काठेखोलाका ४७९ घर बाढीपहिराको उच्च जोखिममा

  • असार १०, २०८२ / नेपाल रेखा
alt

बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा ४७९ घर बाढीपहिराको उच्च जोखिममा परेका छन् । सडक छेउ र खोला किनारका घर बाढीपहिराको उच्च जोखिममा परेका हुन् ।
सबैभन्दा बढी काठेखोला–७ रेशमा र वडा नं ६ तल्लो बिहुँका घर जोखिममा परेका गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ७ रेशमा १२६ र वडा नं ६ तल्लो बिहुँमा नौ घर बाढीपहिरोको जोखिममा परेका छन् ।
रेशका ६० घर पहिरो जाने भिरालो जमिनमा रहेका र ६६ वटा बस्तीको छेउछाउ मोटरबाटोका कारण जोखिममा रहेका प्रवक्ता विकले बताउनुभयो । तल्लो बिहुँका नौ वटा घर भिरालो जमिनमा रहेकाले जोखिममा परेका उहाँले जानकारी दिनुभयो । आठ वटा वडा रहेको काठेखोलाका धेरैजसो वडाका घर जोखिममा परेका छन् ।
वडा नं २ भीमापोखरामा ५२ घर पहिरो जाने भिरालो जमिनमा रहेका र पाँच मोटरबाटो निर्माणका कारण जोखिममा परेका विकले जानकारी दिनुभयो । वडा नं ३ धम्जामा एक घर खोलाको जोखिममा, ४६ भिरालो जमिनमा र २१ वटा सडक छेउका घर जोखिममा परेका उहाँको भनाइ छ । वडा नं ४ तङ्ग्राममा १३ घर भिरालो जमिनमा रहेका र २२ वटा सडक छेउका पहिरोको जोखिममा छन् ।
वडा नं ५ माथिल्लो बिहुँमा १४ घर भिरालो जमिनमा रहेका र ५८ सडक निर्माणपछि पहिराको जोखिममा रहेका प्रवक्ता विकले बताउनुभयो । वडा नं ८ लेखानीमा ५८ वटा भिरालो जमिनमा रहेका घर जोखिममा रहेका छन् । उहाँका अनुसार खोला किनारमा रहेका ३०, कमजोर भिरालो जमिनमा रहेका २७७ र मोटरबाटोको छेउमा रहेका १७२ घर पहिराको उच्च जोखिममा छन् ।
विपद् व्यवस्थापन समिति काठेखोलाले जोखिममा रहेका घरको तथ्याङ्क सङ्कलन गरेर नागरिकलाई सचेत बनाइरहेको गाउँपालिकाका अध्यक्ष राजु थापाले बताउनुभयो । जोखिममा रहेका परिवारलाई पुनःस्थापना गर्न केन्द्र र प्रदेश सरकारसँग सहकार्य गर्ने उहाँको भनाइ छ ।
अध्यक्ष थापाले भन्नुभयो, “भौगोलिक अवस्था र कमजोर जमिनका कारण बर्सेनि वर्षात्को समयमा घरबस्ती बाढी र पहिराले बगाउने समस्या छ । बाढी पहिरोबाट नागरिकको ज्यान बचाउन सचेत बनाएका छौँ, ठूलो वर्षा भएको समयमा जोखिममा रहेका घरमा नबस्न आग्रह गरेका छौँ । क्षति भएमा यति धेरै घर बनाउन पालिकाको स्रोतले नसक्ने भएकाले प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर सुरक्षित स्थानमा व्यवस्थापन गर्ने पहल गरिरहेका छौँ ।”

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]