विराटनगर । जातीय छुवाछूत, अपमान र सार्वजनिक बेइज्जतीजस्ता गम्भीर घटनामा पीडित दलित महिलाहरूमाथि अझै पनि उचित न्याय दिन राज्यको संयन्त्र असफल देखिएको छ । पीडितमाथि अन्याय हुँदा पनि दोषी खुलेआम हिँडिरहेका छन् भने दलित समुदायका महिलाहरू अझ पीडित, अझ त्रसित र अझ उपेक्षित भइरहेका छन् ।
सहारा नेपाल सहकारीकी फिल्ड सुपरभाइजर शुसीला विश्वकर्मा एकजना सामान्य कर्मचारी हुन्, जसले विगत ११ वर्षदेखि इमानदार तरिकाले आफ्नो पेशा निर्वाह गर्दै आएकी छन् । तर, उनी दलित भएकै कारण मोरङको मिक्लाजुङ–२ रचनाटारमा केही ऋणी महिलाहरूबाट जातीय आधारमा सार्वजनिक बेइज्जती र साइबर अपराधको शिकार बन्न पुगिन् ।
ऋण समिक्षा बैठकमा जाँदा ऋणी माया मगर र दुर्गा लिम्बूले उनलाई समातेर जुत्ताको माला लगाइदिए, भिडियो खिचे र त्यो सामाजिक सञ्जालमा पोष्ट गरे । यो घटनाले न केवल उनको व्यक्तिगत गरिमा र आत्मसम्मानमाथि आघात पुर्यायो, तर सम्पूर्ण दलित महिलामाथिको सास्तीलाई पुनः उजागर गरिदियो ।
शुसिलाले स्पष्ट रूपमा साइबर अपराधसहित अभद्र व्यवहारको किटानी जाहेरी दिँदा पनि प्रहरीले गम्भीर धाराहरू नलगाई सामान्य ‘अभद्र व्यवहार’ मा मात्र मुद्दा चलायो । २० दिन बितिसक्दा पनि अपराधीहरूलाई पक्राउ गरिएको छैन । बरु उल्टै पीडकका आफन्तले ‘मान्छे हराएको’ नाटक गर्दै प्रहरीमा निवेदन दिएका छन् ।
पीडित शुसिलाले भनिन्– ‘म सामान्य कर्मचारी हुँ, मेरो गल्ती के थियो ? मैले किटानी जाहेरी दिएकी छु, तर प्रहरी अझै अपराधी समात्न सक्दैन भने मलाई कहिले न्याय मिल्छ ? म मानसिक रूपमा विक्षिप्त भइरहेको छु, म आत्महत्या गर्न बाध्य नहोऊँ भन्ने चाहन्छु ।’
यस्ता घटनाहरू एक्ला घटना होइनन् । यसअघि मोरङको लेटाङमा झिनो विवादमा दलित वृद्धामाथि सांघातिक हमला हुँदा अदालतले पीडकलाई सजिलै धरौटीमा रिहा गर्यो, जसका कारण वृद्धालाई काठमाडौँसम्म उपचारका लागि पठाउनु परयो ।
दलित महिला संघ (फेडो) कोशी प्रदेश सचिव दुर्गा नेपालीले भनिन्–‘शुसिला दलित भएकै कारण उनलाई सजिलै अपमान गर्न सकिन्छ भन्ने मानसिकताले यो अमानवीय व्यवहार गरिएको हो । हामीले प्रहरी, प्रशासन सबैलाई जानकारी गरायौं तर अझै कारबाही भएको छैन ।’