इटहरी । नेकपा (माओवादी केन्द्र) का युवा नेता मदन चुडालले हालै देशभर फैलिएको जेन–जी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै, उक्त आन्दोलनलाई बदनाम बनाउने नियोजित प्रयासहरूप्रति गम्भीर आपत्ति जनाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्तिमा भनेका छन्, ‘नेपालका विद्यार्थी भाइबहिनीहरूले सुशासनका निम्ति सुरु गरेको यो आम विद्रोह एउटा ऐतिहासिक कदम हो । तर, उनले आन्दोलनको मूल मर्म र उद्देश्यलाई भुल्दै केही पक्षहरूले यो अभियानलाई बदनाम गर्न खोजेको आरोप लगाए । विशेषतः काठमाडौंका मेयर बालेन शाहप्रति संकेत गर्दै उनले भने, ‘तर यो महान अभियानलाई बालेन साह जस्ता पात्रहरूले बदनाम पार्न खोज्नु अहिले आम चासोको विषय बनेको छ ।’
चुडालले आन्दोलनमा अग्रसर रहेका युवा पुस्तालाई पाखा लगाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै भने, ‘यदि आन्दोलन सहि उद्देश्यका लागि गरिएको हो भने, त्यसको नेतृत्व युवाहरूबाटै हुनुपथ्र्यो । तर ३–४ दिनको वार्ता र प्रधानमन्त्री चयनका लागि गरिएको लिगलिगे दौडमा नेपाली सेनाको संलग्नता ले आन्दोलनको आत्मालाई नै क्षति पुर्याएको छ ।’
चुडालले अन्तरिम सरकारसम्बन्धी चुलिएको बहसतर्फ संकेत गर्दै धरानका मेयर हर्क साम्पाङको अभिव्यक्तिलाई उद्धृत गर्दै–‘यो अन्तरिम सरकार के हो, हर्क साम्पाङको मुखबाट सुनिहाल्नुभयो होला । अन्ततः हात लागेको शून्य भयो ।’
उनले जेन–जी आन्दोलनले उठाएका विषयहरू–बा हटाएर हजुरआमा ल्याउने कुरा–प्रतीकात्मक भए पनि, त्यसले गहिरो राजनीतिक असन्तुष्टि झल्काएको बताएका छन् । ‘युवाहरूको मुद्दा केवल पुस्ता परिवर्तन होइन, प्रणाली परिवर्तन हो,’ चुडालले जोड दिए ।
उनले आन्दोलनमा सहादत प्राप्त गर्ने महान शहीदहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।