाई सर्वस्वीकार्य बनाउँदै सर्वपक्षीय गोलमेच सम्मेलनमार्फत समस्याहरू समाधान गर्न सकिन्छ । यथास्थितिको निर्वाचनले मुलुक उभो लाग्दैन । २०१५ सालदेखि जनताले अनेकौँ निर्वाचन देखिसके । निर्वाचनले परिणाममुखी, जनअपेक्षित, स्थिर व्यवस्था दिनसकेको छैन । प्रमुख दल र तिनका नेताहरूले जनचाहनाअनुसार संविधानमा संशोधन गर्छौँ भने तर गर्न सकेनन् ।
नेताहरूको राजनीतिक चरित्र–लीला गजबको छ । विचार मिलाउँदा एउटासँग गठबन्धन, चुनाव लड्दा अर्कैसँग गठबन्धन, सरकार बनाउँदा तेस्रो गठबन्धन, मन्त्री–प्रधानमन्त्रीको पद नपाउँदा वा विवाद पर्दा चौथो गठबन्धन र कुनै उपाय नलागे पक्ष–विपक्ष मिली पाँचौँ गठबन्धन । यो कस्तो लोकतान्त्रिक, गणतान्त्रिक ताल हो ?
मधेसकेन्द्रित दलाल नेताहरूको चाल अझ निराला छ । सामान्य बहुमतबाट सरकार बन्ने अवस्था आए मुलुकलाई लुट्न यिनीहरू पहिल्यै खुट्टा उचाल्छन् । तर दुईतिहाइ बहुमत भएको बेलामा समेत यिनीहरूले ‘मालिकहरू’सँग संविधान संशोधनको कुरा गर्न सकेनन् । यसको अर्थ मधेसका जनतालाई अधिकार सम्पन्न बनाउने मुद्दा यिनीहरूको प्राथमिकता होइन, आर्थिक चलखेल र अकुत सम्पत्ति आर्जन यिनीहरूको अभीष्ट हो ।
मधेस केन्द्रित दलाल नाइकेहरू महन्थ ठाकुर, हृदयेश त्रिपाठी, राजेन्द्र महतो, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, उपेन्द्र यादव, शरदसिंह भण्डारी, राजकिशोर यादव, सिके राउत, रेशम चौधरी र यिनका भरौटेहरूको दुस्प्रवृत्तिबारे जनता जानकार नै छन् । यिनीहरूको कुकर्मको कालोचिठ्ठा समयसँगै सार्वजनिक हुनेछ । नेताहरूको दर्शन, आदर्श, नीति, उद्देश्य, सिद्धान्तमा चरम विचलन देखिएको छ । उनीहरूो वचन र कर्ममा देखिएको फरकपनको स्वतन्त्र विश्लेषण हुनुपर्छ । केही दलाल नाइके र यिनका भरौटेहरूलाई गत निर्वाचनमा हराएर मधेसका जनताले थोरै भए पनि पाठ सिकाएका छन् । तर डोरी जले पनि बल बाँकी नै छ भने जस्तो केही कसर यथावत् छ । आगामी निर्वाचनमा जनताले बाँकी फोहर–मैला बढार्ने निश्चित छ ।
यद्यपि दलाल नाइके र तिनका भरौटेहरू जनतालाई भ्रममा पारी निर्वाचनमा आफ्नो मत बढाउने उद्देश्यले जनजागरण अभियानका नाममा पुरानै नौटङ्की प्रदर्शन गर्ने योजनामा छन् । तर इमानदार युवाहरूले भ्रष्टहरूको साथ छोडिसकेका छन् । मधेस आन्दोलनपश्चात् तयार युवापुस्ता जनविश्वास गुमाइसकेका दलालहरूको चरित्रप्रति घृणा गर्छ ।
भनिन्छ, १२ वर्षमा खोला फर्किन्छ तर दलालीमा रमाएकाहरूको बुद्धि फर्किँदैन । २०८२ फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूचीमा नाम राख्न र प्रत्यक्षतर्फको टिकट प्राप्त गर्न राम्रो नजराना बुझाउनसक्ने उम्मेदवारको खोजी तथा चलखेल पूर्ववत् छ । दलका नेताको मात्र होइन, प्रधानमन्त्री, राष्ट्रपतिसमेतले लुकेर ज्यान जोगाउनु पर्ने अवस्था सिर्जना गर्न सफल जनआन्दोलन २०८२ को प्रभाव दलाल नेता र तिनका भरौटेहरूमा पर्न नसकेको देख्दा आश्चर्य लाग्छ । मुलुकको रक्षाजस्तो संवेदनशील विषय आइलागेको वर्तमान अवस्थामा समेत नेताहरूको धन्दा रोकिएको छैन ।
