इटहरी । धनकुटाको सहिदभूमि गाउँपालिका–७ का ५० वर्षीय रुद्रबहादुर राई लागू औषध गाँजासहित पक्राउ परेका छन् ।
बिहीबार साँझ ६ः३० बजे सुनसरीको कोशी गाउँपालिका–०७ हरिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा चेकजाँचको क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
धरानबाट पोखरातर्फ गइरहेको ग१ख २१८७ नम्बरको यात्रुबाहक बसलाई विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले रोकेर चेकजाँच गर्दा, बसको डिक्कीभित्र ७ वटा डल (गुडिया) मा प्याक गरिएको अवस्थामा १०.९४ किलोग्राम गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार सोधपुछका क्रममा ती डलहरू राईकै भएको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो ।
राईलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर थप अनुसन्धान भइरहेको छ ।