भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै

  • फागुन २०, २०८१ / नेपाल रेखा
alt

भोजपुर । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ‘अकबरे खुर्सानीको प्रशोधन केन्द्र’ स्थापना गरिने भएको छ । किसानले उत्पादन गरेको अकबरे खुर्सानीले राम्रो मूल्य पाउने वातावरण निर्माणका लागि भोजपुरमा प्रशोधन केन्द्र स्थानपाको पहल थालिएको हो ।
किसानले उत्पादन गरेको अकबरे (डल्ले) खुर्सानीलाई गुणस्तरीय ढङ्गले भण्डारण तथा विभिन्न परिकार बनाएर आन्तरिक तथा बाह्य बजारमा पठाउने लक्ष्यले कृषि ज्ञान केन्द्रले यहाँ प्रशोधन केन्द्र स्थापनाका लागि पहल थालेको हो ।
बढी उत्पादन भएको याममा किसानले राम्रो मूल्य पाउन नसकेको गुनासो बढेपछि यहाँ नै खुर्सानीको प्रशोधन तथा भण्डारण गरेर बाह्य बजारमा पठाउने लक्ष्यले प्रशोधन केन्द्र स्थापना गर्न लागिएको हो । भोजपुरमा अकबरे खुर्सानी प्रशोधन केन्द्र स्थापनाका लागि कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा कार्यक्रम माग गरेर पठाएको कृषि ज्ञान केन्द्रका प्रमुख मुकेशकुमार यादवले जानकारी दिनुभयो । मन्त्रालयबाट कार्यक्रम स्वीकृत भएर आएपछि यहाँ केन्द्र स्थापनाका काम अघि बढ्ने प्रमुख यादवले बताउनुभयो ।
“पछिल्लो समय भोजपुरका किसानको मुख्य आम्दानीको स्रोतका रूपमा अकबरे खुर्सानी रहेको छ”, उहाँले भन्नुभयो, “खुर्सानीको राम्रो उत्पादन भए पनि यहाँ प्रशोधन केन्द्र नहुँदा किसानलाई समस्या छ । किसानले उत्पादन गरेको खुर्सानीको सहज बजारीकरणसँगै उत्पादित वस्तुलाई गुणस्तरीय ढङ्गले बाह्य बजार पठाउन केन्द्र स्थापनाको तयारी गरेका हौँ ।”
जिल्लामा खुर्सानीखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको प्रमुख यादवको भनाइ छ । यहाँ छ सय हेक्टर क्षेत्रमा व्यावसायिक रूपमा खुर्सानीखेती भइरहेको तथ्याङ्क रहेको प्रमुख यादवले जानकारी दिनुभयो । आगमी दिनमा क्षेत्र अझ विस्तार हुने उहाँको भनाइ छ ।
ज्ञान केन्द्रले बढी मात्रामा अकबरे खुर्सानीखेती हुने पौवादुङमा, टेम्केमैयुङ, अरुण गाउँपालिका, भोजपुर र षडानन्द नगरपालिकाका अगुवा खुर्सानी किसान, कृषि शाखा प्रमुख तथा सरोकारवाला पक्षसँग खुर्सानीखेतीमा देखिएका समस्या, यसको सम्भवना र बजारीकरणलगायत विषयमा छलफल गरेको छ । सरोकारवाला पक्षले किसानको राम्रो आम्दानीको स्रोतका रूपमा अकबरे खुर्सानी रहेकाले यहाँ प्रशोधन केन्द्र आवश्यक रहेको बताएका छन् ।
प्रशोधन केन्द्र स्थापनाका लागि कार्यालयले कार्यक्रम माग गरेकाले थप समन्वय तथा सहकार्य गर्नका लागि छ सदस्य समिति पनि गठन गरिएको छ । अरुण गाउँपालिकाका अगुवा किसान तोरण कार्कीको संयोजकत्वमा समिति गठन गरिएको हो ।
कृषि ज्ञान केन्द्रले यहाँका अधिकांश किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको अकबरे खुर्सानीको प्रवर्द्धन तथा विकासका लागि थालेको काम राम्रो रहेको पौवादुङमा गाउँपालिका किसान ध्रुव राईले बताउनुभयो । प्रशोधन केन्द्र स्थापनापछि यहाँका किसानलाई प्रत्यक्ष लाभ पुग्ने उहाँको भनाइ छ । विगतबाट नै यहाँ खुर्सानी प्रशोधन केन्द्र माग भइरहेको किसान राईले बताउनुभयो ।
“हामी धेरै किसानले व्यावसायिक अकबरे खुर्सानीखेती गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “उत्पादन भएको खुर्सानीको राम्रो बजारीकरण हुन सकिरहेको छैन । यहाँ नै प्रशोधन केन्द्र स्थापना भएमा खुर्सानीलाई प्रशोधन गरेर बाह्य बजारमा पठाउन सकिन्छ । यसले किसानलाई राहत पुग्छ ।”
खुर्सानी किसानको ठूलो आवश्यकताका रूपमा रहेको प्रशोधन केन्द्र स्थापनाका लागि ज्ञान केन्द्रले थालेको काममा स्थानीय तहको तर्फबाट पहलकदमी गर्ने पौवादुङमा–१ श्यामशिला वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो । अहिले यहाँ उत्पादन भएको खुर्सानी धरान विराटनगर काठमाडौँलगायत सहरमा मात्र जाने गरेको भए पनि प्रशोधन गरेर पठाएको खण्डमा विदेशमा सहज रूपमा पुग्ने वातावरण बन्ने उहाँले भन्नुभयो ।
“हामीले पनि किसानलाई खुर्सानी खेतीका लागि प्रोत्साहन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “धेरै मात्रामा खुर्सानी उत्पादन भएमा बजारीकरणमा समस्या हुन्छ । यहाँ नै प्रशोधन गरेर बाहिर पठाउन सकियो भने किसानले राम्रो मूल्य पाउने अवस्था बन्छ । किसानको हितमा हुन गइरहेको यो काम सफल बनाउन सबैले आफ्नो तहबाट भूमिका खेल्न आवश्यक छ ।”

‘पाठेघर मुखको क्यान् ...

भोजपुर । पौवादुङमा गाउँपालिकाले महिलामा हुने ‘पाठ ...

एसइई परीक्षाको सम्पू ...

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण का ...

नेपाली सेनाको स्वास् ...

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–६, स्थित घैरू ...

प्रतिगामी शक्तिविरुद ...

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]