राजन केडी
इटहरी । सुनसरीको दुहबी नगरपालिकाले आर्थिक बर्ष २०८१–०८२ को लागि १४ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य राखेको थियो, तर माघ मसान्तसम्मको राजश्व संकलनको तथ्यांकलाई हेर्दा यो लक्ष्य पूरा नहुने संकेत देखिएको छ । आर्थिक वर्ष सुरु भएको सात महिना बितिसक्दा नगरपालिकाले २ करोड ९६ लाख ३० हजार ५ सय ४३ रुपैयाँ संकलन गरेको छ, जुन लक्ष्यको २१ प्रतिशत मात्र हो ।
दुहबी नगरपालिका कार्यालय, राजश्व शाखा प्रमुख उत्तम खतिवडाले सम्पती करसहित दहत्तर–बहत्तर शुल्कबाट साउन १ गतेदेखि माघ मसान्तसम्ममा २ करोड ९६ लाख ३० हजार ५ सय ४३ रुपैयाँ राजश्व संकलन भएको बताए ।
राजश्व शाखा प्रमुख खतिवडाले साउनदेखि माघ मसान्तसम्मा सम्पत्ती करबाट २१ लाख ३५ हजार ३२ रुपैयाँ ६ पैसा राजश्व दाखिला भएको बताए । सोही अवधीमा भूमिकर–मालपोत करबाट १६ लाख १९ हजार १ सय १० रुपैंयाँ २० पैसा, बहला करबाट २३ लाख ८२ हजार ७ सय ४ रुपैंयाँ ३१ पैसा, वहाल विटौरी करबाट १३ लाख १५ हजार ५ सय १६ रुपैंयाँ, राजश्व संकलन भएको छ ।
साथै, अन्य सेवा शुल्क तथा बिक्रीबाट २ लाख ७५ हजार ६ सय १० रुपैंयाँ, न्यायीक दस्तुबाट ११ हजार ३ सय २० रुपैंयाँ ६५ पैसा, अन्य प्रशासनिक सेवा शुल्कबाट २६ हजार, घर नक्सा पास दस्तुरबाट २१ लाख १८ हजार ३ सय ८१ रुपैंयाँ ४८ पैसा, सिफारिश दस्तुरवापत १२ लाख २५ हजार २ सय ९१ रुपैंयाँ ४२ पैसा राजश्व संकलन भएकोछ ।
त्यसैगरि, व्यक्तिगत घटना दर्ता दस्तुरबाट ८१ हजार ७ सय, नाता प्रमाणित दस्तुरबाट ३३ हजार ३ सय, अन्य दस्तुरबाट ६४ लाख ७० हजार ३ सय ३३ रुपैंयाँ, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट ५३ हजार १ सय ५० रुपैंयाँ, व्यवसाय करबाट २७ लाख ९० हजार ९४ रुपैंयाँ ८ पैसा र दहत्तर बहत्तर शुल्कबाट ९० लाख ९३ हजार राजश्व संकलन भएको दुहबी नगरपालिका राजश्व शाखाले जानकारी दिएकोछ । दुहबी नगरपालिकाले दिएको यो तथ्यांकले आगामी पाँच महिनामा राजश्वको लक्ष्य पूरा हुन कठिन पर्ने संकेत गरेको छ ।