राजन केडी
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले स्थानीय कृषकलाई सहुलियत दरमा गहुँको बीउ वितरण गरेको छ । उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा १८ वटा वडाका २ सय ४१ जना कृषकलाई गहुँको बीउ वितरण गरेको हो ।
उपमहानगर कार्यालयको कृषि विकास शाखाले प्रति किसान ३० केजीदेखि बढीमा ४० केजीसम्म बीउ वितरण गरेको छ । विजय, बीएल–४३४१, जिंक–१, एनएल–९७१ प्रजातीको गहुँको बीउ वितरण गरिएको कृषि विकास शाखा प्रमुख गंगामाया अधिकारीले जानकारी दिइन् ।
कृषि विकास शाखा प्रमुख अधिकारीका अनुसार उपमहानगरपालिकाको आन्तरिक स्रोत र संघीय सरकारको ससर्त अनुदानबाट उन्नत जातको गहुँको बीउ वितरण गरिएको हो । २ सय ४१ जना किसानले चौध हजार ८० केजी गहुँको बीउ लगिसकेका छन् ।
साथै १ सय ६१ जना किसानलाई ८ सय केजी उन्नत जातको तोरीको बिउ पनि ५० प्रतिशत अनुदानमा वितरण गरिएको अधिकारीले जानकारी दिइन् । शाखा प्रमुख अधिकारीले कृषि क्षेत्रको विकास र उपमहानगर क्षेत्रका किसानको सहयोग र सुविधाका लागि बीउ वितरण गरिएको जनाइन् । इटहरी उपमहानगरको मुख्य बजार क्षेत्रका ६ र ४ नम्बर वडाबाहेक अरु १८ वटा वडामा बसोबास गर्ने किसानहरुले धान, गहुँ, तोरीसहित तरकारी खेति गर्दै आएका छन् । इटहरी वडा नम्बर १६ का कृषक लक्ष्मण पाण्डेले १ विघाह क्षेत्रफलमा गहुँखेति गरेको बताए । उनले गहुँ खेतिका लागि उन्नत जातको ४० केजी बीउ इटहरी उपमहानगर कृषि शाखाबाट लगेका थिए ।
इटहरी–१९ का सरोज ढकालले पनि ४० केजी बीउ लगेका थिए । उनले भने–‘इटहरी उपमहानगरबाट राम्रो बीउ भनेर ल्याइयो तर, सोचेजसरी उम्रिएन ।’ उनले १० कठ्ठामा गहुँ खेति गरेका छन् ।