एमालेका अजम्मरी फूलहरु

  • मंसिर २, २०८२ / नेपाल रेखा
alt

प्रा.डा. बद्रीविशाल पोखरेल
जननेता मदन भण्डारीले एमाले पार्टीलाई प्रतिभाको फूलबारी बनाउन प्रयत्न गरेका थिए । त्यसैले त उनले जनताको मन जितेर राजनीति राजकीय क्षेत्रको नेतृत्व हासिल गर्नु पर्छ भनेका हुन् । मदन त देशलाई नै प्रतिभाको फूलबारी निर्माण गर्न लागिपरेका थिए । यस्तो काम मदनको अवशानसँगै सेलाउन थाल्यो । अब बिलाउने हो कि भनेझैँ देखिन्छ । कम्युनिस्टहरुको प्रतिस्पर्धा आफू मात्र ठूलो र महान् ठान्ने हुने सामन्तवादी र पुँजिवादी खालको होइन । तिनको प्रतिस्पर्धा समाजवादी हो । यसको अर्थ आफू एक्लो मात्र होइन सिङ्गो आफ्नो वर्ग, समूह, समुदाय र समाजलाई नै सक्षम बनाउनु हो । तर अहिले पार्टीमा पुँजिवादी भन्दा पनि चरम सामन्तवादी प्रतिस्पर्धा अर्थात् म हात्ती, अरु सब भुसुना भन्ने कर्मले शिखरारोहण गरेको स्थिति छ । म,मेरो,मलाई र मैले मात्र भन्ने गरेको प्रमुख नेताबाट सुनिन्छ । मानौँ महाराज हुकुम गरिरहनु् भएको छ र अरु सबका सब रैती हुन् र उनीहरु पुराण सुनिरहेका छन् । यस्तो सम्मको स्थितिमा पनि मुख सिएर बस्नु जस्तो दुर्भाग्यपूर्ण कुरा अर्को के हुनसक्छ ! अनेक प्रतिकूलता विरुद्ध संघर्ष प्रतिभाहरु जन्मिँदा रहेछन्, ढुङ्गाको काप छेडेर पनि पीपल उम्रन्छन् । तर सबै प्रतिभा पीपलझैँ जन्मिन र हुर्किन सक्तैनन् । त्यही भएर प्रतिभा जन्मिने र जन्माउने उपययुक्त परिवेश निर्माण गर्ने उपाय मदनले निर्माण गरेका हुन् । तर मनजित्ने भन्दा मन चिमोट्ने र निमोठ्ने चरित्र र चिन्तन हाबी प्रभावी भएको देख्दा आम एमाले अत्यन्त दुखित देखिन्छन् । तथापि अष्टलक्ष्मी शाक्य र ईश्वर पोखरेलजस्ता अजम्मरी फूलहरु फुलिरहेकै छन् तिनले सुगन्ध र सुवास फैलाइरहकै छन् । पुष्पलाल, मनमोहन, मदन र सहाना प्रधान अजम्मरी फूलजस्ता जीवन फूल हुन् । यस्तो जीवन पो जीवन हो त ? छेस्के, छुस्के र क्षुद्र जीवन के जीवन ? फूल जस्तो कि शूलजस्तो कस्तो जीवन रोज्ने हो नेताहरु नै जानून् ।
अष्टलक्ष्मी शाक्य अविवाहित अवस्थामा नै माइतीघरबाट भागेर भूमिगत राजनीतिमा सक्रिय भइन् । भूमिगत कालमै अमृत बोहरासित विवाह गरिन् । १५ महिने छोरालाई आश्रय स्थलमा छाडिन् । र आफू रुँदै र छोरालाई समेत रुवाउँदै पार्टी काम गरिन् । आमा सम्झेर छोरा रुँदा पनि भेट्न आउने अनुकूलता उनलाई भएन । आमा एकाातिर र छोरा अर्कातिर रोएको अहिले सम्झँदा पाठकको मन रुन्छ । यस्ता दुख, दर्द र सकस र संघर्ष व्याहोरेकी शाक्य साँच्चै महान् हुन् । शाक्य ०४६ पछि भूमिगत राजनीतिबाट खुल्ला भइन् । अनि छोरा विश्वाससित शाक्यको भेट भयो तर छोरा