झापाका रैथाने जङ्गली हात्तीको नाम मुलादन्तेदेखि ढिकीच्याउँ दाह्रेसम्म

  • वैशाख २९, २०८२ / नेपाल रेखा
alt

झापा । झापा जिल्लाभित्र विचरण गर्दै आएका रैथाने जङ्गली हात्तीको पहिचान गरी तिनीहरूको नामकरण गरिएको छ ।
मेचीनगर नगरपालिका, इसिमोड र उज्यालो नेपालको पहलमा वन्यजन्तु संरक्षणकर्मी शङ्कर लुइँटेलले जङ्गली हात्तीका बारेमा एक दशक लामो अध्ययन गरेपछि व्यवहार र स्वरुपका आधारमा नाम दिनुभएको हो ।
‘झापाका रैथाने हात्तीहरू’ नामक पुस्तिकामार्फत हात्तीका नामहरू सार्वजनिक गरिएको छ । स्थानीय जङ्गललाई वासस्थान बनाउँदै आएका यी रैथाने हात्तीहरू पूर्वी नेपालको झापादेखि पश्चिममा उदयपुर र पूर्वमा भारतको आसामसम्म ओहोरदोहोर गर्दै आएको मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो ।
पहेँलो दाह्रा भएको र दुवै आँखाको दृष्टि गुमाएको अन्दाजी ४५ वर्षको भाले हात्तीको नाम ‘आँखा हात्ती’ राखिएको छ । मानव बस्तीमा हिँड्दा शान्त स्वभाव देखाउने र एक्लै विचरण गर्न रुचाउने यो हात्तीलाई गाउँलेले ‘अन्धा हात्ती’ पनि भन्ने गर्दथे । ‘अन्धा’ शब्द प्रयोग नहोस् भनेर ‘आँखा हात्ती’ नामकरण गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।
नेपाल–भारत सीमा क्षेत्रमा देखा परिरहने र झापाका विभिन्न सामुदायिक बनमा एक्लै डुल्ने लामो र मोटो दुई दाह्रा भएको अर्को वयस्क हात्तीको नाम ‘ठूलो दाह्रे’ राखिएको छ । मझौला दाह्रा र चञ्चले स्वभाव भएको १२ वर्ष उमेरको हात्तीको नाम ‘चुलबुल गज’ र दाह्राविपरीत दिशामा बाहिरतिर फैलिएको अन्दाजी ५५ वर्षको अर्को हात्तीको नाम ‘घुमन्ते राजगज’ राखिएको छ ।
अन्य हात्तीहरूको नाम मुलादन्ते, घुमन्ते गज, ढिकीच्याउँ दाह्रे, ठुटे, प्रसाद गज र एक दाह्रे सानो गज राखिएको छ । भारतबाट नेपालतिर हात्ती प्रवेश गर्ने विभिन्न नाकामध्येको प्रसाद गौडाबाट मात्र हिँड्ने स्वभाव भएका कारण एउटा हात्तीको नाम ‘प्रसाद गज’ राखिएको हो । मुलादन्ते हात्तीको दाह्रा मुलाजस्तो आकारको छ भने ढिकीच्याउँ हात्तीको दुईवटा दाह्रा तल र माथितिर फैलिएको छ ।
विगत आधा शताब्दीदेखि मानव–हात्ती द्वन्द्व भोग्दै आएको बाहुनडाँगीमा संरक्षणकर्मीको रुपमा लुइँटेलले जङ्गली हात्तीको आनीबानी र शारीरिक बनावटको गहिरो अध्ययन गर्नुभएको कार्कीले बताउनुभयो ।
उहाँले कुन हात्ती कस्तो छ भनेर चिन्न र त्यहीअनुसार हात्तीमैत्री असल व्यवहार गर्न सहयोग पुगोस् भनेर रैथाने हात्तीको नामकरण गरिएको बताउनुभयो । नेपालमा पाइने रैथाने हात्तीहरू एसियाली हात्तीको भारतीय उपप्रजातिअन्तर्गत पर्दछन् ।
“उहाँ यहाँ डुल्ने हरेक रैथाने हात्तीलाई टाढैबाट चिन्नुहुन्छ”, हात्तीको नामकरण गर्नुभएका संरक्षणकर्मी शङ्कर लुइँटेलका बारेमा वडाध्यक्ष कार्कीले भन्नुभयो, “उहाँ हात्तीको आनीबानी र रुपसँग परिचित हुनुहुन्छ । उहाँलाई पनि हात्तीले चिन्छन् ।”

गोधुली साँझमा माछा म ...

सुनसरीको कोसी गाउँपालिकास्थित नेपाल-भारत सीमामा पर्ने म ...

तीव्र गतिको हावाहुरी ...

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था ...

वागेश्वरी मन्दिर ...

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित घरबा ...

एस.ई.ई. स्पिकर प्रति ...

धरान । र्याडिकल लाईट नेपाल प्रा.लि. धरानको आयोजनामा सञ् ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]