धिरेन्द्रकुमार चौधरी
रामधुनी । रामधुनी नगरपालिका झुम्का सुनसरीबाट स्थापित झुम्का आधारभूत अस्पतालको सोमबार एक कार्यक्रम बिच उद्घाटन गरिएको छ ।
रामधुनी नगरपालिका प्रमुख शंकरलाल चौधरीले एक समारोह बिच अस्पतालको उद्घाटन गरे । समारोहमा नगरपालिका उपप्रमुख तारा थापा, नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरी, वडा अध्यक्ष र सदस्यहरुको सहभागिता रहेको थियो ।
नगरपालिका कार्यालयका स्वास्थ्य शाखा प्रमुख सुलोचना चौधरीले रामधुनी–५ मा रहेको कोभिड अस्पताल यहाँ सारिएको जानकारी दिइन् । उनले एक जना मेडिकल सुपरिटेन्डेन्ट लगायत सात जना प्राबिधिकले इमर्जेन्सी स्वास्थ्य सेवा सुरु भएको जानकारी दिइन् । यहाँबाट तत्काल आधारभूत सेवा, ल्याब, एक्सरे र स्वास्थ्य बिमाको सेवा सुरु हुने जनाइएको छ । अस्पतालले बिस्तारै सेवा थप गर्ने जनाइएको छ ।
रामधुनी–६ मा निर्माणाधिन १५ शैयाको अस्पताल निर्माण ब्यबसायीको लापरबाहीले समयमा निर्माण नभएपछि झुम्कामा रहेको नपाको पूरानो भबनबाट स्वास्थ्य सेवा सुरु गरेको हो ।