विश्वासले आफ्नी आमा र बाबुलाई नचिन्दाको अनुभूति कति पीडादायी भयो होला ? । यो कुरा पितृतन्त्री ग्रन्थि ग्रसित पाषण हृदयी पुरुषलाई मात्र होइन नामका महिलालाई पनि थाहा नहुनसक्छ । थाहा हुँदो होे त सहकर्मी र सहयोद्धाको मन र मुटु चिमोट्ने र घाँटी निमोठ्ने कर्मको प्रतिवाद गर्ने थिए । महिला अस्मिता माथि दिन दहाडै धावा बोल्दा चुइक्क नबोले महिला के महिला ?
महिला नेताहरुले भूमिगत कालको पार्टी जीवनमा भोगेका सकस र संघर्ष कहाली लाग्दा देखिन्छन् । लोचना अधिकारीले भूमिगत कालका रातीराती पार्टी काममा जाँदा बाघबाट बाच्न रुखमा चढेर बचेको, भूमिगत हुँदाकै बखत गर्भवती हुँदा पौष्टिक खानाको अभावमा अपाङ्ग छोरा जन्मिएको दर्दनाक पीडा उल्लेख गरेकी छिन् । गोमा देवकोटाकाअनुसार पति ऋषि देवकोटा आजादको निर्मम हत्यापश्चात् नुनिला आँसु पिएर बाँच्नु परेको थियो । उनले गाउँघर र छरछिमेकमा महिलाहरुसित भेटेर कुराकानी गर्दा समेत छिमेकीले बुहारी बिगार्न आएकीजस्ता अनेक गाली आफूले खानुपरेको बताएकी छिन् । जया घिमिरले प्रहरीको पक्राउमा परेर आफू डोरीले बाँधिएको असाध्य पीडामय अवस्था बताएकी छिन् र उनले आफू भाग्न खोज्दा प्रहरीले गोली चलाए पनि संयोगले बाँचेको बालबाल बच्न सकेको अवस्था उल्लेख गरेकीछिन् । यसरी घर परिवार आफ्नो जिउज्याानको पर्वाह नगरी कम्युनिस्ट आन्दोलन उठाउने, जोगाउने र जगाउनेको नाम छैन केही वर्ष जेल परेको भनेर फुइँ हाँकेको मात्र होइन म नै सर्वे सर्वा भनेकाो देख्दा लाज नै लजाउँछ ।
हुन पनि विश्वेश्वरा दाहाल, पवित्रा निरौला, पूर्ण शोभा चित्रकार, लीला कट्टेल लगायत महिलाले भूमिगत कालदेखि हालसम्म अनवरत रुपमा पार्टी निर्माण र विकासमा गरेको योगदान विशिष्ट रहेको छ । हजारौँ सहिदहरुको बलिदानीपूर्ण संघर्ष, त्याग र बलिदानलाई कसैले पनि बिर्सन मिल्दैन । विगत कालका कुनै पनि कसैले पनि गरेका गुनलाई घुनलेझैँ ठान्नु र दुत्कार्नु हँुदैन । र अझ अहङ्कारी लोली र बोलीमा एउटा कम्युनिस्ट र अझ जबजको उच्च तहको नेतृत्वले हुङ्कार गर्न पटक्क सुहाउन्न । प्रसिद्ध लेखक सइन्द्र राईले एक लेखमा अष्टलक्ष्मी शाक्यलाई पार्टीकी रक्षा कवच मानेका छन् । हुन पनि खास महत्वाकांक्षा नाख्ने, आफूमात्र अवसरहरु लिन हत्ते नहाल्ने,महिलालाई अझै पनि समानतापूर्ण र सम्मानपूर्ण व्यवहार नगरे पनि निरन्तर यसमा संघर्षरत रहने, पार्टीमा आफू सिनियर भए पनि तदनुसारको व्यवहार नहुँदा नआत्तिने आजीवन संघर्षरत रहने सती सालझैँँ सधै खडा रहने स्वभाव शाक्यको रहेको देखिन्छ । अझै पनि एमाले पार्टीमा अनेकौँ कोपिल, पल्लवित र पुष्पित फक्रिँदै गरेका प्रतिभाहरु छन् तर तिनको अवस्था अबका दिन के होला भन्ने चिन्ता पार्टी जनमा व्याप्त देखिन्छ । यस क्रममा यस लेखमा उल्लेख गर्न लागिएका अर्का फक्रिएका फूल हुन् ईश्वर पोखरेल ।