राजनीतिलाई कमाइ खाने भाँडो बनाउने धन्दा नियन्त्रण गर्न सार्वजनिक जीवनमा पारदर्शी व्यवहार अपरिहार्य सर्त हो । त्यसका लागि ‘नागरिक पारदर्शिता परिचय–पत्र’ लागू गर्नुपर्छ । परिचय–पत्र वितरण गर्नुपूर्व दैनिक उपभोग्य वस्तुबाहेक बेचबिखन हुने खालका सबै सम्पत्ति रोक्का गर्नुपर्छ । परिचय–पत्र बनाउँदै जानेहरूको हकमा रोक्का फुकुवा हुने व्यवस्था गर्नुपर्छ । ‘नागरिक पारदर्शिता परिचय–पत्र’ भएका उम्मेदवार, कर्मचारी र सुरक्षाकर्मीबाट निर्वाचनको वातावरण धेरै हदसम्म निस्पक्ष र भयरहित हुने निश्चित छ ।
जुनसुकै वर्ग, तह–तप्कामा रहेका भ्रष्ट, कालोधन कुबेरहरूको सम्पत्तिको स्रोत र कामको तिनपुस्ते खोजिनु पर्छ । भ्रष्ट, दलालहरूको अभिलेख सार्वजनिक र देश लुटी कमाएको सम्पत्ति जफत गरिनुपर्छ । भ्रष्ट राजनीतिकर्मीको तीन–पुस्ता राजनीतिमा आउन नपाउने गरी प्रतिबन्ध लगाइनु पर्छ । खानतलासी, छापामारी अभियान चलाई देशभरीको कालोधन राज्यकोषमा दाखिला गर्नुपर्छ ।
राजनीतिमा दलाल प्रवृत्ति, माफियाकरण, भ्रष्टाचारविरुद्ध वर्तमान संविधान जारी हुनुपूर्व नै विद्रोह घोषणा भएको थियो । त्यो बेला केही इमानदार साथीहरू दलाल नाइकेहरूको भुलभुलैयामा परे पनि उनीहरूले विदुर नीति अख्तियार गरेका थिए । उनीहरूबाट आवश्यक समयमा क्रान्तिका पक्षमा सहयोग हुँदै आएको थियो । अब भने आर्थिक क्रान्तिलाई लक्ष्यमा पु¥याउने बेला आएको छ । इमानदार साथीहरू खुलेरै देखापर्ने अपेक्षा छ । विद्रोहको शुभारम्भदेखि आफ्नो ठाउँबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने इमानदारहरूको सार्वजनिक सक्रियताले दलाल नाइकेहरूको मुटुमा ढ्याङ्ग्रो ठोकिने मात्र छैन, शेष जरैदेखि उखालेर फ्याँक्न ठुलो मद्दत पुग्नेछ ।
परिस्थितिको मागविपरीत दलालहरू पनि अस्तित्वको खोजीमा छन् । उनीहरू कथित ‘जनजागरण कार्यक्रम’को फन्डासहित पुनः परिदृश्यमा देखापर्दै छन् । कोही पृथकतावादी कुरा गर्दै छन् भने कोही निर्वाचनमा उम्मेदवार मिलिभगतको चक्रब्युह रचना गर्दै छन् । दलाल नाइके र तिनका भरौटेहरूले गर्ने जनजागरण वा आन्दोलन, साझा उम्मेदवारको कुरा विदेशी शक्तिसँग पैसा ठग्ने मेलोमात्र भएको जनताले बुझेका छन् । सचेत मधेसी समुदायलाई अब बेबकुफ बनाउन सम्भव छैन ।
आगामी निर्वाचनमा हुने भनिएको एजेन्डाविहीन दलाल, मुलुक लुटेराहरूको कार्यगत एकता शिशुपालको प्रलापभन्दा बढी हुनेछैन । सौ चुहा खाके बिल्ली हजको चली । बाघको खोल ओढेका स्यालहरू जनताले चिनिसके । इमानदारहरूको सङ्घर्ष खेर जाने छैन । मुद्दा छोडेर हिँड्ने दलाल, माफिया, भ्रष्टहरूका साथमा मधेस आन्दोलनको वैधता (लिगेसी) हुँदैन । मधेसी समुदायले सत्यका पक्षमा अभिमत जाहेर गर्नेछन् । मुलुकको भविष्यप्रति चिन्तित सचेत युवाहरू भ्रष्टहरूलाई गाउँ–गाउँबाट लखेट्न तयार छन् । सजग नेपालीको त्रिनेत्र खुल्ने समय आउँदै छ । महाप्रलय हुने समय निकट छ ।

पाथीभरा क्षेत्रमा रह ...

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन् ...

महिला सक्रियता ...

गोरखाको धार्चे गाउँपालिका-५ गुम्दामा निरन्तरक ...

महिलाको दिनचर्या ...

सुनसरीको इनरुवा नगरपालिका–९ मा दाउराको भारी बोकेर ...

दाउरा संकलन ...

सुनसरीको कोसी ब्यारेज नजिक सप्तकोसी नदीको बाढीले बगाएर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]