इटहरी । सुनसरीको इटहरीबाट निरन्तर प्रकाशन भइरहेको पूर्वी हटलाइन दैनिक पत्रिकाले बिहीबार आफ्नो १२ औ वार्षिकोत्सव सम्पन्न गरेको छ ।
पत्रिका प्रकाशनदेखि हालसम्म बिभिन्न क्षेत्रबाट योग्दान पुर्याउने तीनजना अग्रजहरूलाई वार्षिकोत्सवको अवसरमा सम्मान गरियो । इटहरी स्थित रिजाल्स भिजन पार्टी प्यालेसमा भएको कार्यक्रममा पूर्वी हटलाइन दैनिक बिराटनगरका इञ्चार्ज तथा अग्रज भरत थपलीया, इटहरीका अग्रज पत्रकार सुवीद गुरागाँई, हटलाइनकै नियमित स्तम्भकार मोहन ढकाललाई नगद सहित दोसल्ला र सम्मान पत्रले कार्यक्रम बिच सम्मान गरिएको हो ।
कार्यक्रममा पत्रिकाका प्रकाशक, सम्पादक शालिग्राम पाण्डेद्वारा लिखित पुस्तक मुल्तबी कथाको चर्चा परिचर्चा गरिएको थियो । जनता क्याम्पस प्राध्यापक तथा साहित्यकार टिका आत्रेय, जैविक दर्शनका ब्याख्याता मोहन तिमसिना र जनता क्याम्पस अन्तरगत नेपाली भाषा विषय प्रमुख डा.मदनराज बराल लगायतले पुस्तकबारे टिप्पणी एवम् चर्चा गरेका थिए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष लिलावल्लभ घिमिरेले सूचना प्रविधिको विकाससंगै पत्रपत्रिका प्रकाशन हराउदै गएको बेला इटहरीबाट निरन्तर हटलाइनले पुर्याएको योगदानको प्रशंसनीय रहेको उल्लेख गरे ।
समय फेरिदै जादा हातहातमा इन्टरनेत जडित आइफोन र अनलाइन पत्रिकाका कारण पत्रपत्रिका प्रकाशन निरन्तर ओरालो लाग्दै गएको उनले तितो यथार्थ सुनाए ।
त्यस्तै नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष अर्जुन सुवेदीले पत्रिका प्रकाशन अहिलेको समयमा त्यसैपनि चुनौती रहेको बताउदै सामाजिक क्षेत्रका बिकृती बिसंगती, स्थानीय स्तरका सवालहरू बोकेर प्रकाशन गर्न सुझाव दिए । कार्यक्रममा नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकाल, महासंघ निवर्तमान केन्द्रिय सदस्य अमर खड्का, अग्रज पत्रकार कृष्ण बिनोद लम्साल, रिजाल्स भिजन पार्टी प्यालेसका संचालक विष्णु रिजाल, राधाकृष्ण शिव मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष विश्वप्रसाद रिजाल, इटहरी साहित्यिक समूहका अध्यक्ष हेमन्त गौतम लगायतको सहभागिता रहेको थियो ।
