अनलाइन टिभी पत्रकार सङ्घद्वारा एआई आचारसंहिता जारी

  • साउन ५, २०८२ / नेपाल रेखा
alt

काठमाडौँ । नेपालमा पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी आचारसंहिता जारी गरिएको छ । अनलाइन टिभी पत्रकार सङ्घले ‘अनलाइन टिभी एआई आचारसंहिता २०८२’ जारी गरेको हो ।
काठमाडौँमा आज आयोजित आचारसंहिता घोषणा समारोहमा सङ्घका अध्यक्ष जीवन भण्डारीले १२बुँदे आचारसंहिता घोषणा गर्नुभएको हो । उहाँले एआईको दुरुपयोग न्यूनीकरण गर्ने र एआईको प्रयोगलाई सही बाटोतर्फ लैजानका लागि आचारसंहिताको आवश्यकता भएकाले एआई आचारसंहिता जारी गरिएको बताउनुभयो । एआईको प्रयोग अनलाइन टिभीहरूमा बढ्ने सम्भावना अत्यधिक देखिएकाले अनलाइन टिभीकर्मीलाई बेलैमा सचेत र जिम्मेवार बनाउन अनलाइन टिभी एआई आचारसंहिताको आवश्यकता महसुस गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
सूचना प्रविधि क्षेत्रको अग्रणी संस्था क्यान महासङ्घका वरिष्ठ उपाध्यक्ष चीरञ्जीवी अधिकारीले अनलाइन टिभी एआई आचारसंहिता नै नेपालको पहिलो एआई आचारसंहिता भएको दाबी गर्नुभयो । अनलाइन टिभी पत्रकार सङ्घले एआई आचारसंहिता जारी गरेर अनुकरणीय बाटो देखाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यस्तै अभ्यास सबै क्षेत्रमा अत्यावश्यक भइसकेको छ ।”
सङ्घले जारी गरेको आचारसंहितामा प्रस्तावित राष्ट्रिय एआई नीति–२०८१ का मर्म र उद्देश्यलाई मध्यनजर गर्दै एआई आचारसंहिता जारी गरिएको उल्लेख छ । एआईको सहयोगमा बनाइएका सम्पूर्ण सामग्रीको अन्तिम परीक्षण, सम्पादन तथा अनुमोदन मानव जनशक्ति अर्थात सम्पादकबाट नै गरिने र त्यसपछि मात्रै प्रकाशित गरिने आचारसंहिताको पहिलो बुँदामा लेखिएको छ ।
त्यसैगरी एआईद्वारा सिर्जित सामग्रीको जिम्मेवारी सम्बन्धित व्यक्ति, सम्पादक र संस्थाले लिने र एआईको प्रयोग भएको सामग्रीमा यसको स्पष्ट जानकारी दिइने पनि आचार संहितामा उल्लेख गरिएको छ । व्यक्तिगत गोपनीयता, चरित्र, अश्लील, संवेदनशील, निजी वा सुरक्षासम्बन्धी सूचना प्रवाह गर्दा प्रचलित कानुनको पालनामा विशेष सावधानी अपनाइने र भ्रम सिर्जना गर्ने, पक्षपातपूर्ण वा झुटा जानकारी प्रवाह गर्ने गरी एआईको प्रयोग नगरिने अनलाइन टिभी पत्रकार सङ्घले प्रतिबद्धता गरेको छ ।
अनलाइन टिभी पत्रकार सङ्घमा आबद्ध सबै अनलाइन टिभी पत्रकारले आचारसंहिता अनिवार्य पालना गर्नुपर्ने र त्यसको अनुगमन सङ्घले आफ्नो तरिकाले गरिरहनेलगायतका विषय आचारसंहितामा लेखिएको सङ्घका वरिष्ठ उपाध्यक्ष सञ्जीव रेग्मीले जानकारी दिनुभयो । इन्टरनेटमा श्रव्यदृश्य पत्रकारिता गर्दै आएका सञ्चारकर्मीको पहिलो र साझा संस्थाको रूपमा रहेको अनलाइन टिभी पत्रकार सङ्घले यसअघि २०७७ सालमा अनलाइन टिभी स्वनियमन निर्देशिका जारी गरेको थियो ।

गौरादहमा लालपैनी खोल ...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक प ...

दशैंको मुस्कान पछाडि ...

  दशैं नजिकिँदै छ। घरमा हाँसो, टीका, जमरा, मिठो ख ...

भेडेटार पार्क ...

पूर्वको प्रसिद्ध पर्यटकीयस्थल धनकुटाको भेडेटा ...

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]