ईश्वर पोखरेल कम्युनिस्ट राजनीतिप्रति ११ वर्षको बाल्य वयदेखि नै झुकाव राख्थे । २०२६ सालमा युवा उमेरमा नै अनेरास्ववियुको नेतृत्व तहमा आवद्ध हुँदै पोखरेल आज पर्यन्त राजनीतिमा सक्रिय रहेका छन् । मदनको दुखद् र षडयन्त्रपूर्वक हत्या पश्चात् पोखरेल सहितले के.पी.ओलीलाई महासचिव बनाउन चाहेको केशव बडालले आफ्नो कृतिमा उल्लेख गरेका छन् । १० औँ महाधिवेशनमा अध्यक्ष हुने ओलीको चाहना पूरा गर्न ईश्वर पोखरेलसहित काँध थापेरै लागिपरे । माधवकुमार नेपाल र झलनाथ खनाललाई अध्यक्ष बनाउन पनि पोखरेलले काँध हाले । उनले यो वा त्यो पदका लागि अहिले सम्म हत्ते हालेको पाइन्न । सधैँ आफूलाई भन्दा अरु नेतालाई महासचिव र अध्यक्ष बनाउन उनी लागिरहे । पोखरेल पठन र लेखन संस्कृति प्रेमी हुन् भन्ने यस लेखकसितको पहिलो साक्षात्कारबाट थाहा भएको थियो । उतिबेलै पोखरेललाई लेखकमैत्री भावनाका पाएको थिएँ । उनी ल जबज प्रतिप्रतिबद्ध र त्यसैमा समर्पित नेता हुन् । यो कुरा पार्टी पूर्व उपाध्यक्ष विद्या भण्डारीलाई अध्यक्षले नै प्रयोजित विवादमा तानेर सडकमा तानेर ल्याए । उक्त अन्तर्विरोध सुल्झाउन सन्तुलित भूमिका पोखरेलले खेलेका थिए । जबजले जनता, कार्यकर्ता, सहयोद्धा र सहकर्मीको मन जितेर नेतृत्व हासिल गर्नु पर्छ भन्छ । त्यसका विपरीत मन चिमोट्ने, निमोठ्ने र चिथोर्ने कुरा जबजअनुसार सर्वथा गलत छ । माक्र्सवाद र जबजका अनुसार काममा आफू अघि र अवसरका बेला सकेसम्म अरुको नाम प्रस्तावित गरिन्छ । एउटा उच्च तहको कम्युनिस्ट नेताले हिन्दीको एक उखानमा भनेझैँ माने मान, मै तेरा मेहमान भन्दैन । भुइँ तहदेखि क्रमशः पार्टी र सरकारको पनि माथिल्लै तहको ज्ञान अनुभव सहितको नेतृत्वले पार्टीलाई सबल बनाउन सक्छन् र यिनले नै पार्टीलाई शिखरतिर उन्मुख गराउँछन् । त्यसैले शाक्य र पोखरेलजस्ता त्याग समर्पणका प्रतिमूर्तिले नै कुशल अभिभावकीय भूमिका निर्वाह गर्न सक्छन् । यिनै पार्टीका अजम्मरी फूलहरु हुन् ।
इटहरी निवासी लेखक वरिष्ठ बुद्धिजीवी तथा एमाले पूर्व केन्द्रीय सदस्य हुन् ।

१४ औ वार्षिक उत्सवको ...

डि पी ढुंगेल विराटनगर : विराटनगर महानगरपालिका - ४ ...

दलित सवालमा एकजुट भए ...

इटहरी । दलित समुदायले आफ्ना साझा मुद्दा पहिचान गरी साझा ...

दैनिक जीवनको तनाव: स ...

आजको व्यस्त जीवनमा तनाव हाम्रो दैनिक अनुभवको एउटा हिस्स ...

संविधान दिवस तथा राष ...

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]